सुदूरपश्चिमका दुई अस्ट्रेलियन फर्किए, भारत र पाकिस्तानका खेलाडी भित्रिए

मंगलबार, २४ मंसिर, २०८२
डिजिटल संस्करण
  • बिग बास खेल्न जोस ब्राउन र चोटका कारण क्रिस लिन आइतबार राति अस्ट्रेलिया फर्किएका छन् । सुदूरपश्चिमले उनीहरूको स्थानमा भारतका सेल्डन ज्याक्सन र पाकिस्तानका मुख्तर अहमदलाई अनुबन्ध गरेको छ ।

दोस्रो संस्करणको पहिलो क्वालिफायर मंगलबारदेखि सुरु हुँदै छ । सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स पहिलो क्वालिफायरमा प्रतिस्पर्धा गर्दै छन् । विराटनगरविरुद्ध खेल्नुअघि नै एनपिएलमै उत्कृष्ट फर्ममा रहेको सुदूरपश्चिमलाई धक्का लागेको छ । सुदूरपश्चिमलाई उपाधिको प्रमुख दाबेदार बनाएका अस्ट्रेलियन दुईजना खेलाडी आगामस् खेलमा हुनेछैनन् । क्रिस लिनन तथा जोस ब्राउनले बाँकी खेल गुमाएका छन् । उनीहरू दुवै अस्ट्रेलिया फर्किएका छन् । 

सुदूरपश्चिमले एनपिएलको छैटौँ खेलमा चितवनविरूद्ध ब्याटिङ गर्ने क्रममा क्रिस घाइते भएका थिए । उनले विराटनगरविरूद्ध समूह चरणको अन्तिम म्याच खेल्न सकेनन् । चोटकै कारण उनी प्लेअफबाट बाहिरिएको सुदूरपश्चिमले जनाएको छ । पहिलो क्वालिफायरमा स्कट कुगेलिन पनि हुनेछैनन् । 

उनी घाइते छन् । उनी पछिल्ला खेलमा थिएनन् । अस्ट्रेलियाको चर्चित बिग बासमा अनुबन्ध भएकाले ओपनर ब्राउन आइतबार राति घर फर्किएका थिए । सुदूरपश्चिमले ब्राउनको स्थानमा बाँकी खेलका लागि भारतका सेल्डन ज्याक्सनलाई अनुबन्ध गरेको छ । भारतका ३९ वर्षीय विकेटकिपर ब्याट्सम्यान ज्याक्सनसँग इन्डियन प्रिमियर लिग (आइपिएल) खेलेको अनुभव छ । उनले कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंग्लोरबाट खेलिसकेका छन् । ब्याक्सनले आइपिएलमा कोलकाताबाट नौ खेल खेलेका थिए । पछिल्लो समय उनले सौराष्ट्रबाट रणजी ट्रफी खेलेका थिए । 

ज्याक्सनले पहिलो श्रेणीमा १०६ खेल खेल्दै २१ शतक र ३९ अर्धशतक बनाएका छन् । सन् २०१२–१३ को रणजी ट्रफी सिजनमा उनले सौराष्ट्रबाट चार अर्धशतक र तीन शतक प्रहार गर्दै सनसनी मच्चाएका थिए । उनले २०१७ देखि २०२२ सम्म आइपिएलमा नौ खेलमा अवसर पाउँदा ६१ रन बनाएका थिए । उनले यसै वर्ष व्यावसायिक क्रिकेटबाट सन्न्यास लिएका हुन् । 

यसैगरी, सुदूरपश्चिमले पाकिस्तानको राष्ट्रिय टोलीबाट खेलिसकेका मुख्तर अहमदलाई भित्र्याएको छ । टी–२० फर्म्याटमा मख्तरले तीन शतकीय इनिङ्स खेलिसकेका छन् । पछिल्लो समय उनी अमेरिकाबाट व्यावसायिक क्रिकेट खेल्दै आएका छन् । अहमदले पाकिस्तानको राष्ट्रिय टोली र पाकिस्तान ‘ए’बाट पनि खेलेका छन् । उनीसँग ६ टी–२० अन्तर्राष्ट्रिय खेलेको अनुभव छ । पाकिस्तानका लागि दुई अर्धशतकको सहयोगमा उनले १ सय ९२ रन जोडेका छन् । 

See More On

सुझावित समाचार