पुग्नुपर्ने थियो काठमाडौं, गाडी अघि नबढेपछि निवेदन दिन प्रहरी चौकीतिर लागेँ
कात्तिक, १८ । बिहान करिब १० बजे नारायणगढ, चितवनबाट काठमाडौं फर्किनका लागि बस समातेँ । अलि हतार नहुँदा म साना माइक्रोभन्दा बस नै चढ्न रुचाउँछु । माइक्रोमा सिट पनि साँघुरा हुने, गाडी पनि अचाक्ली बत्तिने भएकाले यो यातायात मेरो दोस्रो रोजाइमा पर्छ । अँ, सोही साँझ अफिस पुग्नुपर्ने थियो । तर, दिनभरिको समय भएकाले पनि मैले सिद्धार्थ यातायात प्रालिअन्तर्गत सञ्चालित श्रेया होलिडेको लु २ ख ६०३५ नम्बरको बसमार्फत यात्रा गर्ने निश्चय गरेँ, जुन बस भैरहवातिरबाट आएको थियो ।
त्यसो त नेपालका सबैजसो सार्वजनिक यातायात समयमा चल्दैनन् । उता जापानमा ३३ सेकेन्ड ट्रेन ढिला हुँदा सार्वजनिक रूपमै माफी मागिएको समाचार पढेकै हो । खैर, यो नेपाल हो, जापानको जस्तो सिस्टम यहाँ खोजेर हुने कुनै भएन । बस नेपाली पारामा निकै ढिला गरी हिँड्यो । आँपटारी आउँदा नआउँदै सुचीले च्याप्यो । कन्डक्टरलाई सुचीकर्मका लागि बस कहाँ रोक्छ ? भनेर सोध्दा उसले एक शब्दमा ‘अगाडि’ भन्यो । बसकै अर्का एक यात्रुलाई पनि गाह्रो भएछ क्यारे ! उनले अलि चर्कै आवाज गरेपछि अन्तत: बस आँपटारीमा रहेको सार्वजनिक शौचालयअगाडि रोकियो । त्यसपछि मात्रै बसले गति समात्यो ।
मुग्लिन आइपुग्न त्यस्तै पाँच—सात किलोमिटर थियो । बसमा अचानक प्राविधिक समस्या देखापर्यो । गाडीलाई सडकको छेउ लगाएर स्टाफले नै ठाकठुक पारे । केहीछिनमै बस बन्यो पनि । त्यसपछि गाडीले पुन: गति पक्रियो । लगभग खाली–खालीजस्तो सडकमा बस बिस्तारै गुडेको चाल पाएपछि मैले लख काटेँ– पक्कै, समस्या पूर्ण रूपमा समाधान भइसकेको छैन, मुग्लिन पुगेर ग्यारेजमा हाल्ने होला । नभन्दै भयो पनि त्यस्तै ।
बस दायाँतर्फ रहेको एउटा ग्यारेजमा गएर अडियो । अनि सुरु भयो, मर्मतसम्भारको काम । मेसिनरी चिज बिग्रिन्छ, यो अति सामान्य कुुरा हो । कुनै चिज तत्काल बन्छ त कुनैले समय लिन्छ, यो फेरि अर्कै कुरा हो । तर, उक्त बस कतिन्जेलसम्म बनिसक्छ, त्यो स्वयं मिस्त्रीलाई पनि थाहा थिएन । केही समय लाग्ने भएपछि बसबाट क्रमश: यात्रुहरू झर्न थाले । मेरै आडमा बसेकी एक महिलाले गुनासो गरिन्, ‘आजकलका बस बाहिरबाट हेर्दा मात्रै नयाँ देखिने बनाउँछन् । भित्रभित्रै इन्जिन थोत्रा भइसक्छन् । पुराना गाडी डेन्टिङ पेन्टिङ गरेर नयाँ बनाउँछन्, त्यसैमा हामीजस्ता झुक्किन्छौँ ।’
उनको कुरा अस्वाभाविक थिएन । मैले सरकारलाई सम्झिएँ, जसले २० वर्षभन्दा पुराना गाडी सडकमा कुद्न नदिने अर्थात् नवीकरण गर्न नदिने प्रावधान ल्याएको थियो । पहलकदमी पनि सुरु भएको हो । तर, त्यो प्रावधान कति कार्यान्वयन भयो, त्यसको जानकारी सरकारलाई नै छैन, नागरिकलाई हुने त झन् कुरै भएन ।
