नेपाली सिनेमामा ‘भिएफएक्स’

शनिबार, २८ मंसिर, २०८२
डिजिटल संस्करण
  • भिएफएक्सकै भरमा बलिउड–हलिउडसँग प्रतिस्पर्धा गर्ने कि आफ्नै मौलिक कथा विश्वसामु पस्कने ? भिएफएक्स प्रयोग गर्नुभन्दा ठुलो कुरा हो– हामीले कस्तो कथा भन्न खोजिरहेका छौँ ?

हलिउड र बलिउडका फिल्ममा मानिस उड्छन्, घरहरू भत्किन्छन्, नयाँ–नयाँ संसारमा पात्र पुग्छन् । खतरनाक र रोचक दृश्य फिल्ममा देखिन्छन् । यस्ता दृश्य निर्माण गर्ने मुख्य साधन हो, भिजुअल इफेक्ट्स अर्थात् भिएफएक्स । यसको माध्यमबाट सर्जकले कथालाई अझ प्रभावकारी बनाउँदै दर्शकसामु ल्याउँछन् । वास्तविक रूपमा छायांकन गर्न कठिन वा असम्भव हुने दृश्य भिएफएक्समार्फत निर्माण गरिन्छ । भिएफएक्सले काल्पनिक संसार सिर्जना गर्न सर्जकलाई सघाउँछ । यो प्रविधिको प्रयोग अहिले नेपाली सिनेमामा पनि बिस्तारै बलियो हुँदै गएको छ ।

भिएफएक्सले निर्माण गरेका दृश्य नेपाली चलचित्रको पर्दामा पनि देखिन थालेका छन् । केही समयअघि रिलिज भएको चलचित्र ‘जेरी अन टप’मा १५ मिनेटको दृश्य भिएफएक्सबाट निर्माण गरिएको थियो । चलचित्रमा मुख्य पात्र अनमोल केसीले सगरमाथा आरोहण गरेको दृश्य देखाएको छ । चलचित्रका निर्माता सरोज न्यौपाने भिएफएक्स आर्टिस्टले करिब तीन महिना लगाएर चलचित्रको दृश्य निर्माण गरेको बताउँछन् । उनी भन्छन्, ‘पात्र साँच्चै सगरमाथा चढ्न असम्भव थियो । त्यसैले सगरमाथा चढेको दृश्य भिएफएक्स गर्नुपरेको थियो ।’

नेपाली फिल्मको स्तर यहाँसम्म पुग्यो भन्ने परिचय दिने गरी कुनै कन्जुस्याइँ नगरी भिएफएक्समा लगानी र समय खर्चिएको उनी बताउँछन् । करिब ६० लाख रुपैयाँ भिएफएक्समा मात्रै खर्च भएको निर्माता न्यौपानेको दाबी छ । 

नेपाली चलचित्रमा भिएफएक्स प्रयोग पछिल्ला वर्षमा बढिरहेको छ । रिलिज हुन लागेको साइन्स–फिक्सन चलचित्र ‘एक्लो’मा भिएफएक्स प्रयोग गरिएको छ । निर्माता क्षितिज सुवेदी ‘एक्लो’मा ५० प्रतिशतभन्दा बढी दृश्यमा ‘भिएफएक्स’ प्रयोग गरिएको बताउँछन् । ‘अहिले बेलायतमा चलचित्रको भिएफएक्सको काम भइरहेको छ । हलिउड फिल्ममा काम गर्ने भिएफएक्स आर्टिस्टहरूले काम गरिरहेका छन्’, उनी भन्छन्, ‘नेपाली सिनेमा फरक स्वाद दिन फिल्म निर्माण गर्न खोजेको हो । हामीले पैसाभन्दा पनि काम गर्न खोजका हौँ । ‘एक्लो’ले दर्शकलाई नयाँ स्वाद दिन्छ । हामीले गरेको भिएफएक्स भयंकर छ भन्न सक्दैनौँ । तर, सीमित स्रोतसाधनमा खुम्चिएर पनि कोसिस गरेका छौँ, हेर्दा दर्शकलाई अप्राकृतिक लाग्दैन । दर्शकलाई विश्वास दिने हिसाबले काम गरेका छौँ ।’ ‘एक्लो’ करिब ६ करोड लगानीमा बनेको निर्माता सुवेदीको दाबी छ । 

