विश्व बक्सिङ च्याम्पियनसिपमा चन्द्रबहादुर थापामगरले जिते कांस्य

बिहिबार, २५ मंसिर, २०८२
डिजिटल संस्करण

नेपालका बक्सर चन्द्रबहादुर थापा मगरले बिहीबार दुबईमा भएको आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिप २०२५ मा कास्यपदक जितेका छन् । नेपालको बक्सिङ इतिहासमा विश्व च्याम्पियनसिपमा सेमिफाइनलमा प्रवेश गरी कास्य जित्ने चन्द्रबहादुर पहिलो खेलाडी हुन् ।

प्रतियोगिताको सेमिफाइनलमा उनी काजकस्तानका खेलाडी विवोसिनोसँग ५–० को स्कोरमा पराजित हुँदै चौथो स्थानमा सिमित भएका हुन् । यससँगै उनले ७५ हजार अमेरिकन डलर हात पारेका छन् । नेपालको खेलकुद इतिहासमा कुनै पनि अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको एकल स्पर्धामा ७५ हजार अमेरिकन डलर हात पार्ने उनी पहिलो खेलाडी बनेका छन् । 

उनले सेमिफाइनल चरण पार गर्दा कम्तीमा एक लाख ५० हजार अमेरिकी डलर पाउने थिए । यसअघि ५४ केजी तौल समूहका उनले बुधबार इरानी बक्सरलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेसँगै कम्तिमा कास्य पदक पक्का गरेका थिए । 

तर, फाइनल प्रवेश भिडन्तमा उनले अनुभवी काजकिस्तानका खेलाडीविरुद्ध उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । उनले इन्डोनेसिया र आर्मेनियाका बक्सरलाई पराजित गर्दै क्वार्टरफाइनल स्थान सुरक्षित गरेका थिए । 

गुरुको सपना चेलाले पुरा गरे
नेपाली टोलीका मुख्य प्रशिक्षक दीपक महर्जनले दुबईमा नेपाली खेलाडीले ऐतिहासिक प्रदर्शन गरेको बताए । ‘अहिलेसम्म नेपाली बक्सिङ इतिहासमा कुनै पनि खेलाडीले विश्व च्याम्पियनसिपको सेमिफाइनलमा स्थान सुरक्षित गरेका थिएनन्, आज चन्द्रले कास्य हात पारेका छन्,’ प्रशिक्षक महर्जनले नयाँ पत्रिकासँग भने, ‘यो ऐतिहासिक क्षण हो ।’

खेलाडीका रुपमा महर्जनले पनि विश्व च्याम्पियनसिपमा सहभागिता जनाएका थिए । तर, उनले राम्रो नतिजा निकाल्न सकेनन् । आफैले प्रशिक्षण गरेका खेलाडीले गुरुको सपना पूरा गरेको क्षणमा महर्जन भावुक बने । ‘कुनै समयमा मैले पनि विश्व च्याम्पियनसिपमा पदक जित्ने सपना देखेको थिएँ ।  त्यो सपना मैले पूरा गर्न सकिन तर मेरो प्रशिक्षणमै खेलाडीले कास्य जित्न त्यो भन्दा ठूलो क्षण अरु हुन सक्दैन,’ उनले भने, ‘एक किसिमले गुरुको सपना चेलाले पुरा गरेका छन् ।’ महर्जनले खेलाडीका रुपमा सन् २०१० मा चीनकाे ग्वाङझाउमा भएको एसियन खेलकुद प्रतियोगितामा कास्य पदक हात पारेका थिए । 

चन्द्र मिसन २०२६ मा प्रशिक्षणरत 
राष्ट्रिय खेलकुद परिषद्ले आगामि वर्ष जापानमा हुने एसियन खेलकुद प्रतियोगिताको तयारीका रुपमा मिसन २०२६ को क्याम्प सञ्चालन गर्दै आइरहेको छ ।

यस क्याम्पमा चन्द्रबहादुर समावेश छन् । उनी घरेलु प्रतियोगिता नेपाल पुलिस क्लबबाट प्रतिस्पर्धा गर्छन् । रोल्पाका उनले दाङको अल्फा बक्सिङ क्लबबाट उनले ०७४ सालमा बक्सिङ करिअर सुरु गरेका थिए । चन्द्रबहादुरले सातौँ र आठौं राष्ट्रिय खेलकुदमा कास्य हात पारेका थिए । त्यसपछि पोखरामा ०७९ मा भएको नवौं राष्ट्रिय खेलकुदमा उनले  स्वर्ण जितेका थिए । 

एसियन र ओलम्पिकमा पदक जित्ने लक्ष्य 
आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा पदक जित्ने सपना पूरा भएको चन्द्रबहादुरले बताएका छन् । उनले अखवको लक्ष्य एसियन खेलकुद तथा ओलम्पिकमा पदक जित्ने लक्ष्य रहेको जनाए । ‘सेमिफाइनलमा राम्रा खेलाडीबाट पराजित भए तर नेपाललाई ऐतिहासिक रुपमा कांस्य दिलाउन पाउँदा निकै खुसी छु,’ चन्द्रबहादुले भने, ‘मेरो ठूलो सपना पूरा भएको छ । विश्व च्याम्पियनसिपमा पदक जित्नु मेरा लागि एउटा सपना थियो ।’ उनले भने, ‘अब एसियन, ओलम्पिकमा पदक जित्ने लक्ष्य रहेको हो ।’ 

लालबहादुर क्वार्टरफाइनलमा रोकिए
प्रतियोगितामा चन्द्रबहादुरसँगै अन्य नेपाली खेलाडीले समेत प्रतिस्पर्धा गरेका थिए । ४८ केजी तौलका लालबहादुर उप्रेती क्वाटरफाइनलबाट बाहिरिएका छन् । उनी काजकिस्तानका तेमिरतास जुसुपोभासँग ५–० ले पराजित भए । लालबहादुरले अन्तिम आठको स्थान सुरक्षित गर्न इथियोपिया र माल्दोभाका बक्सरलाई हराएका थिए । क्वार्टरफाइनलमा पुगेका उनले १० हजार डलर पुरस्कार पाएका छन् । प्रतियोगितामा नेपालका ५ बक्सरले भाग लिएका थिए ।

सुझावित समाचार