यात्रुहरू छनोटका आधारमा छेउछाउका पसलमा पसे । आ–आफ्नो रुचिअनुसार खाजा तथा विभिन्न पेयपदार्थ खान थाले । तिनैमध्ये दुईजना २२–२३ वर्ष उमेरका लाग्ने दुई युवतीले मदिरा पान गर्न थाले । यो मेरा आँखैअगाडिको दृश्य थियो । चालकले मदिरा तथा लागुऔषध सेवन गरी सवारीसाधन चलाउन पाइँदैन । त्यसको निगरानी गर्न ट्राफिकले मापसे–लापसे चेक गर्छ र सोहीअनुसार कारबाही पनि गर्छ । तर, यात्रुलाई कसले गर्ने ? कसले सम्झाउने ? एक मन त ‘सार्वजनिक यातायातमा मदिरा पान गर्नुहुँदैन, यसले अरूलाई पनि असर गर्छ’ भन्न मन थियो । तर, किन बोल्नु भन्ने ठानेर चुप लाग्नु नै बेस ठानेँ । पछि यसको भुक्तानी मैले राम्रै गर्नुपर्यो ।
दाइ कतिवेला गाडी बन्छ ? भन्दा गाडीका स्टाफले जतिवेला सोध्दा पनि आलोपालो दिने उत्तर थियो– ‘अब १५ मिनेटमा बन्छ, अब सक्कियो, हिँडिहाल्छ ।’ यसो भन्दाभन्दै साढे तीन घण्टा मुग्लिनमै बित्यो । तर, गाडीले बन्ने छेकछन्द फिटिक्कै देखिएन । ऐनमौकामा ती दुई युवतीले मदिरामाथि मदिरा थपिरहेका मात्रै थिएनन्, उनीहरूलाई साथ दिन अर्को ठिटो पनि थपिएको थियो । संवादमा उनीहरूको जिब्रो सडकको छेउछेउ हिँडिरहेको थियो । घरी खितित्त हाँस्थे, घरी द्विअर्थी शब्द प्रयोग गर्थे । यसरी चितवनको गर्मीमा समय उच्चाटलाग्दो बन्दै थियो ।
जब मलाई गाडी अझै केही समय बन्दैन भन्ने लाग्यो, अर्को गाडीमार्फत जाने विचार गरेँ । यतिवेलासम्म पनि कुनै यात्रुमा छटपटी देखिएको थिएन । चुपचाप वल्लापल्ला दोकानमा बसिरहेकै थिए, इच्छानुसारका खानेकुरा खाइरहेका थिए र बाँकी समय मोबाइलमा घोप्टिइरहेकै थिए । छ न म पनि उनीहरूकै छेउछाउमा उसैगरी बसिरहेको थिएँ । तर, समय घर्किंदै जाँदा मभित्र धैर्य पनि घर्किंदो थियो । आफैँले दाबी गर्न मन लाग्यो– संसारमा सबैभन्दा फुर्सदिला कोही छन् भने ती नेपाली नै हौँ, जसलाई डोजरले बाटोघाटो खनेको वा भत्काएको हेर्नसमेत फुर्सद हुन्छ । मेला नै लाग्छ । केही समयअघि ‘डोजर काण्ड’ नै भाइरल भएको थियो ।
यहाँनेर भन्नुपर्ने हुन्छ, मसँग दुईवटा झोला थिए । एउटा बसभित्र आफूसँगै थियो भने अर्को डिक्कीमा । मैले जाने निर्णय गरेसँगै बसका सहचालक भाइलाई डिक्कीको झोला निकालिदिन अनुरोध गरेँ । तर, भाडा उठाउनेचाहिँ अर्कै अधबैँसे थिए । सुरुमा त अत्यन्त विनम्रतापूर्वक आग्रह गरेँ । उसले सुन्दै सुनेन । त्यसपछि अलि चर्को स्वर गर्नुपर्ने बाध्यता आइलाग्यो । मेरो सरल माग थियो– मुग्लिनसम्मको भाडा काटेर बाँकी फिर्ता देऊ, म आफ्नै तरिकाले जान्छु । जवाफमा उक्त भाइले भाडा फिर्ता हुन्न भन्यो, झर्केर । उसको त्यो प्रस्ताव मान्न पनि म राजी भएँ । किनकि, मलाई अब त्यही कवाडी बस पर्खेर बस्नु थिएन । तर, के कुरामा ढुक्क थिएँ भने उसले अहिले भाडा फिर्ता नदिए पनि कुनै न कुनै माध्यमबाट ढिलोचाँडो भुक्तान गर्नैपर्छ । कारण, मलाई सार्वजनिक सवारीसाधनको नियमकानुनमा विश्वास थियो ।
