प्राज्ञिक व्यक्तिलाई कुलपति बनाउने व्यवस्थाको लागि गृहकार्य हुँदै छ : प्रधानमन्त्री कार्की

बुधबार, २४ मंसिर, २०८२
डिजिटल संस्करण

प्रधानमन्त्री तथा केयूकी कुलपति सुशीला कार्कीले प्राज्ञिक व्यक्तिलाई विश्वविद्यालयको कुलपति बनाउने व्यवस्थाको लागि गम्भीर परामर्श र गृहकार्य भइरहेकोे बताएकी छिन्। विश्वविद्यालयहरूको कुलपति प्रधानमन्त्री हुने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने आवश्यकताको बोध भएपछि ऐन संशोधन गरी प्राज्ञिक व्यक्ति विश्वविद्यालयको कुलपति हुने व्यवस्था गर्न आफूहरू लागेको उनको भनाइ छ।

बुधबार काठमाडौं विश्वविद्यालय (केयू)को ३१औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सो कुरा बताएकी हुन्। यस विषयमा शिक्षामन्त्री महावीर पुनको नेतृत्वमा शिक्षाविद् र सरोकारवालाहरूसँग गम्भीर परामर्श र गृहकार्य भइरहेको उनले प्रस्ट पारिन्। यसले नेपालको उच्च शिक्षामा राजनीति गर्ने परम्परालाई अन्त्य गर्ने उनको विश्वास छ।

केयूको शैक्षिक सुधारलाई अन्य विश्वविद्यालयले पनि अनुसरण गर्नुपर्ने प्रधानमन्त्री कार्कीले बताइन्। विदेशी विद्यार्थीलाई सिधै भिसा उपलब्ध गराउने विषय छलफलमा उठेको जानकारी दिँदै उनले थप अध्ययन र छलफल गरेर निर्णयमा पुग्ने बताइन्।

समारोहका प्रमुख अतिथि तथा नयाँ दिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालयका उपकुलपति प्राध्यापक शान्तिश्री धुलिपुडी पण्डितले नेपालको शिक्षा क्षेत्रमा काठमाडौं विश्वविद्यालयले उल्लेखनीय काम गरेको बताइन्। विश्वविद्यालय नेपालमा मात्र नभई विदेशी विद्यार्थीहरूको आकर्षणको केन्द्र बन्दै गएको उनको भनाइ थियो।
 

See More On

सुझावित समाचार