बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच सुनिश्चित गर्नु प्रदेश सरकारको विशेष प्राथमिकता रहेको बताएका छन् ।सिन्धुलीको तीनपाटन गाउँपालिकामा करिब १२ करोड रुपैयाँ लागतमा निर्माण भएको नयाँ नगर अस्पताल भवन उद्घाटन गर्दै उनले संविधानले शिक्षा र स्वास्थ्यलाई मौलिक अधिकारका रूपमा प्रत्याभूत गरेको स्मरण गराए । प्रदेश सरकार नागरिकको स्वास्थ्य अधिकारलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न प्रतिबद्ध रहेको उनको भनाइ छ ।
मुख्यमन्त्री बानियाँले रोगमुक्त समाज र निरोगी नागरिक बनाउन सरकारले प्राथमिक उपचारदेखि दीर्घ रोगसम्मको सेवा प्रभावकारी बनाउन थालेको बताए । उनले कुपोषण, सुगर, प्रेसर, बाथ, युरिक एसिड, थाइराइडलगायतका रोगबाट पीडित नागरिकलाई सरल तथा सहज सेवा उपलब्ध गराउन संरचना विस्तारसँगै सेवा गुणस्तरमा ध्यान केन्द्रित गरिएको जानकारी दिए ।युवाशक्तिलाई प्रविधिमैत्री बनाउँदै रोजगारी सिर्जना गर्ने दिशामा सरकारले काम गरिरहेको उल्लेख गर्दै मुख्यमन्त्री बानियाँले मुलुकमा भइरहेका विकास गतिविधिलाई सकारात्मक रूपमा नागरिकसम्म पुर्याउन सबैले भूमिका निर्वाह गर्नुपर्ने बताए ।
‘बाटो बनाइदिएर मात्र हुँदैन, नागरिकको खल्तीमा नोट कसरी आउँछ भनेर सीप र पूँजीको व्यवस्था गरिदिनुपर्छ’उनले भने । कार्यक्रममा विघटित प्रतिनिधिसभाका सदस्य श्याम घिमिरेले संसद् विघटनदेखि सरकार गठनसम्मका प्रक्रियालाई असंवैधानिक भएको दाबी गरे । यस्तै तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्ण थापा मगरले सीमित स्रोत साधन हुँदाहुँदै पनि पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिएको बताउँदै कृषि र पशुपालनजस्ता क्षेत्र पहिचान गरी नागरिकको आय वृद्धि हुने कार्यक्रम लागू गरिरहेको बताए । अध्यक्ष थापाले दुर्गम सडकका कारण विरामीले बाटैमा ज्यान गुमाउनुपर्ने अवस्थालाई अन्त्य गर्न प्रदेश सरकारसँग ठूलो अपेक्षा रहेको पनि उल्लेख गरे ।
करिब १२ करोड लागतमा सम्पन्न नगर अस्पतालको उद्घाटन कार्यक्रममा संविधानसभा सदस्य मोहन बराल,नेपाली कांग्रेस सिन्धुलीका पूर्वसभापति उज्वल बराललगायत स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाको उपस्थिति थियो ।