बल्ल एकाध यात्रुको गला खुल्न थालेको थियो । नबुझिने भाकामा गनगन गर्न थाल्दै थिए । म भने बसभित्रको झोला उठाएर बाहिर निस्किएँ । गुरुजी, कन्डक्टर र मिस्त्री ठोकठाक र जोडजाडमै व्यस्त थिए । खासखुसमा थाहा भयो, गाडीको बेल्ट चँुडिएको (यस्तै केही) रहेछ ।
मेरो कैयौँपटकको अनुरोधपछि पनि सहचालक भाइ डिक्कीबाट झोला झिकिदिन तयार भएन । जबकि, उसकै इच्छाअनुसार म भाडा फिर्ता नलिन सहमत भइसकेको थिएँ । उसले कुनै वास्ता नगरेपछि आफू साँझसम्म अफिस पुग्नुपर्ने बाध्यता बताउँदै अब पनि झोला नझिकिदिए प्रहरीलाई खबर गर्ने बताएँ । यो मेरो बाध्यता मात्रै थिएन, एउटा सवारीसाधनले यात्रुमाथि गरेको ज्यादतीको केही हदसम्म भए पनि कानुनी उपचारमा जाने बाटो थियो ।
प्रहरीको नाम के लिएको थिएँ, सहचालक भाइ उद्दाम झर्कियो । उल्टै भन्यो, ‘किन प्रहरीलाई भन्छु भनिस् ? झोला दिन्नँ जा ।’
उसको कुराले मेरो पारो तात्यो रनक्क । नतातोस् पनि किन ? एक त चार–चार घण्टासम्म कुराएर राखेको छ । आफ्नै सुरले जान्छु, भाडा फिर्ता ले भन्दा दिन्नँ भन्छ । लु भाडा चाहिएन, डिक्कीको ब्याग झिकिदे त नि भन्छु, त्यो पनि मान्दैन । अनि, प्रहरीलाई फोन गर्दा उल्टै धम्क्याउँछ ।
फटाफट १०० नम्बर डायल गरेँ र प्रहरीलाई घटनाको बेलीविस्तार लगाएँ । प्रहरी (महिला) ले एउटा मोबाइल नम्बर टिपाउँदै त्यो नम्बरमा फोन गर्न भनिन् । जसै फोन राखेँ, गाडी बनाइराखेकै ठाउँको ठिक पारिपट्टि प्रहरीको गाडी देखेँ । म हुत्तिँदै त्यतैतिर गएँ ।
सडकछेउमा रोकिएको अवस्थामा थियो, भ्यान । दुईजना प्रहरी जवान भ्यानकै छायामा अडेस लागिरहेका थिए । नजिकै पुगेर मैले उनलाई विनम्रतापूर्वक गाडीसँग जोडिएको आफ्नो समस्या सुनाएँ । तीमध्येका एक जवानले इन्स्पेक्टरसाबसँग कुरा गर्नू भन्दै अलि पर देखाए । फेरि त्यतै लागेँ म ।
इन्स्पेक्टर पी. सिंह फोन संवादमा व्यस्त थिए । मलाई अलि ह्याँफ्याँ गरेको देखेपछि ‘केही काम थियो ?’ भनेर सोधे, फोन नराखीकनै । यतिवेला आक्रोशले मेरो चेहरा पक्कै रातो भएको हुँदो हो । बोली अलि हडबडाएको हुनुपर्छ । मेरा कुरा सुनेपछि उनले फोन समातेकै हातले पारिपट्टि गाडी भएतिर इसारा गरे । उताबाट सहयोगी भाइले ‘आइजा, ब्याग लैजा’ भन्दै थियो, हातैहातले । अनि, बसका यात्रुले मलाई यसरी हेरिरहेका थिए, मानौँ, म प्रहरीसमक्ष गएर बित्पात गल्ती गरेँ ।
