आगामी माघ ११ गते हुने राष्ट्रिय सभा र फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस बागलुङ प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट १९ जनाको नाम सिफारिस गरिएको छ । बिहीबार बसेको क्षेत्रीय समितिको बैठकबाट प्रत्यक्षतर्फ १० जना, समानुपातिकमा सातजना र राष्ट्रिय सभामा दुईजना आकांक्षीको नाम सिफारिस गरिएको हो ।
गत मंगलबार बसेको क्षेत्रीय समितिको बैठकले बिहीबार आकांक्षीलाई आफ्नो उम्मेदवारी दर्ताका लागि आह्वान गरेको थियो। सोहीअनुसार प्रत्यक्षमा समानुपातिक र राष्ट्रिय सभाका लागि दर्ता भएका आकांक्षीको नाम सिफारिस गरिएको कांग्रेस क्षेत्र नं. १ का सभापति चण्डीप्रसाद शर्मा पौडेलले जानकारी दिए। कांग्रेस केन्द्रीय समितिको सर्कुलरअनुसार क्षेत्रीय समितिमार्फत प्रत्यक्ष, समानुपातिकमा र राष्ट्रिय सभाका लागि आकांक्षीको नाम सिफारिस गर्नुपर्ने प्रावधान रहेको छ। दर्ता भएका सबैको नामावली जिल्ला कार्यसमितिमार्फत केन्द्रीय समितिमा पठाइने सभापति पौडेलले बताए ।
प्रत्यक्षतर्फ कांग्रेसका केन्द्रीय सदस्य किरणराज पौडेल, कांग्रेस बागलुङका पूर्वसभापति एवं गण्डकी प्रदेशका पूर्वमन्त्री मणिभद्र शर्मा कँडेल, पूर्वपार्टी सभापति एवं संविधानसभा सदस्य प्रकाश शर्मा पौडेल, कांग्रेस महासमिति सदस्य एवं पूर्वत्रिवि सभापति भीम श्रीष, पूर्वमहाधिवेशन प्रतिनिधि एवं नेविसंघका पूर्वउपाध्यक्ष सागर परियार, कांग्रेस बागलुङका पूर्वजिल्ला सदस्य हरि आचार्य, जिल्ला सदस्य जगन्नाथ आचार्य, क्षेत्र नं. १ प्रदेश सभा (ख) का सभापति दलबहादुर श्रीष राना, कांग्रेसका जिल्ला सदस्य एवं नेपाल महिला संघ बागलुङकी अध्यक्ष सीता सापकोटा कँडेल र नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुजन सापकोटाको नाम सिफारिस गरिएको छ।
प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ पूर्वकेन्द्रीय सदस्य रत्ना शेरचन, पूर्व जिल्ला सभापति हरिप्रसाद श्रेष्ठ, कांग्रेस महाधिवेशन प्रतिनिधि एवं गण्डकी प्रदेश समितिका सदस्य शकुन्तला शर्मा, महाधिवेशन प्रतिनिधि एवं गण्डकी प्रदेश सदस्य पार्वती आचार्य, कांग्रेस पूर्वजिल्ला सदस्य पदमबहादुर पुन, पूर्वमहाधिवेशन प्रतिनिधि एवं नेपाल तरुण दलका केन्द्रीय सदस्य शेरबहादुर विश्वकर्मा, पूर्वमहाधिवेशन प्रतिनिधि र कांग्रेस गण्डकी प्रदेश स्वास्थ्य विभागका सहसंयोजक डा. रामबहादुर केसीको नाम सिफारिस गरिएको छ।
क्षेत्रीय समितिले राष्ट्रिय सभाको उम्मेदवारका लागि नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिका सदस्य एवं जैमिनी नगरपालिकाका निवर्तमान नगरप्रमुख इन्द्रराज पौडेल र महाधिवेशन प्रतिनिधि विष्णु पौडेल दारीको नाम सिफारिस गरिएको क्षेत्रीय सभापति पौडेलले जानकारी दिए।
जिल्ला कार्यसमितिले आगामी शनिबारको बैठकबाट पार्टीको विधानअनुसार जिल्लाले गर्न मिल्ने काम र आवश्यक राय सल्लाहसहित केन्द्रमा पठाउने तयारी रहेको जिल्ला सचिव हरिहर शर्माले जानकरी दिए । शर्माले अगामी निर्वाचनको उम्मेदवारका लागि दुवै क्षेत्रबाट औपचारिक रूपमा जिल्लामा नामावली आइनसकेको र शुक्रबारसम्म आउने र शनिबार बैठक बसी आवश्यक रायसहित केन्द्रमा पठाउने बताए।