- ओली प्रमुख वक्ता, देउवा–प्रचण्डसहित १६ दललाई निम्ता
- २५१ केन्द्रीय सदस्यका लागि हजारभन्दा बढी आकांक्षी
- ईश्वर समूहको समानान्तर युवा भेला, महाधिवेशनका लागि छुट्टै ‘फोर्स’ गठन
- अहिलेसम्मकै ठुलो मञ्च, तीन किमि टाढासम्म ध्वनि सुनिने साउन्डसिस्टम
- कौशलटार–गठ्ठाघर र जगाती गरी दुईतिरबाट जुलुस, तीन लाख सहभागी हुने दाबी
- मनोनीत गरिने १०८ प्रतिनिधिको नाममा विवाद, ओली र पोखरेललाई सहमतिमा टुंग्याउने जिम्मा
जेन–जी आन्दोलनबाट आफ्नो नेतृत्वको सरकार अपदस्थ भएको र २१ फागुनका लागि प्रतिनिधिसभा निर्वाचन तय गरिएको राजनीतिक परिस्थितिबिच एमालेका नेता र अगुवा कार्यकर्ता भावी नेतृत्व चयनका लागि काठमाडौंमा जुटेका छन् । शनिबारबाट सुरु हुने ११औँ महाधिवेशनमा सहभागी हुने साढे २२ सय प्रतिनिधिले आगामी पाँच वर्षका लागि केन्द्रीय नेतृत्व चयन गर्दै छन् ।
शनिबार भक्तपुरको सल्लाघारीस्थित १०८ रोपनी क्षेत्रफलको मैदानमा अध्यक्ष ओलीले महाधिवेशन उद्घाटन गर्नेछन् । २९ मंसिरसम्म चल्ने महाधिवेशनमा दुई हजार २६२ प्रतिनिधि सहभागी हुँदै छन् । नेतृत्व चयनका लागि भृकुटीमण्डपमा बन्दसत्र सञ्चालन हुनेछ ।
१० मंसिर ०७८ मा चितवनमा सम्पन्न दसौँ महाधिवेशनपछि पाँचवर्षे कार्यकाल पूरा हुन एक वर्ष बाँकी छँदै एमालेले ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्दै छ । गत भदौमा सम्पन्न विधान महाधिवेशनले पारित गरेको विधान र नीति कायम राखेर अध्यक्षका लागि केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबिच प्रतिस्पर्धा हुँदै छ । दुवै पक्ष १५ सदस्यीय पदाधिकारीका लागि प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिने सम्भावना छ ।
शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकले महाधिवेशनको निर्वाचन प्रक्रिया, बन्दसत्र सञ्चालन र नेतृत्व निर्माणको आधार तय गरेको छ । बैठकले २२ भदौको विधान महाधिवेशनले पारित गरेको संरचनाअनुसार २५१ सदस्यीय केन्द्रीय कमिटी र १५ सदस्यीय पदाधिकारी चयन गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए । अध्यक्षका उम्मेदवार पोखरेलले आकांक्षी व्यवस्थापनका नाममा संस्थापन पक्षले विधान हेरफेर गरेर कमिटीको आकार बढाउन खोजेको आरोप लगाउँदै विधान महाधिवेशनको औचित्यमाथि प्रश्न उठाउने चेतावनी दिएका थिए । संस्थापन पक्षले विधान संशोधन अगाडि बढाए वरिष्ठ उपाध्यक्ष पोखरेलले पेस गरेको अवधारणापत्र पनि बन्दसत्रमा लैजाने उनको समूहको तयारी थियो । यसैलाई बुझ्दै बैठकमा कुनै विधान संशोधन प्रस्ताव अघि नबढाइने सहमति बनेको एक पदाधिकारीले बताए ।
सचिवालय बैठकपछि दुवै पक्षका नेताहरूले विधान महाधिवेशनले पारित गरेको विधानअनुसार नेतृत्व बन्ने बताएका छन् । ‘विधान महाधिवेशनको सर्वोच्चतालाई ध्यानमा राखेर त्यसकै आधारमा नयाँ नेतृत्व चयन गर्ने निर्णय गरेका छौँ,’ संस्थापन पक्षधर मानिने उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘जसअनुसार २५१ सदस्यीय केन्द्रीय कमिटी र १५ सदस्यीय पदाधिकारीसहितको नेतृत्व निर्माण गर्ने निर्णय भएको छ ।’
