‘प्रधानमन्त्री कार्कीको मनसाय र वरिष्ठ उपाध्यक्षलगायतका साथीहरूको चाहना एउटै देखिन्छ’

‘जेन–जीसँगको सम्झौता कलाविहीन नाटक’ वर्तमान सरकार ‘नागपञ्चमीमा घरमा कसैले गोबरले टाँसेको नाग’जस्तै

शुक्रबार, २७ मंसिर, २०८२
डिजिटल संस्करण

एमाले अध्यक्ष केपी ओलीले जेन–जी आन्दोलन जाँचबुझ आयोगमा बयान दिन जानुपर्ने एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको अभिव्यक्ति गलत र नियतपूर्ण रहेको भन्दै प्रतिवाद गरेका छन् । ११औँ महाधिवेशन तयारी सन्दर्भमा बिहीबार सम्पादकहरूसँग अन्तरक्रिया गरेका ओलीले प्रधानमन्त्री सुशीला कार्की र वरिष्ठ उपाध्यक्ष पोखरेल दुवैको मनसाय एउटै देखिएको भन्दै प्रतिवाद गरेका हुन् । 

‘प्रधानमन्त्री कार्कीको मनसाय र वरिष्ठ उपाध्यक्षलगायतका साथीहरूको चाहना एउटै देखिन्छ,’ ओलीले भने, ‘उहाँहरूको गुट किन यति जिद्दीमा लागेको छ, त्यो बुझ्न सकेको छैन । त्यो नगरेर पोलिटिक्स गरेको भए राम्रो हुन्थ्यो ।’ आसन्न महाधिवेशनमा ओली र पोखरेल अध्यक्षका लागि भिड्दै छन् । 

ओलीले बयान दिन जाने–नजाने विषय व्यक्तिगत र कानुनी भएको भन्दै त्यसबारे अरूले टिप्पणी गरिरहनु आवश्यक नरहेको धारणा राखे । ‘बयान दिने कि नदिने मेरो कुरा होला । के कानुनी व्यवस्था छ, त्यस सम्बन्धमा मैले पनि हेरेको हुँला नि, त्यसबापत कुनै सजाय भोग्नुपर्छ, केही गर्नुपर्छ भने मैले गर्छु होला नि,’ ओलीले भने । 

बुधबार सम्पादकहरूसँगको अन्तरसंवादमा वरिष्ठ उपाध्यक्ष पोखरेलले अध्यक्ष ओलीले जाँचबुझ आयोगमा बयान दिन जानु उपयुक्त हुने धारणा राखेका थिए । ‘सरकारले बनाएको आयोगमा हाम्रा कतिपय रिजर्भेसेन छन् होला । तर, आयोगले बोलाउनु स्वाभाविक छ । मचाहिँ भए अझै अगाडि गएर बयान दिन्थेँ । त्यसप्रति अवज्ञा गर्ने कुराले राम्रो गर्दैन,’ पोखरेलको भनाइ थियो ।

उनले विरोधीले जति खेद्यो उति नै आफू बलियो र शक्तिशाली बन्ने जिकिरसमेत गरे । ‘म हावा भरिएको भकुन्डोजस्तो हुँ, जति जोडले पछार्छन्, उति माथि पुग्छु,’ उनले भने, ‘छुद्र व्यवहार र वैरभावपूर्ण कदमले राजनीति स्वस्थ हुँदैन । सबै स्वस्थ ढंगले चल्नु नै वाञ्छनीय हुन्छ ।

यस्तै, ओलीले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा सहमति भएमा वा प्रतिनिधिहरूले चुनेमा आफू अध्यक्षमा पुन: रहन सक्ने बताए । तर, कुनै पूर्वसर्त राखेर आफूले कुनै दबाबमा काम नगर्ने ओलीले स्पष्ट गरे । त्यस्तै, बाहिर प्रस्ताव दिनुभन्दा पार्टीभित्र बसेर सहमतिको पहल गर्न वरिष्ठ उपाध्यक्ष पोखरेललगायतका नेतालाई उनले आग्रह पनि गरे । पोखरेलले ओलीबाहेक अरूमा सर्वसम्मति हुन सक्ने बताएको अर्को दिन ओलीले आफ्नो धारणा राखेका हुन् । 

अर्काे प्रश्नको जवाफमा उनले संसद् पुनस्र्थापनालगायत राष्ट्रिय राजनीतिका समसामयिक विषयमा कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटमा संवाद भएको र त्यसको परिणाम क्रमश: आउने बताए । तर, कस्तो परिणाम आउँछ भन्ने विषय उनले खुलाएनन् । 

जेन–जी आन्दोलनका वेला प्रधानमन्त्री रहेका एमाले अध्यक्ष ओलीले आफूलाई भगौडा प्रधानमन्त्री भनिएकामा गम्भीर आपत्ति जनाए । बालुवाटारबाट हेलिकोप्टरमा बाहिरिएका ओलीले धेरै क्षति नहोस् भनेर बुद्धिमतापूर्वक मुकाम सरेको दाबी गरे । 

