विनासूचना एनपिएलको टिकट महँगो र ब्ल्याकमा बेचेको आरोप

शनिबार, २८ मंसिर, २०८२
डिजिटल संस्करण

एनपिएलको दोस्रो क्वालिफायर्स र फाइनलमा टिकटदर दोब्बरले बढाउने क्यानको निर्णय विवादमा परेको छ । क्यानले यसअघि नै रेडबुल, एनसेल र सिद्धार्थ बैंक जोनको टिकटदर प्लेअफमा एक हजार तोकेको थियो । तर, दर्शकलाई विनासूचना र जानकारी एकाएक यी तीन जोनलाई प्रिमियम भन्दै टिकटदर दुई हजार पुर्याएको छ । जबकि प्रतियोगिताअघि क्यानले टिकटसम्बन्धी जानकारी गराउँदै चोभार एन्डको मात्रै प्रिमियम टिकट तोकिएको बताएको थियो ।

त्यसअघि लिग चरणका खेलमा भने यी तीनै जोनको टिकटदर पाँच सय रुपैयाँ थियो । लिगमा सामान्यतर्फ अन्य पाँच सय रहेको जोन १, २, ३ को भने टिकटदर पूर्ववत् नै एक हजार तोकिएको छ । यही विषयमा जेन–जी प्रतिनिधिले खेलकुदमन्त्री बब्लु गुप्तालाई शुक्रबार ध्यानाकर्षणपत्र बुझाएका छन् । उनीहरूले क्यान पदाधिकारी र टिकट विक्रेता खल्तीमाथि छानबिन र कारबाही गर्न माग गरेका छन् । महँगोमा टिकट बेचेको र त्यो पनि पहिल्यै बुक गरेर ब्ल्याकमा बिक्री गरेको दर्शकहरूको पनि आरोप छ । 

क्यानका प्रवक्ता छुम्बी लामाले कार्यसमिति बैठकबाटै सिद्धार्थ, रेडबुल र एनसेल जोनलाई प्रिमियम बनाउने निर्णय भएको दाबी गरे । ‘हामीले सुरुकै बैठकबाट रेडबुल, सिद्धार्थ र एनसेल जोनलाई प्लेअफमा प्रिमियर तोक्ने निर्णय गरेका थियौँ । सोहीअनुसार प्रिमियरदर तोकेका हौँ,’ उनले भने । क्यानका पदाधिकारीले भने नाम नखुलाउने सर्तमा भने, ‘हामीले पनि खल्तीको साइटबाटै टिकटदर बढेको पछि मात्रै थाहा पायौँ । यो विषयमा कार्यसमितिलाई जानकारी नै छैन ।’ टिकट महँगो बनाइएपछि बिहीबारको लुम्बिनी लायन्स र विराटनगर किंग्सको खेलमा प्यारापिट रित्तोरित्तो थियो । 

सुझावित समाचार