यस्तै, पोखरेल पक्षधर मानिने सचिव योगेश भट्टराईले पनि विधान महाधिवेशनको म्यान्डेटअनुसार नै नेतृत्व चयन गर्ने बताए । ‘केन्द्रीय कमिटी र पदाधिकारीको संख्या बढ्ने–नबढ्ने खुल्दुली थियो । तीन महिनाअघिको विधान महाधिवेशनको औचित्यको सम्मान गर्दै त्यसै आधारमा महाधिवेशन सक्ने निर्णय भएको छ,’ बैठकपछि सचिव भट्टराईले भने ।
विधान महाधिवेशनले अध्यक्ष र महासचिवसहित तीन उपाध्यक्ष, तीन उपमहासचिव र सात सचिव रहेको पदाधिकारी पास गरेको थियो । यसअघि व्यवस्था भएको वरिष्ठ उपाध्यक्षको पद हटाइएको छ । तर, ओलीनिकट नेताहरूले भने पोखरेल सहमतिमा आए पुरानै पद ब्युँताउन र ४५ सदस्यीय पुरानै स्थायी समितिको संख्या कायम गर्ने गरी विधान संशोधन गर्न सुझाव दिएका थिए ।
यस्तै, बैठकले बन्दसत्र सञ्चालनका लागि १८ सदस्यीय केन्द्रीय सचिवालयलाई नै अध्यक्षमण्डलको जिम्मा दिएको छ । प्रस्ताव तयारी समिति ज्ञवालीको नेतृत्वमा र माइन्युट लेखन समिति पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा गठन भएको छ ।
त्यसैबिच सचिव भट्टराईले ४० वर्षमुनिका प्रतिनिधिलाई आधार बनाउँदै कम्तीमा १५ प्रतिशत युवा आरक्षणसहित केन्द्रीय कमिटीमा सुनिश्चितता दिलाउनुपर्ने प्रस्ताव बैठकमा राखेका छन् । ‘४० वर्षमुनिका युवाका लागि कम्तीमा १५ पतिशत कोटा छुट्याएर आरक्षण गरौँ भनेको छु, हलमै छलफल हुन्छ होला,’ भट्टराईले भने । उपमहासचिव ज्ञवालीले ४० वर्षमुनिका युवालाई केन्द्रीय कमिटीमा प्रतिनिधित्व गराएर पार्टीलाई ऊर्जाशील बनाउने गरी क्लस्टर हलले पारित गर्ने बताए ।
एमालेको नयाँ नेतृत्व चयनका लागि विद्युतीय मतदान हुने भएको छ । मतदानका लागि मतदाता शिक्षा अगाडि बढाउन शुक्रबारबाटै पार्टी कार्यालयमा डेमो सुरु गरिएको उपमहासचिव ज्ञवालीले बताए । उम्मेदवार मनोनयन सकिएपछि पनि बन्दसत्रस्थलमा डेमो गराउने एमालेको तयारी छ ।
सरकार–जेन–जी सम्झौताको विरोध, अपराधी उन्मुक्तिको आरोप
बैठकले सरकार र जेन–जी प्रतिनिधिबिच २४ मंसिरमा भएको १० बुँदे सम्झौता असंवैधानिक, अनधिकृत र निर्वाचन नैतिकताविपरीत भएको आरोप लगाउँदै विशेष प्रस्ताव पारित गरेको छ । ‘असंवैधानिक रूपमा गठन भएको र सर्वोच्च अदालतमा संवैधानिकतासम्बन्धी न्यायिक परीक्षणबाट गुज्रिरहेको सरकारलाई मुलुकलाई दीर्घकालीन रूपमा प्रभाव पार्ने संवैधानिक, राजनीतिक र आर्थिक यस्तो सम्झौता गर्ने अधिकार रहँदैन भन्ने स्पष्ट छ,’ पारित विशेष प्रस्तावमा छ, ‘राष्ट्रपतिबाट निर्वाचनको कार्यादेश पाएको र निर्वाचनको घोषित मिति तीन महिनाभन्दा कम रहेको अवस्थामा आफ्नो निर्धारित कार्यक्षेत्रबाहिर रहेर सरकारले यस्तो काम गरेको छ । जनताबाट निर्वाचित जनप्रतिनिधिबाहेक अन्यत्रबाट संविधानमा परिमार्जन वा संशोधन हुन सक्दैन ।’
