कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक विकेटसहित उत्कृष्ट बलिङ गरेपछि लुम्बिनी लायन्सले दोस्रो सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनलमा सुदूरपश्चिम रोयल्सलाई सस्तैमा समेटेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा सुदूरले लुम्बिनीलाई मात्र ८६ रनको लक्ष्य दियो ।
टस जितेर सुरुमा ब्याटिङ गरेको सुदूरले १९ ओभरमा सबै विकेट गुमाउँदा मात्र ८५ रन बनायो । टोलीको इनिङ्समा ठूलो साझेदारी हुनै पाएन ।
रोहितले ह्याट्रिक विकेट लिए । रोहितले ११औं ओभर लगातार तीन विकेट लिएका हुन् । उनले १०.४ ओभरमा सुदूरका कप्तान दीपेन्द्रसिंह ऐरीलाई १३ रन बनाउँदा आउट गराए । दीपक बोहरालाई १०.५ तथा १०.६ ओभरमा पुनीत मेहरालाई डक आउट गराएका हुन् । ह्याट्रिक विकेट पछि उनी ओनर बक्समा ‘फ्ल्याइगं किस’ दिन पुगेका थिए ।
रोहित प्रतियोगितामा ह्याट्रिक लिने दोस्रो खेलाडी बनेका छन् । यसअघि काठमाडौंका शाहव आलमले पोखराविरुद्ध ह्याट्रिक विकेट लिएका थिए । योसँगै रोहितले प्रतियोगितामा १० विकेट लिएका छन् ।
सुदूरको इनिङ्समा ओपनर इशान पाण्डेले सर्वाधिक ३३ रन बनाए । उनले ५१ बलमा १ चौकामात्रै प्रहार गरे । १६.३ ओभरसम्म क्रिजमा टिकेका इशानलाई शेर मल्लले श्रीलंकन अलराउन्डर मोभिन सुवासिंघाबाट क्याच आउट गराएका थिए ।
त्यसबाहेक कप्तान दीपेन्द्र सिंह ऐरीले २० बलमा १३ रन बनाए । हर्मित सिंह र स्कट कुगुलेइनले पनि १० रन मात्रै बनाएर पेभिलियन फर्किएका थिए । यसबाहेक कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
यसअघि दुई अर्धसतक बनाएका विनोद भण्डारी डक आउट भए । दोस्रो खेल खेलिरहेका भारतीय ब्याटर सेल्डन ज्याकसन पनि एक रन बनाएर आउट भएका थिए । ६ रन बनाएका आरिफ शेखलाई शेर मल्लले एलबिडब्लु धरापमा पारे । रोहितले एघारौं ओभरमा दीपक बोहरा र पुनीत मेहराको विकेट लिँदै ह्याट्रिक गरेपछि सुदूरपश्चिमको ब्याटिङ दबाबमा आएको थियो ।
लुम्बिनीको लागि रोहित, शेर मल्ल र रुवेन ट्रम्पलम्यानले समान ३ विकेट लिए । रोहितले ४ ओभरमा १२ रन खर्र्चिए । त्यस्तै शेर मल्लले पनि ३ विकेट लिए । शेरले चार ओभरमा १८ रन खर्चिएका हुन् । उनी सन्दीप लामिछानेसँगै सर्वाधिक समान १७ विकेट लिने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन् । रुवेन ट्रम्पलम्यानले २.१ ओभमार मात्र ३ रन खर्चिएर तीन विकेट लिएका थिए । अभिशेस गौतम र मोभिन भने विकेट विहिन भए ।
सुदूरपश्चिमले पहिलो क्वालिफायर्समा विराटनगर किंग्सलाई ७७ रनले हराउँदै फाइनलमा प्रवेश गरेको थियो । लुम्बिनीले पनि दोस्रो क्वालिफायर्समा विराटनगरलाई नै ४० रनले हराएको हो । यसअघि सुदूरपश्चिम सर्वाधिक १२ अंक जोड्दै प्लेअफमा पुगेको थियो भने ८ अंकको लुम्बिनी चौथो टोलीको रुपमा अन्तिम चारमा प्रवेश गरेको हो ।
लुम्बिनी र सुदूरपश्चिम दुबै पहिलो पटक उपाधि उचाल्ने योजनामा छन् । सुदूरपश्चिम लगातार तथा लुम्बिनी पहिलो पटक फाइनलमा प्रवेश गरेका हुन् । मंसिर १ बाट सुरु भएको प्रतियोगिताको आज समापन हुँदैछ ।