उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीबाट उम्मेदवार हुन इच्छुकहरुसँग आवेदन मागेको छ। बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै उज्यालो नेपालले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उम्मेदवारीका लागि आवेदन आह्वान गरेको हो।
इमानदार, स्वच्छ छवि भएका, आफ्नो क्षेत्रमा सकारात्मक योगदान दिँदै आएका र समाजमा विश्वसनीय पहिचान बनाएका नागरिकलाई आवेदन दिन आग्रह गर्दै विज्ञप्तीमा भनिएको छ, ‘जेन–जी आन्दोलनबाट प्राप्त भएको ऊर्जा र नयाँ पुस्ताको नेतृत्व सम्भावनालाई संस्थागत गर्दै आर्थिक रूपान्तरण, सुशासन र सामाजिक न्यायलाई अगाडि बढाउने उद्देश्यले सर्वसाधारणबाट खुला आवेदन आह्वान गरिएको छ।’
आवेदनका लागि संविधान र कानुनले तोकेको योग्यता पूरा गरेको, कुनै संवैधानिक वा कानुनी अयोग्यतामा नपरेको, आपराधिक कसूरमा अदालतबाट दोषी नठहरिएको र कानुनले तोकेको सीमाभित्र रहेर पारदर्शी ढंगले चुनावी खर्च गर्ने प्रतिबद्धता जनाउनु पर्ने बताइएको छ।
उम्मेदवार आवेदन फारम उज्यालो नेपाल पार्टीको आधिकारिक वेबसाइटमार्फत डाउनलोड गरी अनलाइनबाटै बुझाउन सकिने विज्ञप्तीमा उल्लेख छ।