त्यस्तै, प्रस्तावले संधिवान असफल बनाउन खोजेको र विध्वंसमा संलग्न अपराधीलाई उन्मुक्ति दिन खोजेको एमालेको आरोप छ । ‘प्रतिनिधिसभा विघटन गरिएको शून्यताबिच संविधान निर्माणमा अगुवाइ गर्ने दलहरूलाई निषेध गर्दै गरिएको सम्झौताको अन्तर्निहित आशय संविधानका आधारस्तम्भहरूलाई खलबल्याउने र अन्तत्वागत्वा संविधानलाई असफल बनाउने हो । सरकार आफैँले घोषणा गरेको निर्वाचनको पूर्वसन्ध्यामा निर्वाचनका महत्वपूर्ण कानुनी र संरचनागत विषयलाई प्रभावित गर्ने सम्झौता आफैँमा निर्वाचन नैतिकताको विरुद्धमा छ,’ प्रस्तावमा भनिएको छ, ‘त्यसका अतिरिक्त भदौ २४ का विध्वंसका दोषीहरूलाई विभिन्न बहानामा उन्मुक्ति दिने हिसाबले राखिएको प्रावधान र कथित जाँचबुझ आयोगको थप गरिएको कार्यादेशले देश दहन गर्ने अपराधीहरूलाई जोगाउन दण्डहीनतालाई संस्थागत गर्न उद्यत छ भन्ने स्पष्ट हुन्छ । यसबाहेक राज्यकोषमा गम्भीर भार पर्ने गरी विभन्न आयोग र परिषद् गठन गर्ने विषय पनि गलत नियतबाट प्रेरित छ ।’
त्यस्तै, एमालेले कार्यादेशबाहिर गएर गरिएको, जिम्मेवार दलहरूलाई बेवास्ता गरेर कार्यान्वयन हुन नसक्ने कुराले वास्तविक जेन–जीहरूलाई झुक्याउने र धोका दिने काम गरेको भन्दै विरोध गरेको छ । ‘जेन–जी आफैँमा संगठित शक्ति नभई उमेर समूह भएको र जेन–जीका नाममा जो–कसैले गर्ने सम्झौताले आमनवयुवाहरूको भावनाको प्रतिनिधित्व गर्न सक्दैन भन्ने कुरा स्पष्ट छ । संविधान र कानुनभन्दा बाहिर गएर सम्झौता गर्ने अधिकार कुनै पनि सरकारलाई हुँदैन भन्ने कुरालाई विशेष जोड दिँदै एमाले यी विषयप्रति गम्भीर असहमति, आपत्ति र विरोध गर्दछ,’ विशेष प्रस्तावमा छ ।
साढे २२ सय प्रतिनिधि, हजारभन्दा बढी केन्द्रीय कमिटीका आकांक्षी
११औँ महाधिवेशनमा सुनिश्चित साढे २२ सय प्रतिनिधिमध्ये करिब आधा केन्द्रीय कमिटीका लागि आकांक्षी देखिएका छन् । आकांक्षीले अध्यक्षका दाबेदार मानिएका केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित नेता भेटेर प्यानलमा पर्न तीव्र लबिङ थालेका छन् । एमालेका एक पदाधिकारीका अनुसार दुई हजार २६२ मध्ये कम्तीमा हजारभन्दा बढी प्रतिनिधि केन्द्रतर्फ आकांक्षी रहेका छन् ।
विशेषगरी पदाधिकारी र केन्द्रीय कमिटीमा प्रवेश गर्न इच्छुक आकांक्षीले भेटघाट बढाएका छन् । कतिपय आकांक्षीले सामाजिक सञ्जालमार्फत अभियान चलाइरहेका छन् भने थुप्रैले च्यासलस्थित पार्टी कार्यालयमै उपस्थित भएर समर्थन जुटाइरहेका छन् ।
कतिपय आकांक्षीले अध्यक्ष ओलीलाई गुन्डुस्थित निवासमै पुगेर भेटघाट गरिरहेका छन् । राति अबेरसम्म ओलीले पालैपालो जिल्लाका प्रतिनिधिलाई थोरै समय दिएर भए पनि भेटिरहेका मात्रै छैनन्, सहयोग गर्न आग्रह पनि गरिरहेका छन् । भेट्न आउने आकांक्षीलाई उनले सकेसम्म सूचीमा पार्ने नत्र पार्टीले मूल्यांकन गर्ने भन्दै थामथुम पारिरहेका छन् ।
त्यस्तै, आकांक्षीले पोखरेललाई मदन भण्डारी फाउन्डेसनको नयाँ बानेश्वरस्थित सम्पर्क कार्यालय र पार्टी कार्यालयमा भेटिरहेका छन् । पोखरेलले शुक्रबार पार्टी कार्यालयमा पुगेर प्रतिनिधिहरूसँग फोटो खिचाएका थिए । अध्यक्ष ओली पनि नियमितजस्तै कार्यालय गइरहेका छन् ।
