बुबाको सम्झनामा छोराले गरे क्रिकेट प्रतियोगिता

बुधबार, २५ मंसिर, २०८२
डिजिटल संस्करण

अछाम कालिकाको सुगालीका सुरज रावलले आफ्ना स्वर्गीय बुबा गोकर्ण रावलको स्मृतिमा जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरेका छन्।अष्ट्रेलियामा रोजागरी गर्दै आएका उनले ४५ दिनको विदामा घर फर्किएर प्रतियोगिता सुरु गरेका हुन्। जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका–५ कालिकाका स्वर्गीय रावलको सुगाली स्थित थालाकोट खेल मैदानमा अरिङ्गालले टोकेर केहि वर्षअघि ज्यान गएको थियो।

जिबी फाउन्डेशन स्थापना गरेर अष्ट्रेलियाबाटै योजनाका साथ घर फर्किएका सुरजले बुबाको घटना भएकै स्थान थालाकोट खेल मैदानमा जिल्लाभरका १२ टिमको सहभागीतामा क्रिकेट प्रतियोगिता गराइरहेका छन्। २२ वर्ष मुनिका १२ समुह बिच प्रतिश्पर्धा गराएर क्रिकेटको विकास, भविष्य र यसप्रति समर्पित युवाहरुलाई हौसला दिनेगरी खेल आयोजना गरेको प्रति बन्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेकबहादुर साउदले धन्यवाद दिए।

खेलको उद्घाटनका लागि थालाकोट पुगेका अध्यक्ष साउँदले एकजना व्यक्तिले यति ठुलो आट गरेको प्रति प्रशंसा गर्दै गाउँपालिकाले समेत क्रिकेट खेलकै लागी बजेट व्यवस्थापन गरेको र आउँदो हिउँदे गाउँसभाबाट थप बजेट छुट्याएर क्रिकेट खेलको विकास गरिने बताए । अध्यक्ष साउदले समृद्ध गाउँपालिका निर्माणका क्रममा खेलकुद संगै शिक्षा, स्वास्थ्य, खानेपनी र अन्य विकास निर्माणमा उलेखनीय प्रगति भइरहेको भएपनि केहि व्यक्तिले सामाजिक सञ्जालमार्फत भ्रम छरेर बदनाम गराइरहेको प्रति आपति जनाएका छन् ।

मंगलसेन नगरपालिकाका उपप्रमुख संगीता रावल सोडारीले  युवा शक्ति देशको मेरुद्दण्ड भएकाले गाउँ हुँदै प्रदेश, संघ र अन्तराष्ट्रिय स्तरसम्म पहुँच विस्तार गर्न खेलाडीहरुलाई आग्रह गरिन् । सुगालीका अगुवा दानबहादुर रावलका अनुसार ठुलो मिहेनतका साथ थालाकोट खेल मैदानको स्थापना गरिएको हो । अब यही खेल मैदानबाट अन्तराष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने धोको रहेको उनले बताए ।

स्वर्गीय गोकर्ण रावलका जेठा छोरा डाक्टर लब रावलका अनुसार देश बलियो बनाउन युवा बलियो बन्नुपर्ने भएकाले खेलको माध्यमबाट सकारात्मक उर्जा दिन क्रिकेट प्रतियोगिता आयोजना गरिएको हो। यस्तो उर्जाले एकता ल्याउने र त्यसले बाहीरी हस्तक्षेप हुन नपाउने उनले बताए। जीबी फाउन्डेशनका संस्थापक सुरज रावलले आफ्ना बुबाको सम्झना सँगै गाउँको पहिचान बिस्तारका लागी दूर बस्तिमा पुगेर क्रिकेट प्रतियोगिता आयोजना गरेको बताए । उनले यो प्रतियोगितामा १२ लाख खर्च हुने समेत उल्लेख गरे । यो प्रतियोगिताका लागि फाउन्डेशनलाई मन्त्र एजुकेशन एण्ड माइग्रेशन, सिर्जना टेडर्स र एनआरएनए युथ मञ्च लगायतले सहयोग गरेका छन् ।  
 

सुझावित समाचार