नयाँ ऐन लागू भएपछि भन्सार कार्यालयमा आयात–निर्यात प्रभावित

मंगलबार, २३ मंसिर, २०८२
डिजिटल संस्करण

नयाँ भन्सार ऐन कार्यान्वयनमा आएसँगै भन्सार एजेन्टहरूले काम ठप्प पारेपछि देशभरका भन्सार कार्यालयमा आयात–निर्यात गतिविधि प्रभावित भएको छ । 

भन्सार एजेन्टहरूले नयाँ ऐनका प्रावधानमा देखिएका ८–१० बुँदाका असहमति जनाउँदै काम बन्द गरेपछि आयात निर्यात प्रभावित भएको हो । 

एजेन्टहरुले भन्सारको काम बन्दबारे पूर्वजानकारी नगराइएकाले कार्यालयमा आउने व्यवसायी र आयातकर्ता समेत अलमलमा परेका छन । 

वीरगन्ज लगायत देशका भन्सार एजेन्टको हड्तालका कारण अधिकांश वस्तुको जाँचपास रोकिएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख प्रशासक विष्णुप्रसाद ज्ञवालीले बताए । उनका अनुसार आजदेखि भन्सार एजेन्टहरूले काम ठप्प गरेपछि दैनिक राजस्व असुली र व्यापार दुवै प्रभावित भएको अवस्था छ । भन्सार कार्यालयमा आजदेखि सामान्य औद्योगिक कच्चापदार्थ देखि उपभोग्य वस्तुसम्म धेरै सामानको क्लियरिङ बन्द भएको उनले बताए । 

एलपी ग्यास, पेट्रोल र डिजेल जस्ता वस्तुको जाँचपास प्रक्रियामा भन्सार एजेन्ट अनिवार्य रूपमा नलाग्ने भएकाले नरोकिएका प्रमुख भन्सार प्रशासक ज्ञवालीले बताए ।  

भन्सारमा एजेन्ट आवश्यक पर्ने लगभग अन्य सबै सामानको आयात–निर्यात प्रभावित भएका कारण  दैनिक करिब ७० करोड राजस्व उठाउनुपर्ने लक्ष्य प्रभावित भएको उनले बताए । 

सुझावित समाचार