जीवनभर जति यात्रा गरियो, सार्वजनिक यात्रामा गरिएको छ । तर, यसपालिका जस्ता निर्जीव, पाषाणी र फुर्सदिला यात्रु कहिल्यै देख्नुपरेन । पाँच मिनेट गाडी रोकिँदा पछाडिबाट सराप्न थाल्ने यात्रुको यो दीर्घ मौनता साँच्चै रहस्यमय थियो, जुन संयोग मात्रै पनि हुन सक्थ्यो ।
सडकपारिबाट गाडीको सहयोगी भाइले बोलाइरहेकै वेला फोन राखेर इन्स्पेक्टरले मेरो परिचय, पेसादि सोधखोज गरे । प्रश्नानुसार जवाफ दिएपछि उनले सोधे, ‘उसो भए कानुनी रूपमा जानुहुन्छ कि के गर्नुहुन्छ त ?’ मैले तत्काल कानुनी प्रक्रियामार्फत जाने बताएँ । त्यसपछि उसले मुग्लिन बजारको माथि डाँडोमा रहेको प्रहरी चौकीमा गएर निवेदन दर्ता गर्न अह्राए । साथै, उनले वाकीटकीमार्फत म त्यहाँ आउने जानकारी पनि गराइदिए ।
प्रहरी गुहारेपछि सहचालकले ब्याग लिन अघिदेखि नै बोलाइरहेकै थियो । सडकपारि गएर ब्याग लिएँ अनि निवेदन लेख्न चौकीतिर लागेँ । पहिले त चौकीमा गेटदेखि भित्रसम्मका प्रहरीलाई घटनाको बेलीविस्तार लगाउँदैमा समय गयो । बल्लतल्ल भित्र गएर निवेदन लेख्न के थाल्दै थिएँ, बसका चालक, सहचालकसहित एक हुल बसका यात्रु त्यही चौकी पुगे । भएछ के भने, मैले निवेदन दर्ता गर्ने भनेपछि प्रहरीले बसलाई जान दिएनछ । र, यतिखेरसम्म बिग्रेको बस पनि बनेछ ।
दुईजना मादक पदार्थ सेवन गरेका युवती असभ्य भाषामा कुर्लिरहेका थिए । उनीहरूलाई साथ दिने ती यात्रु थिए । म अचम्ममा परेँ, एउटा पीडित यात्रु, जो सार्वजनिक यातायातको बेथितिविरुद्ध बोल्न खोज्दै छ, उसैविरुद्ध कसरी अरू यात्रु उभिए ? कसले केमा चलखेल गर्यो ?
अलिअलि गर्दागर्दै ती यात्रु चौकीभित्रै चर्कोसँग कराउन थाले, मैले निवेदन लेखिरहेको कक्षभित्रै गएर । अति भएपछि प्रहरीले उनीहरूलाई बाहिर बरन्डामा निकाल्यो । उनीहरूले त बस बनिसकेको तर मैले गर्दा आफूहरू काठमाडौं जान ढिलाइ भइरहेको पो भन्दै छन् बा ! हाय, अचम्म ! कस्तो कल्पनातीत कुरा !
म पनि केको कम, जिद्दी छाड्दै छाडिनँ । यसै ढिलो, उसै ढिलो निवेदन लेखेर र कानुनी प्रक्रियामा गएर मात्रै आफू फर्किने बताएँ । यहीबिचमा उनीहरूले सहचालकलाई प्रयोग गरेर ममाथि समस्याको बन्दुक तेस्र्याए । प्रहरीलाई उनीहरूले भनेअनुसार मैले सहचालकलाई दुव्र्यवहार गरेँ रे ! अर्को अचम्म !
म फेरि पनि अविचलित नै रहेँ । हातका औँला कपाउँदै निवेदन लेखिरहेँ । उता उनीहरू पनि मविरुद्ध निवेदन दर्ता गराउने भन्दै उफ्रिन थाले । मैले ‘गराऊ’ भनेँ । देख्छु त बा, सहचालकले आफूलाई धकेलेको भन्दै कारबाही गर्न निवेदन लेख्न थाल्यो । फेरि भएन त अर्को अचम्म ?
