जिल्लाका विभिन्न स्थानमा शृंखलाबद्ध चोरीमा संलग्न भएको आरोपमा कास्की प्रहरीले दुईजनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेहरूमा जिल्ला प्युठान स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका– ३, नदीपुर बस्ने वर्ष २४ का सुमित थापामगर र जिल्ला धादिङ स्थायी घर भई हाल पोखरा– ३, नदीपुर बस्ने वर्ष २७ का सुजन परियार रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिए ।
पाण्डेका अनुसार जिल्लाका विभिन्न स्थानमा चोरीका घटनाहरू बढिरहेको भेटिएपछि प्रहरी टोली खटिई गरिएको अनुसन्धान तथा खोजतलासका क्रममा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पोखरा– ९ रामघाटबाट पक्राउ गरेको हो। पक्राउपछि प्रहरीले कास्की जिल्ला अदालतबाट चोरी तथा डाँकासम्बन्धी कसुरमा म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको पाण्डेले जानकारी दिए।
जेन–जीको आन्दोलनमा भागेका थिए कारागारबाट पक्राउ परेका दुईमध्ये मगर अभद्र व्यवहार, चोरी उद्योग, चोरी र केही सार्वजनिक अपराधसमेतमा गरी हालसम्म आठपटक पक्राउ परिसकेका छन्। विभिन्न घटनामा संलग्नपछि उनी अदालतको आदेशअनुसार कारागार चलान भएका थिए। कारागारमा रहेका उनी जेन–जी आन्दोलनको क्रममा २४ भदाैमा कारागारबाट फरार भई पुनः चोरीमा संलग्न रहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । यसैगरी परियार यसअघि अभद्र व्यवहार मुद्दामा पक्राउ परेका थिए ।
४६ दिनको बिचमा चार स्थानमा चोरी
अनुसन्धानका क्रममा ४६ दिनको बिचमा उनीहरू चार स्थानमा चोरीमा संलग्न भएको भेटिएको पाण्डेले जानकारी दिए। गत २७ असोज ०८२ का दिन ११ बजेको समयमा पोखरा– १३ बिपी मार्गमा रहेको पोखरा लक्ष्मी ट्रेडर्सभित्र काउन्टर टेबुलको घर्रा फोरी नगद ४१ हजारसँगै राष्ट्रिय परिचयपत्र, सवारीचालक अनुमतिपत्र, बिलबुक, नागरिकतासमेतको कागजपत्रसहितको ब्याग चोरी गरेको, ४ मंसिरमा रातिको समय पोखरा– ४ आदर्शमार्गस्थित सडक किनारामा पार्किङ गरी राखेको ग.१५ प १०२० नम्बरको होन्डा कम्पनीको पहेँलो कालो रङको डियो स्कुटर चोरी गरेको, ६ मंसिरमा १ बजेको समयमा पोखरा– १७ ड्यामसाइडस्थित आरुस स्टोर्स प्रालिको ढोका फोडेर दुई लाख ७३ हजार पाँच सय रुपैयाँ चोरी गरेको र १० मंसिरका दिन १:३६ बजेको समयमा पोखरा– ८, न्युरोडस्थित पार्किङ गरिराखिएको ग.१ क २५९८ नम्बरको गाडीमा राखिएको लाइसेन्स, बिलबुक, एटिएम कार्ड, विभिन्न चेक र ३५ हजार नगदसहित झोला चोरी गरेका थिए।