सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले लैंगिक हिंसा नियन्त्रण र पीडितको संरक्षणका लागि राज्यका सबै निकाय सक्रिय रूपमा लाग्नुपर्ने बताएका छन् । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा सञ्चारिका समूहले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री खरेलले लैंगिक हिंसा केवल व्यक्तिगत घटना नभई सामाजिक संरचना र असमानताबाट पैदा भएको गम्भीर समस्या भएकाले यसको समाधानमा सबै निकाय सक्रिय हुनुपर्ने बताएका हुन्।
उनले हिंसा रोकथाम, पीडित पुनर्स्थापना र न्याय सुनिश्चिततामा सरकारले प्राथमिकता राख्दै आएको पनि कार्यक्रममा बताए । मन्त्री खरेलले समान अधिकार र अवसरको सुनिश्चितताविना न्यायपूर्ण समाज निर्माण हुन नसक्ने र लैङ्गिक हिंसा अन्त्यलाई राष्ट्रिय लक्ष्यको रूपमा अघि बढाउनुपर्ने जोड दिए।
कार्यक्रममा मन्त्री खरेलले पत्रकारिता क्षेत्रमा सक्रिय महिलाले सामाजिक परिवर्तनको अभियानमा महत्वपूर्ण भूमिका खेलेको भन्दै राजनीतिमा पनि उनीहरूको नेतृत्व बढ्नु आवश्यक रहेको बताए। उनले महिलालाई नीति—निर्माण तहसम्म पुर्याउन राज्य तथा समाज दुवैले वातावरण बनाउनुपर्ने सुझाव दिए।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले नेपालमा डिजिटल हिंसाका घटनामा उल्लेखनीय वृद्धि भएको बताएकी छन्। उनले इन्टरनेटको पहुँच बढेसँगै अनलाइन दुरुपयोग र डिजिटल हिंसाका नयाँ रूपहरू देखा परिरहेको उल्लेख गरिन्।
सञ्चारिका समूहकी अध्यक्ष कमला पन्थीले देशभर दर्ता भएका हिंसात्मक घटनाका तथ्यांक सार्वजनिक गर्दै अहिलेको अवस्था निकै चिन्ताजनक र डर लाग्दो रहेको बताइन् । उनले हिंसा न्यूनीकरणका लागि पत्रकारिता, नागरिक समाज र राज्य संयन्त्रबिच समन्वय आवश्यक रहेको बताइन्।