नेपालमा चलचित्रको भिएफएक्स अप्राकृतिक देखियो भन्ने आलोचन पनि सुनिन्छ । भिएफएक्स प्रयोग गरिएका कतिपय फिल्म असफल पनि भएका छन् । यसको उदाहरण केही वर्षअघि रिलिज भएको अनमोल केसी अभिनित फिल्म ‘क्याप्टेन’लाई लिन सकिन्छ । ‘क्याप्टेन’मा फुटबल मैदान, भिड, फुटबल खेलका दृश्यमा भिएफएक्स प्रयोग गरिएको थियो । ‘क्याप्टेन’मा कमजोर भिएफएक्सले चलचित्रको दृश्यलाई कृत्रिम र अप्राकृतिक बनाएको आलोचना भएको थियो ।

नेपालमा अधिकांश फिल्ममा भिएफएक्स प्रयोग हुने गरेका छन् । ‘झोला’ ‘कठपुतली’, ‘नालापानी’, ‘रावायण’ ‘जार’, ‘ब्ल्याक’लगायत धेरै फिल्ममा भिएफएक्स प्रयोग भएका छन् । नेपाली चलचित्रमा भिएफएक्स प्रयोग बढ्दै जाँदा परिणाम भने प्रभावकारी देखिँदैन । भिएफएक्स आर्टिस्ट अनिल न्यौपानेका अनुसार नेपाली सिनेमामा भिएफएक्स प्रयोग कमजोर छ । ‘प्रविधिको प्रयोगले फिल्म बलियो बन्नुपर्ने उल्टै कमजोर बनेका उदाहरण धेरै छन् । क्याप्टेन फिल्मपछि भिएफएक्स आर्टिस्ट नेपालमा छैन भन्ने बुझाइ बन्यो, यो सत्य होइन ।’

‘भिएफएक्स’ प्रविधिको उपहार 
भिएफएक्स, प्रयोग भएको ‘अवतार’जस्ता फिल्मले विश्वस्तरीय लोकप्रियता पाइसकेको छ । चलचित्रकर्मी सरोज सापकोटा भिएफएक्सलाई फिल्म निर्माणका लागि अपरिहार्य प्रविधि मान्छन् । उनी भन्छन्, ‘यसमा महत्वपूर्ण कुरा निर्देशकको भिजन हो, निर्देशकको स्पष्ट दृष्टिकोण भयो भने भिएफएक्स प्रभावकारी बन्न सक्छ ।’ 

सापकोटाका अनुसार हिमालजस्ता दृश्य अहिले स्टुडियोभित्रै तयार गर्न सकिन्छ, जसले फिल्म निर्माणलाई धेरै सहज बनाएको छ । करिब १५ वर्षअघि रिलिज भएको ‘आर–वन’ले विश्वस्तरीय चर्चा कमायो । ‘बाहुबली’ले विश्वस्तरको भिएफएक्स प्रयोग गरेर तहल्का मच्चाएको उनको विश्लेषण छ । ‘बलिउडसँग बजेट, प्रविधि, जनशक्ति छ, तीनवटै तत्व हुँदा नै राम्रो भिएफएक्स सम्भव हुन्छ,’ उनी भन्छन् ।

पछिल्ला वर्षमा नेपाली फिल्मको बजेट बढ्दै गएसँगै फिल्ममेकरको प्रविधिबारे चेतना पनि बढेको र प्रयोग विस्तार भएको उनी बताउँछन् । नेपालमा देखिने रूपमा भिएफएक्सको सुरु निजी टेलिभिजनको स्थापनापछि भएको उनको बुझाइ छ । ‘करिब दुई दशकअघि टेलिभिजनमा लोगो निर्माणमा भिएफएक्स प्रयोग हुन्थ्यो, तर निकै महँगो भएकाले त्यहीँ सीमित थियो । कम्प्युटर सस्तो र सहज बन्दै गएपछि बिस्तारै यसको उपयोग बढ्दै गएको हो,’ उनी भन्छन् । यादव भट्टराई निर्देशित ‘झोला’मा भिएफएक्स राम्रो प्रयोग भएको उदाहरण सापकोटा दिन्छन् ।

