नेपाल प्रिमियर लिग (एनपिएल) २०८२ को एजुकेसन पार्टनर प्रेसिडेन्सियल ग्राजुएट स्कुलले एनपिएलमा प्रहार हुने चौका र छक्काका आधारमा कफीका बिरुवा रोप्ने घोषणा गरेको छ। कलेजका अनुसार खेलमा हरेक चौकामा चार र हरेक छक्कामा ६ वटा गरी कफीका बिरुवा रोप्ने निर्णय गरिएको हो।
कफी खेतीले स्थानीय अर्थतन्त्र बलियो बनाउन, रोजगार सिर्जना गर्न तथा ग्रामीण समुदायसँग कलेजको सहकार्य थप सुदृढ बनाउन मद्दत गर्ने कलेजका अध्यक्ष लक्ष्मण केसीले बताए। यो वर्ष रोपाइँका लागि स्थान भने अझै निश्चित गरिएको छैन। उपयुक्त भूभाग पहिचानका लागि मूल्यांकन कार्य जारी रहेको कलेजले जनाएको छ।
कलेजका अनुसार शैक्षिक संस्था कक्षा कक्षाभित्रको अध्यापनमै सीमित नभई ग्रामीण विकास तथा स्थानीय उत्पादन प्रवर्द्धनमा पनि सक्रिय हुनुपर्छ भन्ने मान्यताबाट यो अभियान सुरु गरिएको हो। कफी खेतीमार्फत ग्रामीण कृषकलाई प्रत्यक्ष सहयोग, तालिम तथा सम्भावित बजार पहुँच उपलब्ध गराउने योजनासमेत कलेजले ल्याएको छ।
प्रेसिडेन्सियल ग्राजुएट स्कुलले गत वर्ष काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ११ सय थरी–थरीका बिरुवा रोपेको थियो। त्यो समयमा हरेक चौकामा एक र छक्कामा दुईवटा बिरुवा रोपिने दर कायम गरिएको थियो।अमेरिकाको वेस्टक्लिफ विश्वविद्यालयसँग सम्बन्धन प्राप्त थापागाउँ, बानेश्वरस्थित प्रेसिडेन्सियल ग्राजुएट स्कुलले पछिल्लो १५ वर्षदेखि व्यवस्थापन र पाँच वर्षदेखि आइटी संकायमा स्नातक तथा स्नातकोत्तर तहको शिक्षा प्रदान गर्दै आएको छ।