ओली र पोखरेलका अलवा विशेषगरी उपाध्यक्ष सुरेन्द्र पाण्डे, विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई प्रतिनिधि र कार्यकर्ताले भेटेर बढी नै लबिङ गरिरहेका छन् । ओली र पोखरेल दुवैतर्फबाट प्यानलमै पर्ने निश्चित नदेखिएकाले एकातिर नपरे पनि अर्कोतिर जाने कोसिस गरिरहेका छन् । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले महाधिवेशनले नयाँ नेतृत्व चुन्ने भएकाले आकांक्षीले नेता भेटेर आफ्नो आकांक्षा प्रकट गर्नु स्वाभाविक भएको बताए ।
ईश्वर समूहको समानान्तर युवा भेला, महाधिवेशनका लागि छुट्टै ‘फोर्स’ गठन
अध्यक्षको उम्मेदवारी घोषणा गरिसकेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले शुक्रबार अलग्गै युवा भेला गरेको छ । अध्यक्ष केपी ओली पक्षले नेसनल भोलेन्टियर फोर्स र राष्ट्रिय युवा संघलाई महाधिवेशनको मतदान प्रक्रियामा एकलौटी ढंगले प्रयोग गर्न सक्ने आशंकासहित पोखरेल समूहले छुट्टै युवा संरचना सक्रिय पारेको हो ।
पोखरेल समूहको भेलाले महाधिवेशनको बन्दसत्रस्थलवरपर परिचालन गर्न कम्तीमा पाँच सय युवासहित छुट्टै ‘फोर्स’ गठन गरेको छ । रातो क्याप लगाएको टोली बानेश्वर बैंक्वेट, थापागाउँबाट पार्टी कार्यालय च्यासलसम्म प्रदर्शनसहित पुगेको थियो ।
भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष सुरेन्द्र पाण्डेले केन्द्रीय कमिटीमा युवा सहभागिता कम्तीमा २० प्रतिशत पुर्याइनुपर्ने धारणा राखे । कार्यकर्ताले आफ्नै क्षेत्रका नेतालाई छान्ने संस्कार विकास भए एमालेलाई कसैले परास्त गर्न नसक्ने उनको भनाइ थियो ।
पोखरेलले पछिल्ला वर्षमा ‘सूचना टाँस’ र ‘नाम पढेर कमिटी बनाउने’ प्रचलनले पार्टी कमजोर बन्दै गएको बताए । ‘आज पार्टी संरचना कब्जा गर्न खोज्ने र सूचना टाँसेर कमिटी बनाउने प्रचलन बढ्यो । कार्यकर्ताबिच काम गर्ने मान्छेलाई होइन नेताको वरिपरि घुम्नेलाई नेतृत्वमा ल्याउने प्रथाले गर्दा योग्य र जनतामा स्थापित नेता बाहिरिने अवस्था आउँछ,’ उनले भने । भेलालाई राष्ट्रिय युवा संघका नेता सुमन पुरीसहितले सम्बोधन गरेका थिए ।
महाधिवेशनमा अहिलेसम्मकै ठुलो मञ्च, तीन किलोमिटर टाढासम्म ध्वनि सुनिने गरी साउन्डसिस्टम
एमालेले ११औँ महाधिवेशन उद्घाटन समारोहका लागि भक्तपुरको सल्लाघारीमा अहिलेसम्मकै ठुलो र अत्याधुनिक मञ्च निर्माण गरेको छ । मञ्च व्यवस्थापन समितिका संयोजक तथा पोलिटब्युरो सदस्य विनोद श्रेष्ठको नेतृत्वमा तयार पारिएको मञ्चमा प्रमुख अतिथिसहित ४५० जनासम्म बस्न सक्ने व्यवस्था छ ।
चार भागमा विभाजित मञ्चको दायाँ–बायाँ केन्द्रीय पदाधिकारी, सदस्य तथा सल्लाहकार समिति राखिनेछ भने बिचमा चाँगुनारायण मन्दिरको प्रतिमा स्थापना गरिएको छ । नजिकै पोडियम रहनेछ, त्यसको तल भिभिआइपी र भिआइपी पाहुनाका लागि छुट्टै व्यवस्था मिलाइएको छ । कलाकारहरूको प्रस्तुतिका लागि अर्को सहायक मञ्च पनि तयार गरिएको छ ।
१०८ रोपनी क्षेत्रफलमा फैलिएको चउरमा तीन किलोमिटर टाढासम्म ध्वनि सुनिने गरी १७ वटा ठुला स्पिकरसहित १०७ वटा साउन्ड युनिट जडान गरिएको छ ।
