काठमाडौं विश्वविद्यालयमा दुई हजार २०९ विद्यार्थी दीक्षित

बुधबार, २५ मंसिर, २०८२
डिजिटल संस्करण

काठमाडौं विश्वविद्यालय (केयू)को ३१औँ दीक्षान्त समारोहको पहिलो चरणमा दुई हजार २०९ विद्यार्थी दीक्षित भएका छन्। बुधबार प्रधानमन्त्री तथा विश्वविद्यालयकी कुलपति सुशीला कार्कीको अध्यक्षता तथा नयाँ दिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालयकी उपकुलपति प्राध्यापक शान्तिश्री धुलिपुडी पण्डितको प्रमुख आतिथ्यतामा विद्यार्थी दीक्षित भएका हुन्।

समारोहमा विश्वविद्यालयको स्कुल अफ आर्टस्का ८३ जना, स्कुल अफ एजुकेसनका २९४, स्कुल अफ इन्जिनियरिङका ३४०, स्कुल अफ लका ३६, स्कुल अफ म्यानेजमेन्टका ३७८, स्कुल अफ मेडिकल साइन्सेजका ८८१ र स्कुल अफ साइन्सका १९७ विद्यार्थी दीक्षित भएका छन्।

दीक्षितमध्ये पिएचडी, डिएम र एमसिएच तहका ७ जना, स्नातकोत्तर तहका ३९७ जना, पिजिडी तहका ५० जना र स्नातक तहका एक हजार ७२८ जना छन्। ५२.२४ प्रतिशत (एक हजार १५४ जना) पुरुष र ४७.७६ प्रतिशत (एक हजार ५५ जना) महिला दीक्षित भएका छन्। दीक्षितमध्ये अस्ट्रेलिया, अस्ट्रिया, बंगलादेश, भुटान, बेलायत, भारत, जापान, मलेसिया, माल्दिभ्स, मेक्सिको, नामिबिया, रुस, स्पेन, श्रीलंका, स्विडेन, संयुक्त राज्य अमेरिका र भियतनाम गरी १७ देशका १९६ जना विदेशी छन्।

काठमाडौं विश्वविद्यालयबाट पहिलोपटक स्कुल अफ साइन्सेजअन्तर्गत मास्टर्स अफ फिलोसोफी बाई रिसर्च इन म्याथम्याटिक्समा एकजना र ब्याचलर अफ साइन्स इन एग्रिकल्चरमा २९ जना दीक्षित भएका छन्। त्यसैगरी, स्कुल अफ मेडिकल साइन्सेजअन्तर्गत पहिलोपटक मास्टर्स अफ मेडिकल रिसर्चमा २० जना दीक्षित भएका छन्।

३१औँ दीक्षान्तको पहिलो चरणसम्म काठमाडौं विश्वविद्यालयबाट दीक्षितको संख्या ५० हजार ४० जना पुगेको छ। तीमध्ये विदेशीको संख्या ५ हजार ८६० अर्थात् करिब १२ प्रतिशत रहेको छ।

सुझावित समाचार