भोजपुरको षडानन्द नगरपालिका–१२ दुखिडाँडास्थित भित्री सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। दुर्घटनामा परि चालक मोहन तामाङसहित ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरिक्षक धनबहादुर राजवंशीले बताए। उनका अनुसार, बुधबार साँझ करिब पौने ६ बजे दुखिडाँडास्थित भित्री सडकखण्डमा बोलेरो जिप दुर्घटना भई जिल्ला अस्पताल खाँदबारीमा उद्धार गरि उपचारका लागि ल्याएका थिए।
घाइते ११ जनामध्ये गम्भीर अवस्था भएका सात जनालाई थप उपचारका लागि बिहीबार रिफर गरिएको प्रहरी निरिक्षक राजवंशीले बताए। उनका अनुसार, चालक मोहन तामाङ, संगीता कार्की, कमला श्रेष्ठ, अंकित चौधरी, मेनुका दर्जीलाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा क्याम्प रिफर गरिएको छ भने ज्ञानबहादुर लिम्बू र खेमराज श्रेष्ठलाई विराटनगर रिफर गरिएको छ। गम्भीर घाइतेहरुको शरीरको विभिन्नको भागमा चोटपटक लागेको छ।
सामान्य अवस्था रहेका तेन्जिङ भोटे, रितेङबुक भोटे, कुमारी थापा र विष्णु ढकालको खाँदबारी अस्पतालमानै उपचार भइरहेको प्रहरीले जनाएको छ। षडानन्द नगरपालिकाको झ्याउपोखरीबाट तुर्केतर्फ जाँदै गरेको मे १ ज ३०६६ नम्बरको बोलेरो जिपको ब्रेक फेल भई करिब १५० मिटर तल खसी पल्टिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।