भन्सार एजेन्टको आन्दोलनका कारण देशैभरको भन्सार जाँचपास ठप्प भएको छ । भन्सार एजेन्ट महासंघ नेपालको आह्वानमा सोमबार एजेन्टहरूले देशैभरका भन्सार कार्यालयहरूमा पेनडाउन गरेपछि भन्सार जाँचपासका सम्पूर्ण काम ठप्प भएको हो । यसले राजस्व र व्यापार प्रभावित भएको छ ।
२१ मंसिरबाट लागू भएको भन्सार ऐन, २०८२ मा भएका केही प्रावधानको विरोधमा एजेन्टहरूले पेनडाउन गरेका बताएका छन् । उनीहरूले नयाँ भन्सार ऐनले अन्तर्राष्ट्रिय व्यापार र भन्सार प्रक्रियालाई सहजीकरण गर्नुको साटो भन्सार एजेन्ट पेसा–व्यवसाय एवं आमउद्योगी–व्यावसायीलाई हतोत्साहित बनाउने जिकिर गरेका छन् ।
एजेन्टहरूले आइतबार वीरगन्ज भन्सार कार्यालयबाट विरोध सुरु गरेका थिए । उनीहरूले सोमबार भैरहवा भन्सार ठप्प पारे । मंगलबार भने देशैभरका भन्सार कार्यालय ठप्प पारिएको छ । बुधबार पनि पेनडाउन गर्ने महासंघले जनाएको छ । भन्सार जाँचपास नहुँदा देशैभरका भन्सार कार्यालयवाट राजस्व असुली हुन सकेको छैन । भन्सार विभागले भने एजेन्टका जायज माग सम्बोधन गर्न तयार रहेको भन्दै आन्दोलन फिर्ता लिन आग्रह गरेको छ ।
भन्सार जाँचपासमा हुने ढिलासुस्ती, भन्सार स्वचालन प्रणालीमा हुने सर्भर समस्या एवं राजस्व भुक्तानी, क्वारेन्टिनलगायतका समस्याबारेमा भन्सार विभागसमक्ष ताकेता र समन्वय गर्दासमेत समाधान नभएपछि आन्दोलन गर्न बाध्य भएको महासंघका केन्द्रीय सदस्य उमेश घिमिरेले दाबी गरे । मुख्य माग भने ऐन र नियमावलीमा प्रावधानकेन्द्रित रहेको उनले बताए ।
विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले भन्सार एजेन्टका आन्दोलनले सरकार, उद्यमी–व्यवसायी र स्वयं एजेन्टलाई नै नोक्सान हुने भएकाले वार्ताका माध्यमबाट समस्याको समाधान रोज्नुपर्ने बताए । ‘ऐनमा राखिएका प्रावधान विभागले संशोधन गर्न सक्दैन, त्यो संसद्ले मात्रै गर्ने हो, यद्यपि हामीले बजेटमार्फत आवश्यक सम्बोधनका लागि मन्त्रालयलाई जानकारी गराउने भनेकै छौँ,’ उनले भने, ‘अरू भन्सार सुधारका कुरा त हाम्रो नियमित काम हो, हामी सुधारका काममा प्रतिबद्ध छौँ ।’
महासंघले भने नयाँ भन्सार नियमावलीमार्फत आफ्ना माग सम्बोधन गर्ने प्रतिबद्धता नआएसम्म आन्दोलन जारी रहने बताएको छ । भन्सार ऐनको दफा ७० मा जरिवाना तथा सजाय तोकेको छ । जसअनुसार ऐनअनुसारको कसुर गरेमा वस्तु जफत, बिगोबराबरको जरिवाना र पाँच वर्षसम्मको कैद सजाय हुने व्यवस्था गरिएको छ । वस्तुको विवरण फरक पारी घोषणा गरिएमा दुई सय प्रतिशतसम्म जरिवाना गरी लाग्ने महसुल लिएर भन्सार जाँचपास गरिने व्यवस्थासमेत गरिएको छ । ऐनले तोकेका जरिवानाविरुद्धमा एजेन्टहरू आन्दोलित भएका हुन् ।
नेपाल उद्योग वाणिज्य संघ, काठमाडौंले मंगलबार विज्ञप्ति जारी गरी भन्सार एजेन्टको आन्दोलनमा समर्थन जनाउँदै समस्या समाधानको प्रभावकारी कदम चाल्न सम्बन्धित निकायलाई आग्रह गरेको छ । ‘हाल देशभरका केही भंसार कार्यालयको भन्सार प्रणालीमा देखापरेको प्राविधिक अवरोध, सेवा–प्रवाहमा देखिएका ढिलाइ तथा डिजिटल प्रणालीको अस्थिरताका कारण भन्सारको दैनिक कार्यमा प्रभावित भएकोमा यस संघको ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
दैनिक पाँच अर्बको व्यापार र सवा एक अर्बको राजस्व प्रभावित
चालू आर्थिक वर्षको पहिलो चार महिनामा सात खर्ब दुई अर्ब ९४ करोड ७० लाख रुपैयाँबराबरको अन्तर्राष्ट्रिय व्यापार भएको छ । यसलाई आधार मान्दा पछिल्ला चार महिनामा मासिक औसत एक खर्ब ७५ अर्ब ७३ करोड रुपैयाँबराबर र दैनिक औसत पाँच अर्ब ८६ करोड ७८ लाख रुपैयाँबराबरको व्यापार हुँदै आएको छ । यस अवधिमा सरकारले एक खर्ब ५७ अर्ब २७ करोड ७८ लाख भन्सार राजस्व संकलन गरेको छ । यसलाई आधारभन्दा हाल मासिक औसत ३९ अर्ब ३१ करोड र दैनिक एक अर्ब ३१ करोड भन्सार राजस्व संकलन भइरहेको छ । भन्सार एजेन्टको आन्दोलनले दैनिक पाँच अर्बको व्यापार र सवा एक अर्बको राजस्व प्रभावित भएको छ ।
मंगलबारको वार्ता निष्कर्षविहीन
भन्सार विभागका महानिर्देशक र भन्सार एजेन्ट महासंघका प्रतिनिधिबीच मंगलबार भएको वार्ता निष्कर्षविहीन भएको छ । बुधबार पुन: छलफल गर्ने गरी वार्ता टुंगिएको हो । मंगलबारको वार्तामा एजेन्टका जायज माग सम्बोधन गर्ने प्रतिबद्धता गरे पनि एजेन्टहरू सहमतिमा नआएको विभागका महानिर्देशक भण्डारीले बताए । ‘एजेन्टका कतिपय मागप्रति हामी सकारात्मक छौँ, विभागले पूरा गर्न नसक्ने माग मन्त्रालय पठाउँछौँ, तपाईंहरू आन्दोलन फिर्ता लिनुस् भनेका थियौँ,’ उनले भने, ‘उहाँहरू सकारात्मक देखिनुभएको थियो, आन्दोलन फिर्ता गरेको जानकारी गराउँछौँ भन्नुभएको थियो, आशा गरौँ, बुधबार काम नियमित हुनेछ ।’ तर, महासंघका कार्यकारी सदस्य घिमिरेले भने नयाँ भन्सार नियमावलीमार्फत हाम्रा माग सम्बोधन गर्ने र अन्य सुधारका काम अघि बढाउने विषयमा ठोस सहमति नजुट्दा वार्ता सफल नभएको बताए । उनले यस विषयमा विभाग सहमत भए आन्दोलन रोकिने बताए ।