यसबिचमा गाडीको चालकले ‘सर, मिलौँ, अनावश्यक दु:ख दुवैले नभोगौँ, गाडी बनिसक्यो’ भन्दै थियो । यात्रुमध्ये एकजना वृद्ध मानिस मात्रै थिए, जो नरम भाषामा भनिरहेका थिए, ‘बाबु, सबैजनाको तर्फबाट म माफी माग्छु । यो लडफामा नपरौँ, निवेदन फिर्ता लिनुस्, गाडी बनिसक्यो ।’
धेरैबेर रस्साकस्सी र आआफ्नै अडान चलिरह्यो । अन्तत: गाडीका ड्राइभरले एक छेउमा लगेर मसँग माफी माग्दै दुवैले निवेदन फिर्ता लिएर मिलौँ भने । झांगिएको यो समस्या डिक्कीबाट एकैवचनमा ब्याग झिकिदिएको भए उतिखेर टुसाउनै पाउँदैनथ्यो । तर, यात्रुलाई पनि गाडीकै ‘स्टेयरिङ’ ठान्ने ड्राइभर/खलासी प्रवृत्तिले चौकीसम्म धाउनुपरेको कुरा साँचो हो ।
ड्राइभरले सबैलाई चौकीबाहिर निस्कन भन्यो । उसकै आदेशानुसार सहचालकले पनि माफी माग्यो । र, हामीले आआफ्ना निवेदन फिर्ता लियौँ । घटना यहीँ टुंगिँदैन । तर, अन्तिमतिर भने आइपुग्यो ।
‘तपाईं मेरै गाडीमा जानुहुन्छ भने पनि जाऔँ । नत्र, अर्को गाडीमा चढ्नुहुन्छ भने पनि चढाइदिन्छु, भाडा फिर्ता चाहिए पनि दिन्छु,’ ड्राइभरले भन्यो । उसले चौकीमा प्रतिवादी भएर गएका यात्रुलाई पठाइसकेको थियो । ऊ र म चौकीबाट ठाडै ओरालो मुग्लिन बजार झर्यौँ ।
यसो सोचेँ, यही गाडीका कारण यति लफडा भइसक्यो, अब फेरि यसमै किन जानु ? त्यसपछि मैले अफिस पुग्न ढिला भइसकेको बताउँदै माइक्रोमा चढाइदिन आग्रह गरेँ । उनले पनि माने र वरिष्ठ सहचालकलाई अह्राए । सडक पारिपट्टि यात्रु रमिता हेर्दै थिए, वारि सहचालक र म थियौँ । त्यहीवेला बनिसकेको भनिएको गाडीमा ह्वारह्वारी आगो बल्न थाल्यो । वारिबाट त्यो दृश्य देखेकाहरू चिच्याउन थाले । त्यसपछि यात्रुको पनि भागभागकै अवस्था बन्यो । मलाई गाडी चढाइदिन लागेको सहचालक पनि दौडिँदै पारि गएर टायरको आगो निभाउन थाल्यो ।
मनले भन्यो– सहनुपर्छ समयले देखाउँदो रहेछ । अघि मविरुद्ध गाडी बन्यो, मेरै कारणले ढिला भयो भनेर कुर्लिएका यात्रुका आँखैअघि गाडीको टायर बल्दै थियो ।
त्यसपछि, फेरि सहचालक वारि आएर माइक्रो रोकिदियो, भाडा तिरिदियो । त्यही माइक्रोमा संयोगले मविरुद्धको समूहको नेतृत्व गरेकी महिलासहित अन्य पाँचजना पनि परे । अब भएन त फसाद !
मैले उनलाई धेरै केही भनिनँ । किनकि, उनी मसँग बोल्न त के, आँखा जुधाउन सक्ने स्थितिमा पनि थिइनन्, लज्जाले । यत्ति भनेँ, ‘दिदीले अघि मविरुद्ध राम्रै नेतृत्व गर्नुभएको हेर्दा पक्कै चुनावमा उठ्नेजस्तो देखेँ । आगामी चुनावमा तपाईं वडाध्यक्ष बन्नुहोला, शुभकामना !’