एमालेकाे ११औँ महाधिवेशन : साढे २२ सय प्रतिनिधि, हजारभन्दा बढी केन्द्रीय कमिटीका आकांक्षी

शनिबार, २८ मंसिर, २०८२
डिजिटल संस्करण

एमालेकाे ११औँ महाधिवेशनमा सुनिश्चित साढे २२ सय प्रतिनिधिमध्ये करिब आधा केन्द्रीय कमिटीका लागि आकांक्षी देखिएका छन् । आकांक्षीले अध्यक्षका दाबेदार मानिएका केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित नेता भेटेर प्यानलमा पर्न तीव्र लबिङ थालेका छन् । एमालेका एक पदाधिकारीका अनुसार दुई हजार २६२ मध्ये कम्तीमा हजारभन्दा बढी प्रतिनिधि केन्द्रतर्फ आकांक्षी रहेका छन् । 

विशेषगरी पदाधिकारी र केन्द्रीय कमिटीमा प्रवेश गर्न इच्छुक आकांक्षीले भेटघाट बढाएका छन् । कतिपय आकांक्षीले सामाजिक सञ्जालमार्फत अभियान चलाइरहेका छन् भने थुप्रैले च्यासलस्थित पार्टी कार्यालयमै उपस्थित भएर समर्थन जुटाइरहेका छन् ।

कतिपय आकांक्षीले अध्यक्ष ओलीलाई गुन्डुस्थित निवासमै पुगेर भेटघाट गरिरहेका छन् । राति अबेरसम्म ओलीले पालैपालो जिल्लाका प्रतिनिधिलाई थोरै समय दिएर भए पनि भेटिरहेका मात्रै छैनन्, सहयोग गर्न आग्रह पनि गरिरहेका छन् । भेट्न आउने आकांक्षीलाई उनले सकेसम्म सूचीमा पार्ने नत्र पार्टीले मूल्यांकन गर्ने भन्दै थामथुम पारिरहेका छन् । 

त्यस्तै, आकांक्षीले पोखरेललाई मदन भण्डारी फाउन्डेसनको नयाँ बानेश्वरस्थित सम्पर्क कार्यालय र पार्टी कार्यालयमा भेटिरहेका छन् । पोखरेलले शुक्रबार पार्टी कार्यालयमा पुगेर प्रतिनिधिहरूसँग फोटो खिचाएका थिए । अध्यक्ष ओली पनि नियमितजस्तै कार्यालय गइरहेका छन् । 

ओली र पोखरेलका अलवा विशेषगरी उपाध्यक्ष सुरेन्द्र पाण्डे, विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई प्रतिनिधि र कार्यकर्ताले भेटेर बढी नै लबिङ गरिरहेका छन् । ओली र पोखरेल दुवैतर्फबाट प्यानलमै पर्ने निश्चित नदेखिएकाले एकातिर नपरे पनि अर्कोतिर जाने कोसिस गरिरहेका छन् । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले महाधिवेशनले नयाँ नेतृत्व चुन्ने भएकाले आकांक्षीले नेता भेटेर आफ्नो आकांक्षा प्रकट गर्नु स्वाभाविक भएको बताए । 

सुझावित समाचार