कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणको कामलाई तीव्रता दिएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिले पुस अन्तिम साता महाधिवेशन सम्पन्न गर्ने गरी मिति तोकेसँगै क्रियाशील सदस्यताको कामलाई तीव्रता दिइएको हो । सदस्यता टुंग्याउन शीर्ष नेताहरू नै सक्रिय भएका छन् ।
अहिलेसम्म साढे सात लाख नयाँ क्रियाशील सदस्यता फाराम केन्द्रबाट वितरण गरिसकिएको छ । यसअघि केन्द्रीय कार्यालयले नवीकरण फारामसँगै निर्वाचन क्षेत्रमा २५ प्रतिशत बढाएर फाराम पठाएकोमा गत केन्द्रीय कार्यसमितिले क्रियाशील सदस्यको अनुपातमा शतप्रतिशत नयाँ सदस्यता वितरण गर्ने निर्णय गरेसँगै थप फाराम पठाइएको छ । नवलपरासीले फाराम लगेको छैन भने चितवन र झापाले पनि थोरै मात्र फाइल लगेको एक नेताले बताए । अन्य जिल्लामा भने फाराम गइसकेको छ ।
क्रियाशील सदस्यताको विषयमा कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले जिल्ला सभापतिहरूसँग बुधबार भर्चुअल छलफल गर्ने भएका छन् । क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणबारे भइरहेका काम, राष्ट्रिय सभा र प्रतिनिधिसभा प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवार सिफारिसलगायत विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।
बुधबार बिहान ८ बजेदेखि ७७ जिल्ला सभापतिहरूसँग कार्यवाहक सभापति र दुवै महामन्त्रीले भर्चुअल छलफल गर्ने क्रियाशील सदस्यता व्यवस्थापन समितिका प्रकाश स्नेहीले जानकारी दिए । ‘भोलि बिहान ७७ वटै जिल्लाका सभापतिहरूसँग कार्यवाहक सभापति र महामन्त्रीद्वयले भर्चुअल छलफल गर्दै हुनुहुन्छ,’ उनले भने । छलफलका लागि आइडी र पासवर्ड दिइसकिएको छ । छलफलमा समितिका सदस्यहरू योगेन्द्र चौधरी, सीता गुरुङ र प्रकाश स्नेही पनि सहभागी हुनेछन् । समितिको संयोजक महामन्त्री थापा छन् ।
जिल्ला सभापतिसँगको छलफलपछि क्षेत्रीय सभापतिहरूसँग छलफल गर्ने तयारी छ । क्षेत्रीय सभापतिहरूसँग पनि भर्चुअल छलफल हुनेछ । क्रियाशील सदस्यता नवीकरण र वितरणमा उदारतापूर्वक सहजीकरण गर्न परिपत्रसमेत गरिएको छ । सदस्यता नवीकरण टोलदेखि वडा हुँदै पालिका, निर्र्वाचन क्षेत्र र जिल्ला हुँदै केन्द्रमा आउनेछ । सदस्यता नवीकरण र वितरणमा चित्त नबुझे केन्द्रमा निवेदन दिन सक्नेछन् । कांग्रेसले १५औँ महाधिवेशन २६ देखि २८ पुसमा सम्पन्न गर्ने कार्यतालिका छ । क्रियाशील सदस्यता टुंग्याएपछि १६ पुसदेखि वडा अधिवेशन हुँदै छ ।
सदस्य बन्न लचिलो प्रावधान
कांग्रेसले क्रियाशील सदस्य बन्न लचिलो प्रावधान राखेको छ । क्रियाशील सदस्यबाटै महाधिवेशन प्रतिनिधि छानिन्छन् । महाधिवेशन प्रतिनिधिले महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान गर्छन् । कांग्रेसमा क्रियाशील सदस्यताको विवाद कायमै छ । कांग्रेसले १४औँ महाधिवेशनमा शतप्रतिशत नयाँ क्रियाशील सदस्यता बढाउने निर्णय गरेको थियो । जसअनुसार १४औं महाधिवेशनमा शतप्रतिशत बढाउने क्रममा क्रियाशील सदस्यको संख्या आठ लाख ७० हजार ८८४ पुगेको थियो । १५औँ महाधिवेशनको मिति तोकिँदा पनि क्रियाशील सदस्यताको विषय टुंगिएको छैन ।
कांग्रेसले यसपालि बढीभन्दा बढीलाई क्रियाशील सदस्यता वितरण गर्ने उद्देश्य राखिएको नेताहरूले बताएका छन् । जसअनुसार केन्द्रबाट नयाँ क्रियाशील सदस्यताको फाराम वितरण गरिसकिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । वडासम्म नयाँ क्रियाशील सदस्यता फाराम पठाएर संकलन हुँदै आउने नेताहरूले बताएका छन् ।