थोत्रा सिआरभी भ्यानका भरमा प्रदेश राजधानीको सुरक्षा

शुक्रबार, २७ मंसिर, २०८२
डिजिटल संस्करण

विराटनगर अब पहिलेझैँ औद्योगिक सहर र जिल्लाको सदरमुकाम र उमहानगरपालिका मात्र रहेन । कोशी प्रदेशको राजधानीसमेत बनिसकेको छ । आर्थिक नगरीबाट प्रदेश राजधानी बनेसँगै विराटनगरको जनघनत्व ‘दिन दुना रात चौगुना’ले बढिरहेको छ । प्रदेशका मात्र नभएर संघबाट आएका भिआइपी र भिभीआइपीको नियमित आवतजावतले यहाँको सुरक्षा अवस्थालाई चासोका रूपमा हेर्ने गरिन्छ । 

तर, प्रदेशको राजधानी बनेपछि पनि विराटनगरको सुरक्षा अवस्थामा सुधार हुन सकेको छैन । यहाँ अझै पनि पुराना र थोत्रा सिआरभी भेनले धुँवा उडाउँदै र चर्को आवाज निकाल्दै गस्ती गरेको दृश्य देख्न सकिन्छ । विराटनगर महानगरको सुरक्षा जिम्मा ०६४ सालमा प्राप्त थोत्रा सिआरभी (कन्ट्रोल रुम भेहिकल) भ्यान थाप्लोमा छ । 

विराटनगरको सुरक्षाका लागि ०६४ देखि नौवटा सिआरभी भेन परिचालन गरिएको थियो । यसमध्ये दुईवटा जेन–जी आन्दोलनमा जलेर नष्ट भए भने सातवटा सञ्चालनमा छन् । दैनिकजसो मर्मत गर्नुपर्ने अवस्थाका ती भ्यानलाई कतिपय अवस्थामा ठेलेर चलाउनुपर्ने बाध्यता रहेको प्रहरीहरू बताउँछन् । थोत्रा सिआरभी भ्यानमा न त वाइफाई चल्छन्, न त ब्रेक नै लाग्छ । जसका कारण घटनास्थलमा प्रहरी समयमै पुग्न नसक्ने अवस्था छ । सिआरभी भ्यानको बास प्रहरीमा भन्दा ग्यारेजमा धेरै हुने गरेको छ । 

सिआरभी भ्यानहरूलाई जिल्ला प्रहरी कार्यालयले आन्तरिक बजेटबाट मिलाएर दैनिक पाँच लिटर तेल उपलब्ध गराउँदै आएको छ । जुन तोकिएको क्षेत्रभित्र गस्ती गर्न पर्याप्त हुँदैन । असइको कमान्डमा खटिने सिआरभी भेनका प्रहरीहरूका लागि ड्युटी सकिएपछि बस्ने ब्यारेकको व्यवस्थासमेत यहाँ छैन । 

विराटनगरमा वडा प्रहरी ‘क’ र ‘ख’को अनि सीमा क्षेत्रको इलाका प्रहरी रानी कार्यालयमा रहेको एउटा जिपले आ–आफ्नो इलाकामा गस्ती गर्छन् । महानगरमा रहेका सातवटा सिआरभी भ्यानले उत्तर, दक्षिण, पूर्व, पश्चिमका तोकिएका संवेदनशील स्थानका चोकमा तैनाथ हुने गरेका छन् ।  

विराटनगर प्रदेश राजधानी मात्र नभएर सीमावर्ती सहरसमेत हो । यहाँ जेनतेन सञ्चलान भइरहका सिआरभी र गस्ती भ्यानहरू भरपर्दो सुरक्षाका हिसाबले पर्याप्त नभएको सर्वसाधारणको भनाइ छ । भ्यान थपका लागि मोरङ प्रहरीले हेडक्वार्टरमा धेरै पहिलेदेखि पत्राचार गरिरहेको मोरङका एसपी कवित कटुवाल बताउँछन् । 

विराटनगरमा संसद्हरू, मन्त्रालय, निर्देशनालय र कार्यालयहरूदेखि प्रद्रेश प्रमुखका कार्यालय, मुख्यमन्त्री र मन्त्री, सभामुख उपसभामुखहरूको निवाससमेत छ । प्रदेश सांसदहरू प्राय: सबैले विराटनगरमा डेरा लिएका छन् । ७६.९९ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको विराटनगर संघीय राजधानी विराटनगरभन्दा ठुलो क्षेत्रफल भएको महानगर हो । ५० हजार घरपरिवार रहेको विराटनगरको जनसंख्या (स्थायी) दुई लाख ५७ हजारभन्दा बढी छ । प्रहरीका अनुसार बढी जनधनत्व र आवागमन हुने अनि सीमा क्षेत्रसँग जोडिएको प्रदेशकै ठुलो महानगर भएकाले यहाँ चोरी, लुटपाट र तस्करीका घटना पनि दैनिक भइरहन्छन् । यसैगरी, भारतबाट लागुऔषधदेखि साना हातियार तस्करी गर्ने गिरोह पनि सक्रिय भइरहन्छन् । 

विराटनगरमा बैंक तथा वित्तीय संस्थाहरू पनि बढेको र आर्थिक नगर पनि भएकाले कम जनशक्ति र स्रोतसाधनमा अपराध नियन्त्रण गर्न प्रहरीलाई थप चुनौती बनेको छ । वर्षाँैै पुराना थोत्रा सिआरभी भ्यानका भरमा विराटनगरको भरपर्दो सुरक्षा हुन नसक्ने प्रहरी स्रोतको भनाइ छ । यसैले थप सातवटा क्युरआरटी (क्युइक रेस्पोन्स टिम) परिचालन गर्न लागेको मोरङका एसपी कवित कटुवाल बताउँछन् । उनका अनुसार नयाँ सिआरभी भ्यानका लागि पनि प्रदेश र संघीय सरकारसँग माग भइसकाले ढिलोचाँडो नयाँ आउने बताउँछन् । एसपी कटुवाल भन्छन्, ‘अब विराटनगर पहिलाजस्तो साँघुरो रहेन । धेरै फराकिलो र संवेदनशील क्षेत्र भइसकेको छ । यसैले अब सुरक्षाको उपाय भरपर्दो बनाउनैपर्छ । थोत्रा सिआरभीका भरमा मात्र सधैँ सुरक्षा अवस्था धानिन सक्दैन ।’ 

सुझावित समाचार