दुईतिरबाट जुलुस, तीन लाख सहभागी हुने दाबी
दसौँ महाधिवेशनजस्तै भक्तपुरमा पनि उद्घाटन सत्रमा ‘मानवसागर’ उतार्ने एमालेको दाबी छ । झन्डै तीन लाख सहभागी हुने एमाले नेताहरूले दाबी गरेका छन् । भट्टराईका अनुसार ‘नेपाली जनता प्रतिगमनका पक्षमा छैनन् । मिचिएको संविधान र लोकतन्त्रलाई सही बाटोमा फर्काउन एमाले तयार रहेको सन्देश दिने गरी’ उद्घाटन सभा गरिँदै छ ।
पूर्वतिरबाट आउने गाडीलाई जगातीनजिकै रोकिने गरी पूर्वतर्फको जुलुस त्यहीँबाट सुरु हुनेछ भने पश्चिम तथा उपत्यकातर्फको जुलुस कौशलटार–गठ्ठाघर क्षेत्रबाट अघि बढ्नेछ । दुवै जुलुस तथा स्थलवरिपरि १० हजार स्वयंसेवक परिचालन हुने एमालेले जनाएको छ । तीमध्ये पाँच सयजना विशेष तालिमप्राप्त ड्रेसधारी स्वयंसेवक हुने स्वयंसेवक संयोजक भानुभक्त ढकालले बताए । झाँकीसहित करिब दुई सयभन्दा धेरै वेशभूषा समूहले जुलुसमा प्रस्तुति दिनेछन् ।
पदेनसहित २,२६२ प्रतिनिधि सहभागी
महाधिवेशनमा पदेनसहित २,२६२ जना प्रतिनिधि सहभागी हुनेछन् । संगठन विभागका सदस्य गणेश पहाडीका अनुसार भूगोल, प्रवास र जनसंगठनबाट निर्वाचित १,६७५ जना, केन्द्रीय सदस्य तथा आयोगबाट पदेन ४६१ जना, मनोनीत १०८ जना र एकीकृत समाजवादीबाट आएका १८ जना गरी कुल २,२६२ प्रतिनिधि रहनेछन् ।
हलमा पोखरेलले बोल्ने, अवधारणापत्र बाँडिने
महाधिवेशनमा राजनीतिक, संगठनात्मक वा विधान प्रतिवेदनमाथि कुनै छलफल वा संशोधन नहुने सचिवालयले स्पष्ट गरेको छ । तर, जेन–जी आन्दोलनबारे अध्यक्ष केपी ओलीभन्दा भिन्न विश्लेषण पेस गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको अवधारणापत्रले भने महाधिवेशन हलमा ठाउँ पाउने भएको छ । अवधारणापत्र प्रतिनिधिहरूबिच वितरण गर्न तथा पोखरेललाई हलमा आफ्नो धारणा राख्ने छुट दिने निर्णय सचिवालयले गरेको छ । अवधारणामै आधारित रहेर पोखरेलले प्रतिनिधिहरूलाई कन्भिन्स गर्न पाउने र त्यसका लागि उनलाई छुट्टै समय उपलब्ध गराएर बोल्न दिने निर्णय बैठकले गरेको छ । ‘वरिष्ठ उपाध्यक्षले बुझाएको दस्ताबेज उहाँले प्रतिनिधिहरूलाई वितरण गर्न चाहँदा वितरण गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ,’ बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘यदि उहाँले उम्मेदवारी दिने निर्णय गर्नुभयो र अवधारणाबारे केही बोल्न आवश्यक ठान्नुभयो भने बोल्न पनि दिइनेछ ।’
बैठकमा अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष पोखरेलबिच सर्वसम्मतिको विकल्पबारे पनि अनौपचारिक छलफल भएको नेताहरूले बताएका छन् । ‘सहमति हुन सकेन भने स्वस्थ प्रतिस्पर्धा गरेर आन्तरिक जीवन बलियो बनाऊँ भन्ने प्रतिबद्धता आएको छ,’ बैठकपछि सचिव योगेश भट्टराईले भने । अध्यक्ष ओलीले कुल प्रतिनिधिको पाँच प्रतिशत अर्थात् १०८ जनाको मनोनयन सूची बैठकमा पेस गरेका थिए । तर, वरिष्ठ उपाध्यक्ष पोखरेलसहितका केही पदाधिकारीले त्यसमा सहमति जनाएनन् । उनीहरू दुईजनाको सहमतिमा शनिबार नामको अन्तिम टुंगो लगाउने निर्णय भएको भट्टराईले बताए ।