‘कौरवहरूले दुर्योधन, सकुनी र दु:शासनहरूले लाक्षागृह बनाएर भित्रै जलाएर मार्न खोजेका थिए । दुर्योधनका प्रेतहरू अहिले पनि रहेछन् । पाण्डवहरू भागेर बाँचे । एकातिरबाट आगो लगाए, पाण्डवहरू अर्कातिरबाट भागे,’ ओलीले भने, ‘पाण्डवहरू भागेकै हुन् । तर, काँतर भएर होइन, बुद्धि पुर्याएर भागे । ‘म जल्छु, तर भाग्दिनँ’ भनेको भए जल्थेँ । जल्नु हुँदैनथ्यो ।’ 

आत्मरक्षाका लागि सुरक्षाकर्मीले कदम चाल्दा आन्दोलनकारी घाइते हुने अवस्था आउने भएकाले आफूले बुद्धिमतापूर्वक मुकाम सर्ने निर्णय लिएको उनको जिकिर थियो । ‘हो, मैले (बालुवाटार) नछोड्न सक्थेँ । तर, के–के खुवाएर ल्याएको छ, आक्रमण गर्न आउँछन् । आत्मरक्षाका लागि प्रहार गर्दा क्याजल्टी हुने भो । क्याजल्टी हुनुभन्दा वल्लो घरबाट पल्लो घर सर्दा राम्रो होइन ?’ ओलीले भने, ‘कहिलेकाहीँ बच्चाबच्चीले खेदे भने आफू कुद्नुपर्छ । अनि डरायो, भाग्यो... भनेर खुसी हुन्छन् । त्यस्तै हो । उनीहरू (आन्दोलनकारी)को ज्यान बचाउन मैले मुकाम परिवर्तन गरेको हुँ ।’ 

केयरटेकर प्रधानमन्त्री चलाइरहेको व्यक्ति कसरी भागेको हुन्छ भनेर ओलीले प्रश्न उठाए । ‘मेराअगाडि एउटा परिस्थिति आयो । मैले राजीनामा गरेँ । तर, म केयरटेकर प्रधानमन्त्री छँदै थिएँ । भागेर केयरटेकर हुन्छ ? भागेको मान्छे प्रधानमन्त्री रहन्छ ?’ ओलीले भने, ‘म त प्रधानमन्त्री नै थिएँ । मैले राष्ट्रपतिलाई प्रधानमन्त्रीको हैसियतमा सिफारिस गरेको छु । म बसेको ठाउँमा राष्ट्रपति, प्रधानमन्त्री र प्रधानसेनापतिबिच मेरो कुराकानी भयो । त्यो भाग्या भयो ?’ डेराको बन्दोबस्ती भएपछि पूर्वसूचना सार्वजनिक गरेर सेनाको ब्यारेकबाट आफू गुन्डु फर्किएको ओलीको भनाइ थियो । 

‘जेन–जीसँगको सम्झौता कलाविहीन नाटक’ वर्तमान सरकार ‘नागपञ्चमीमा घरमा कसैले गोबरले टाँसेको नाग’जस्तै
नेपाल सरकार र जेन–जी पक्षबिच बुधबार भएको सम्झौताबारे ओलीले कडा प्रतिक्रिया जनाउँदै त्यसलाई ‘कलाविहीन नाटक’को संज्ञा दिएका छन् । जनादेशविनाको सरकारले यस्ता निर्णय गर्ने म्यान्डेट नराखेको भन्दै उनले वर्तमान सरकारलाई ‘नागपञ्चमीमा घरमा कसैले गोबरले टाँसेको नाग’जस्तै भएको टिप्पणी गरे । ‘विघटित संसद्लाई जनसमर्थन गुमाएको संसद् भनेर सम्झौतामा भनिएको छ । त्यो यथार्थ होइन । असान्दर्भिक र अराष्ट्रिय भावना बोकेकाले परिस्थितिलाई विध्वंसका माध्यमबाट आफ्नो कब्जामा लिन खोजेका मात्रै हुन् । त्यसकारण यो सरकारलाई यस प्रकारको सम्झौता गर्ने जनादेश छैन,’ उनले भने, ‘यो देशमा पुराना र ठुला राजनीतिक दलहरू सक्रिय छन् । आगामी २१ फागुनपछि पनि नेपालको समय छ भन्ने सरकारले बुझ्नुपर्छ । त्यस कुरालाई हेक्का राखेर काम गर्न आग्रह गर्दछु ।’ ओलीले कार्की नेतृत्वको अन्तरिम सरकारको संवैधानिक हैसियतमाथि लगातार प्रश्न उठाइरहेका छन् । 

सुझावित समाचार