ईश्वर समूहको समानान्तर युवा भेला, महाधिवेशनका लागि छुट्टै ‘फोर्स’ गठन

हलमा पोखरेलले बोल्ने, अवधारणापत्र बाँडिने

शनिबार, २८ मंसिर, २०८२
डिजिटल संस्करण

आजबाट एमालेको ११औँ महाधिवेशन

एमाले अध्यक्षको उम्मेदवारी घोषणा गरिसकेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले शुक्रबार अलग्गै युवा भेला गरेको छ । अध्यक्ष केपी ओली पक्षले नेसनल भोलेन्टियर फोर्स र राष्ट्रिय युवा संघलाई महाधिवेशनको मतदान प्रक्रियामा एकलौटी ढंगले प्रयोग गर्न सक्ने आशंकासहित पोखरेल समूहले छुट्टै युवा संरचना सक्रिय पारेको हो ।

पोखरेल समूहको भेलाले महाधिवेशनको बन्दसत्रस्थलवरपर परिचालन गर्न कम्तीमा पाँच सय युवासहित छुट्टै ‘फोर्स’ गठन गरेको छ । रातो क्याप लगाएको टोली बानेश्वर बैंक्वेट, थापागाउँबाट पार्टी कार्यालय च्यासलसम्म प्रदर्शनसहित पुगेको थियो । 

भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष सुरेन्द्र पाण्डेले केन्द्रीय कमिटीमा युवा सहभागिता कम्तीमा २० प्रतिशत पुर्‍याइनुपर्ने धारणा राखे । कार्यकर्ताले आफ्नै क्षेत्रका नेतालाई छान्ने संस्कार विकास भए एमालेलाई कसैले परास्त गर्न नसक्ने उनको भनाइ थियो । 

पोखरेलले पछिल्ला वर्षमा ‘सूचना टाँस’ र ‘नाम पढेर कमिटी बनाउने’ प्रचलनले पार्टी कमजोर बन्दै गएको बताए । ‘आज पार्टी संरचना कब्जा गर्न खोज्ने र सूचना टाँसेर कमिटी बनाउने प्रचलन बढ्यो । कार्यकर्ताबिच काम गर्ने मान्छेलाई होइन नेताको वरिपरि घुम्नेलाई नेतृत्वमा ल्याउने प्रथाले गर्दा योग्य र जनतामा स्थापित नेता बाहिरिने अवस्था आउँछ,’ उनले भने । भेलालाई राष्ट्रिय युवा संघका नेता सुमन पुरीसहितले सम्बोधन गरेका थिए ।

हलमा पोखरेलले बोल्ने, अवधारणापत्र बाँडिने
महाधिवेशनमा राजनीतिक, संगठनात्मक वा विधान प्रतिवेदनमाथि कुनै छलफल वा संशोधन नहुने सचिवालयले स्पष्ट गरेको छ । तर, जेन–जी आन्दोलनबारे अध्यक्ष केपी ओलीभन्दा भिन्न विश्लेषण पेस गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको अवधारणापत्रले भने महाधिवेशन हलमा ठाउँ पाउने भएको छ । अवधारणापत्र प्रतिनिधिहरूबिच वितरण गर्न तथा पोखरेललाई हलमा आफ्नो धारणा राख्ने छुट दिने निर्णय सचिवालयले गरेको छ । अवधारणामै आधारित रहेर पोखरेलले प्रतिनिधिहरूलाई कन्भिन्स गर्न पाउने र त्यसका लागि उनलाई छुट्टै समय उपलब्ध गराएर बोल्न दिने निर्णय बैठकले गरेको छ । ‘वरिष्ठ उपाध्यक्षले बुझाएको दस्ताबेज उहाँले प्रतिनिधिहरूलाई वितरण गर्न चाहँदा वितरण गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ,’ बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘यदि उहाँले उम्मेदवारी दिने निर्णय गर्नुभयो र अवधारणाबारे केही बोल्न आवश्यक ठान्नुभयो भने बोल्न पनि दिइनेछ ।’ 

बैठकमा अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष पोखरेलबिच सर्वसम्मतिको विकल्पबारे पनि अनौपचारिक छलफल भएको नेताहरूले बताएका छन् । ‘सहमति हुन सकेन भने स्वस्थ प्रतिस्पर्धा गरेर आन्तरिक जीवन बलियो बनाऊँ भन्ने प्रतिबद्धता आएको छ,’ बैठकपछि सचिव योगेश भट्टराईले भने । अध्यक्ष ओलीले कुल प्रतिनिधिको पाँच प्रतिशत अर्थात् १०८ जनाको मनोनयन सूची बैठकमा पेस गरेका थिए । तर, वरिष्ठ उपाध्यक्ष पोखरेलसहितका केही पदाधिकारीले त्यसमा सहमति जनाएनन् । उनीहरू दुईजनाको सहमतिमा शनिबार नामको अन्तिम टुंगो लगाउने निर्णय भएको भट्टराईले बताए । 

See More On

सुझावित समाचार