जोखिमको सिर्जना
हलिउड र बलिउडमा भिएफएक्स प्रयोगले चर्चा र व्यावसायिक सफलता पाइरहँदा नेपालमा भने खासै चर्चा भएको देखिन्न । किन त ? ‘अन्तर्राष्ट्रिय फिल्महरूमा ‘लियर अफ सुपरभिजन’ हुन्छ । भिएफएक्सको क्रियटिभ टिम हुन्छ । हाम्रोमा तहगत सुपरभिजन गर्ने जनशक्तिको अभाव छ । भिएफएक्स उच्चस्तरीय सिर्जनात्मक काम हो,’ चलचित्र समीक्षक डा. सचिन घिमिरे भन्छन्, ‘निर्देशक आफँैलाई त्यसको ज्ञान कम हुनु, सुपरभिजन नहुनु, लगानी नहुनु र थोरै समय दिने भएर प्रभावकारी काम निकाल्न नसकेको हो ।’

सिनेमा अध्येता तथा निर्देशक अरुणदेव जोशी भिएफएक्स प्रयोग गरेर सिनेमा बनाउनु जोखिमपूर्ण काम भएको बताउँछन् । ‘यस्ता चलचित्र बनाउन सजिलो छैन । ठुलो जोखिम छ । मिहिनेत गर्नुपर्छ,’ उनी भन्छन्, ‘निर्माणका लागि पर्याप्त लगानी चाहिन्छ ।’ चलचित्रकर्मी सापकोटा भन्छन्, ‘निर्देशकको भिजन स्पष्ट भयो भने भिएफएक्स टिमबाट राम्रो काम लिन सकिन्छ । ऐतिहासिक फिल्महरू राणाकाल, लिच्छविकाल, अझै राम्रोसँग बनाउन सकिन्थ्यो, तर बजेटकै कारण कथा बन्न सकेका छैनन् ।’ 

समय र योजनाको अभाव
भिएफएक्स आर्टिस्ट न्यौपानेको भनाइमा कथाकार र पटकथाकारले चलचित्र लेख्दा भिएफएक्स प्रयोगबारे विचार गर्दैनन् । जसले गर्दा भिजुअल इफेक्ट्सको प्रयोग कथासँग नमिल्न सक्छ । न्यौपानेका अनुसार पटकथा लेख्ने वेलामै भिएफएक्स कहाँ र किन चाहिन्छ भन्ने प्रस्ट हुनुपर्छ । ‘अहिले धेरै पटकथाकारले त्यो सोच्दै लेख्दैनन् । भिएफएक्स सस्तो प्रविधि होइन । एक दृश्य तयार गर्न दर्जनौँ कलाकार आवश्यक पर्छ । त्यसका लागि खर्चिलो पनि छ ।’

उनका अनुसार समस्या भिएफएक्स कलाकारको अभाव होइन, निर्माण पक्षको बजेट र योजनाको अभाव हो । ‘जहाँ बजेट पुग्नुपर्ने हो, त्यहाँ पुग्दैन । पोस्ट प्रोडक्सनमा पुग्दा निर्माताको बजेट सकिन्छ, त्यसपछि गुणस्तरमा सम्झौता गर्नुपर्छ,’ न्यौपाने थप्छन्, ‘चलचित्र छायांकनदेखि सम्पादन टिम र भिएफएक्स टिम निरन्तर सेटमै बसेर काम गर्नुपर्ने भएकाले यो प्राविधिक रूपमा चुनौतीपूर्ण मानिन्छ । नेपालमा दक्ष आर्टिस्टको अभाव छैन । समस्या भनेको निर्माण पक्षको बजेट र योजना हो ।’ 

समीक्षक समाजका अध्यक्ष सामिप्यराज तिमिल्सिनाका अनुसार नेपालमा भिएफएक्स आर्टिस्ट सक्षम छन्, तर उनीहरूको क्षमता उपयोग गर्न आवश्यक स्रोत र समयको ठुलो कमी छ । भिएफएक्स तयार गर्न समय लाग्ने भएकाले बजेट नै मुख्य चुनौती देख्छन् उनी । ‘सीमित स्रोतमा बसेर स्तरीय भिएफएक्स तयार गर्नु कठिन छ । ‘हलिउडका फिल्मका लागि काम गर्न सक्ने नेपाली आर्टिस्ट यहाँ छन्,’ तिमिल्सिना भन्छन् ।

