डेब्युको तयारीमा रहेका यी हुन् ४० मुनिका अनुहार
एमालेको ११औँ महाधिवेशनमा ४० वर्षमुनिका थुप्रै युवा नेता केन्द्रीय सदस्यको उम्मेदवार बन्ने तयारीमा छन् । एमालेले विधान संशोधन गरेर केन्द्रीय कमिटीमा ४० वर्षमुनिका युवाको प्रतिनिधित्व गराउने तयारी पनि गरेको छ ।
प्रदेश र जिल्लामा ४० वर्षमुनिका युवाका लागि १० प्रतिशत कोटा छुट्याएकाले केन्द्रमा पनि त्यहीअनुसार छुट्याउन दबाब छ । १६५ निर्वाचन क्षेत्र, केन्द्रीय सम्पर्क समन्वय कमिटी, विशेष जिल्ला कमिटीसहित विभिन्न क्षेत्रबाट एमालेमा दुई सयभन्दा बढी प्रतिनिधि ४० वर्षमुनिबाट निर्वाचित भएर आएका छन् ।
१० प्रतिशतसम्म आरक्षण गरिएमा अहिले प्रस्तावित २५१ सदस्यीय केन्द्रीय कमिटीको विधानबाट २५ जनासम्म चुनिन सक्नेछन् । यसैका आधारमा तत्कालीन संविधानसभा अध्यक्ष स्वर्गीय सुवास नेम्वाङका पुत्र सुहाङ नेम्वाङ, अखिलका पूर्वअध्यक्ष समिक बडाल, अधिवक्ता राधिका खतिवडा, युवा संघका अध्यक्ष क्षितिज थेबे, अनेरास्ववियुको महाधिवेशनमा झिनो मतान्तरमा पराजित भए पनि महाधिवेशन प्रतिनिधि बनेर आएका प्रकाश पौडेल डेब्युको तयारीमा छन् ।
पदाधिकारी र केन्द्रीय सदस्य थप्न विधान संशोधनको गृहकार्य
एमालेले पदाधिकारी र केन्द्रीय कमिटीमा आकांक्षीहरूको दबाब थेग्न नसकेपछि पदाधिकारी र केन्द्रीय कमिटीको आकार बढाउने गरी विधान संशोधन गर्ने तयारी गरेको छ ।
शुक्रबार बोलाइएको सचिवालय बैठकमा पदाधिकारी र केन्द्रीय कमिटीको आकार बढाउने गरी संशोधनको प्रस्ताव राख्ने तयारी भइरहेको एक पदाधिकारीले बताए । जसअनुसार वरिष्ठ उपाध्यक्षको पद पुन: ब्युँताउने, उपाध्यक्ष र सचिवको संख्या सात–सात राखेर पुरानै १९ सदस्यीय पदाधिकारी पुर्याउने, अहिले प्रस्तावित २५१ सदस्यीय केन्द्रीय कमिटी ३०१ पुर्याउने र स्थायी समिति ४५ सदस्यीय राख्ने गरी तयारी भएको छ ।
सल्लाघारीमा यसरी सजाइँदै छ एमाले महाधिवेशन उद्घाटनस्थल
एमालेको ११औँ महाधिवेशन शनिबारदेखि हुँदै छ । उद्घाटन कार्यक्रमका लागि भक्तपुरको सल्लाघारीमा मञ्चलगायतका संरचना धमाधम सजाइँदै छन् । मञ्च व्यवस्थापन उपसमितिका संयोजक विनोद श्रेष्ठका अनुसार एकैपटक ४५० अतिथि अट्ने गरी मञ्चलाई चार भागमा विभाजन गरिएको छ । पूर्वबाट पश्चिमतर्फ फर्किएको मञ्चको दायाँबायाँ केन्द्रीय पदाधिकारी, सदस्य र सल्लाहकार मञ्चका सदस्य बस्नेछन् ।
बिच भागमा चाँगुनारायण मन्दिरको प्रतिमा राखिएको छ । नजिकै पोडियम रहनेछ । त्यसको तल भिभिआइपी र भिआइपी पाहुना बस्ने व्यवस्था गरिँदै छ । कलाकारको प्रस्तुतिका लागि छेउमै अर्को मञ्च तयार गरिँदै छ । १०८ रोपनी क्षेत्रफलमा फैलिएको चौरमा पाँच लाखसम्म सहभागीले सुन्न सक्ने अत्याधुनिक १०७ वटा स्पिकर राखिनेछन् । मञ्चको दायाँबायाँ दुईवटा मेघा स्क्रिन राखिनेछन् ।