पर्याप्त समय नहुँदा अधिकांश भिएफएक्स प्रयोग भएका सिनेमा कमजोर भएको उनको विश्लेषण छ । तिमिल्सिना भन्छन्, ‘समस्या भनेकै समयको अभाव हो । धेरै निर्माता–निर्देशकले रिलिज मिति पहिले नै निर्धारण गरिदिन्छन् । सुटिङ ढिलो सुरु गर्छन् र भिएफएक्स आर्टिस्टलाई पर्याप्त समय नदिई हतारमा काम गराउँछन् । आर्टिस्टले गर्न नजानेर होइन, समय नपाएकाले केही फिल्ममा फिनिसिङ राम्रो नआएको हो ।’

मौलिकताको प्रश्न 
चलचित्र अध्येता तथा निर्देशक जोशीका अनुसार पटकथाकार, निर्देशक, निर्माता, भिएफएक्स आर्टिस्टबिच बुझाइ र लगानीको तालमेल मिल्यो भने स्तरीय चलचित्र बन्न सक्छ । नेपाली सिनेमाले भिएफएक्ससहितको प्रविधि र मौलिक कथावाचनबिच उचित सन्तुलन खोज्नुपर्ने आवश्यकता औँल्याउँछन् उनी । भन्छन्, ‘हामी भिएफएक्सको भरमा बलिउड–हलिउडसँग प्रतिस्पर्धा गर्ने कि आफ्नै मौलिक कथा विश्वसामु पस्कने ? भिएफएक्स प्रयोग गर्नुभन्दा ठुलो कुरा हो, हामीले कस्तो कथा भन्न खोजिरहेका छौँ ? भिएफएक्समा ठूलो लगानी गरेर अन्तर्राष्ट्रिय फिल्मसँग प्रतिस्पर्धा गर्ने कि मौलिक कथा र भिन्न प्रस्तुतीकरणमार्फत अन्तर्राष्ट्रियस्तरमा हाम्रा सिनेमा पुर्‍याउने ? अहिलेको मुख्य प्रश्न यही हो ।’

निर्माता आमोद राई चलचित्रको कथामा आवश्यक भई प्रयोग भएमा भिएफएक्सले कथा अझ प्रभावकारी बनाउने बताउँछन् । ‘नेपाली चलचित्रलाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउन प्रविधि मात्र होइन, कथा पनि बलियो हुनुपर्छ, उनी भन्छन्, ‘कथा कमजोर भए प्रविधिले बचाउन सक्दैन । कथा बलियो हुनुपर्छ र प्राविधिक रूपमा पनि उत्तिकै बलियो हुनुपर्छ । भिएफएक्स प्रयोग गरेर मात्रै हुँदैन । यसमा सिर्जनात्मक पक्ष महत्वपूर्ण हुन्छ ।’

‘जेरी अन–टप’ अन्तर्राष्ट्रिय दर्शकका लागि पनि बनेको निर्माता न्यौपानेको तर्क छ । ‘फिल्मका दृश्य दर्शकलाई अप्राकृतिक लागेनन् र सहजै ग्रहण पनि गरे । सगरमाथा चढेजस्तो अनुभूति दिलाउने भिएफएक्स नेपालमै बनेको हो । दर्शकलाई थाहा नै भएन । यही भिएफएक्सको सफलता हो । नेपालमा स्तरीय फिल्म स्टुडियो नहुँदा धेरै काम नेचुरल सेटिङमै खिच्नुपर्ने बाध्यता छ,’ उनी भन्छन् । 

भिएफएक्स मात्रै समाधान होइन 
युवा चलचित्रकर्मी सौरभ घिमिरेका अनुसार विश्वका कतिपय फिल्ममेकर भिएफएक्सलाई ‘कपी’को रूपमा हेर्छन् । उनीहरू यसले वास्तविकताको गहिराइसम्म नपुर्‍याउने बताउँछन् । ‘जति पैसा खर्च गरे पनि भिएफएक्सले वास्तविक सेट र वास्तविक अभिनयको अनुभूति ल्याउन सक्दैन,’ निर्देशक क्रिस्टोफर नोलनलाई उदाहरण दिँदै घिमिरे भन्छन्, ‘नोलनले डंकर्क (२०१६) बनाए । यसमा युद्धका भयावह दृश्य देखाइएका छन्, जहाँ भिएफएक्स प्रयोग भएको छैन, वास्तविक सेटमै छायांकन गरेका हुन् । विमान भुइँमा खस्ने दृश्य पनि उनले वास्तविक विमान खसालेर खिचेका हुन् । विश्वमा धेरै फिल्ममेकरले नोलनको डंकर्कको शैली नक्कल गर्न खोज्छन् ।’

घिमिरे थप्छन्, ‘सबै कुरा भिएफएक्समै भर पर्नु हुँदैन । नेपालमा भिएफएक्स प्रयोग बढेको छ । तर, कथावाचनको संरचना अझै बलियो नबनेका कारण यसको प्रभाव सफल देखिँदैन । महँगो मूल्यमा भिएफएक्स प्रयोग गरियो भन्दैमा अन्तर्राष्ट्रियस्तरको फिल्म बन्दैन ।’ घिमिरेका अनुसार विश्वस्तरको फिल्म भिएफएक्स प्रयोग नगरी पनि बन्न सक्छ । भन्छन्, ‘डिजिटल प्रविधिले संसारभरको फिल्म निर्माणको शैली नै बदलिदिएको छ । महँगो सेट, ठुलो स्टुडियोविना पनि सशक्त फिल्म बन्न सक्छ । भारत, दक्षिण कोरिया, इरानलगायत देशका चलचित्रकर्मीले सामान्य खर्चमा राम्रा चलचित्र निर्माण गरिरहेका छन् ।’ 

घिमिरेका अनुसार अहिले विश्व फिल्ममा नयाँ–नयाँ जनरा र शैलीको विकास भइरहेको छ । ‘युवाहरूले फिल्मको परम्परागत संरचनामा विश्वास गर्न छाडेका छन् । पटकथालाई मात्रै प्राथमिकतामा नराखी पनि फिल्म बनाउन सकिन्छ भन्ने सोचको विकास हुँदै गएको छ,’ उनी भन्छन्, ‘नेपालमा फिल्म बन्नलाई चलेका स्टार र तीन–चारवटा गीत हुनुपर्छ भन्ने सोच छ । तर, विश्वमा फिल्म बनाउनलाई करोडौँको बजेट चाहिन्छ भन्ने मान्यताबाट पनि बाहिर निस्किँदै छन् ।’

विश्वमा साउन्ड र इमेजलाई मात्रै प्रयोग गरी कलात्मक फिल्म बनिरहेका छन् । त्यसरी बनेका फिल्म कान्स, बर्लिन, भेनिस, लोकार्नीजस्ता फेस्टिभलमा देखाइन्छ । ‘आफूसँग उपलब्ध स्रोतसाधनलाई प्रयोग गरेर सिनेमा बनाउन सकिन्छ,’ उनी भन्छन्, ‘मैले ८–१० वर्षअघि हिमालतिर घुम्न जाँदा ह्यान्डिक्याम, डिएसएलआर क्यामेरा र मोबाइलको क्यामेराले खिचेको भिडियोबाट फिल्म ‘संग्स अफ लभ एन्ड हेट’ बनाएँ । यसले बर्लिन फिल्म फेस्टिभलमा अवार्ड पनि जित्यो । पुराना फोटो र भिडियोलाई दृश्यमा ढालेर कथा बुनेँ । त्यसैले ठुलो सेट र खर्चिलो भिएफएक्स मात्रै प्रयोग गरेर उत्कृष्ट फिल्म बन्छ भन्ने होइन ।’

‘रियल लोकेसन’ नै प्रभावकारी 
स्क्रिप्ट राइटर तथा चलचित्रकर्मी राजेश विश्वकर्माका अनुसार फिल्ममा भिएफएक्स प्रयोग आवश्यक छ, तर यसको प्रयोग विवेकपूर्ण रूपमा हुनुपर्छ । फिल्ममा ‘रियल लोकेसन’ नै प्रभावकारी हुने उनको अनुभव छ । उनी भन्छन्, ‘भिएफएक्स सिनेमाका लागि महत्वपूर्ण प्रविधि हो । तर, आवश्यक परे मात्र प्रभावकारी हुन्छ । नेपाली फिल्मका धेरै कथा वास्तविक स्थानमै खिच्दा राम्रो हुन्छ ।’

उनका अनुसार भिएफएक्स प्रयोग गर्नुअघि निर्देशकसँग पर्याप्त ज्ञान, दक्ष जनशक्ति आवश्यक पर्छ । ‘भिएफएक्स आफैँमा क्रियटिभ आर्ट पनि हो । तर, प्रयोग गर्ने जनशक्ति राम्रो नभए परिणाम कमजोर आउँछ,’  उनी भन्छन् । पुराना कथाका लागि भिएफएक्स अपरिहार्य रहने उनको बुझाइ छ । ‘फिल्मको विषय कस्तो छ भन्ने कुराले महत्व राख्छ । एक सय वर्षअघिको कथा भन्दै छौँ भने भिएफएक्स चाहिन्छ,’ उनी भन्छन्, ‘गाउँको स्वरूपमै परिवर्तन भइसकेको हुन्छ । त्यसलाई कसरी हटाउने त ? त्यसवेलाको गाउँ निर्माण गर्न सम्भव हुँदैन । त्यस्तो अवस्थामा भिएफएक्स प्रयोग गर्न सकिन्छ ।’

उनका अनुसार नेपाली फिल्ममा आंशिक रूपमा भिएफएक्सको काम भइरहेको छ, तर विदेशी बजारसँग प्रतिस्पर्धा गर्ने खालको गुणस्तर बनाउन अझै समय लाग्छ । विश्वकर्मा भन्छन्, ‘अहिले हामी गाउँले परिवेशका कथा भनिरहेका छौँ । यस्तो कथामा वास्तविक स्थानकै दृश्यले दर्शकलाई नजिक लैजान्छ । यस्ता कथाका लागि धेरै भिएफएक्सको खाँचो नपर्न सक्छ ।’ एक्सन वा साइ–फाइ विधाका फिल्म बनाउन मात्रै भिएफएक्स अपरिहार्य हुने उनी बताउँछन् । उनी भन्छन्, ‘प्रविधिविरोधी बन्नुहुँदैन । तर, अहिले रियल लोकेसनकै दृश्यले सिनेमा  प्रभावकारी बन्न सक्छ । हामीले भनिरहेका कथा भिएफएक्स प्रयोग हुने खालको छैन ।’

निर्देशक नवीन सुब्बा नेपाली फिल्मी बजार भिएफएक्स प्रयोगसहितको फिल्म धान्न योग्य भइनसकेको बताउँछन् । उनी भन्छन्, ‘नेपालमा अत्याधुनिक भिएफएक्स प्रयोगमा ल्याउन न जनशक्ति छ, न आवश्यक प्रविधि र उपकरण नै । बजारको क्षमता पनि त्यस्तो स्तरको लगानी उठाउन पर्याप्त छैन ।’

हामी आधारभूत भिएफएक्समै सीमित छौँ : नवीन सुब्बा, फिल्म निर्देशक 
नेपाली फिल्म उद्योग अझै प्रविधि र जनशक्तिको हिसाबले हलिउड–बलिउडको स्तरसम्म पुगेको छैन । नेपालमा केही हदसम्म भिएफएक्स र एनिमेसनको काम भइरहे पनि पूर्णरुपमा विकसित काम भने होइन । विदेशमा अत्याधुनिक टेक्नोलोजी प्रयोग गरेर भिएफएक्स निर्माण गरिन्छ । नेपालमा अहिले पनि मुख्यतया ग्रिनस्क्रिनकै भरमा काम चलाइन्छ । हलिउडको ‘अवतार’जस्ता फिल्ममा प्रयोग हुने स्तरको प्रविधि नेपालमा ल्याउने अवस्था छैन । अहिले हामी जे गर्दै छौँ, त्यो केवल आधारभूत भिएफएक्स हो । नेपाली फिल्मको ठुलो समस्या बजेट र बजारको क्षमतासँग जोडिएको छ । एउटा फिल्ममा तीन–चार करोड लगानी गर्दा त्यसको रिटर्न सुरक्षित नहुने स्थिति छ । लगानी सुरक्षित गर्न कम्तीमा १० करोडको कारोबार हुनैपर्छ । क्यामेरा, वास्तविक लोकेसनमा काम गर्दा नै यस्तो अवस्था छ भने भिएफएक्स वा अत्याधुनिक साउन्कड स्टुडियो प्रयोग गर्नु त झनै चुनौतीपूर्ण छ । नेपालमा अत्याधुनिक भिएफएक्स ल्याउन न जनशक्ति छ, न त आवश्यक प्रविधि र उपकरण । बजारको क्षमता पनि त्यस्तो स्तरको लगानी उठाउन पर्याप्त छैन । यदि नेपाली फिल्म ५०/७० करोडसम्म कमाउन सक्ने अवस्थामा पुग्यो भने मात्र १०–१५ मिनेटजति उच्चस्तरको भिएफएक्स प्रयोग गर्न सकिन्छ । 

See More On

सुझावित समाचार