- स्केयर बर्लिनकी स्वतन्त्र पत्रकार हुन् । उनका लेख न्युयोर्क टाइम्स, द एट्लान्टिक, अलजजिरा, गार्जियनलगायतमा प्रकाशित छन् ।
गत वर्ष डिसेम्बर ८ मा सिरियाका तानाशाह बसर असद देश छाडेर भागेसँगै असद परिवारको ५० वर्षभन्दा लामो शासन अन्त्य भयो । सन् १९७१ मा बसरका पिता हाफिज असदले सत्ता हत्याएपछि असद परिवारले निरन्तर सिरियामा शासन गर्यो । सन् २००० मा हाफिजको निधनपछि उनका छोरा बसरले सत्ता सम्हालेका थिए ।
असदको निरंकुश शासनविरुद्ध सन् २०११ देखि विद्रोह सुरु भएको थियो । त्यो लगभग १४ वर्षसम्म क्रुर गृहयुद्धको रूपमा चल्यो । तर, डिसेम्बर ८, २०२४ मा विद्रोही सशस्त्र समूह ‘हयात तहरिर अल–साम (एचटिएस)’को नेतृत्वमा चलेको सैन्य अभियानसामु असद सरकार ११ दिन पनि टिक्न सकेन । अझ, विद्रोहीको सैन्य अभियानले सोचेभन्दा निकै कम मात्र प्रतिरोधको सामना गरेको थियो । विद्रोही फौज राजधानी दमासकस पसेपछि असद र उनको परिवार रुसतर्फ भागे । पछि जनवरीमा एचटिएस प्रमुख अहमद अल–सारा सिरियाको अन्तरिम राष्ट्रपति बने ।
सुरक्षा र स्थिरता : खण्डित परिदृश्य
सत्ता परिवर्तनपछिको परिपे्रक्ष्यमा अहिले हेलिकोप्टरबाट ब्यारेल बम फ्याँकिने कृत्य वा क्लिनिकमाथिको रुसी हवाई आक्रमण बन्द भएको छ । तर, संयुक्त राष्ट्र सुरक्षा परिषद् (युएनएससी)ले नोभेम्बरमा गरेको ब्रिफिङमा ‘सिरियाले अहिले खण्डित सुरक्षा परिदृश्यको सामना गर्नुपरेको’ उल्लेख गरिएको थियो ।
अहिले राजधानी दमास्कस तुलनात्मक रूपमा शान्त छ । अन्य भागमा पनि हिंसाको स्तर घट्दै गएको छ । नोभेम्बरको मध्यतिर देशमा हालसम्मकै न्यून हिंसा रेकर्ड भएको थियो । तथापि, नयाँ सरकारको नेतृत्वमा रहेको सैन्य बलले देशको सम्पूर्ण क्षेत्रमा नियन्त्रण कायम गर्न सकेको छैन । राष्ट्रिय सुरक्षा बल र देशका अल्पसंख्यक कुर्दिस र ड्रुज नजिकका समूहबिच छिटपुट झडप भइरहेको छ ।
उता, पुरानो सत्ता (असद) समर्थक सशस्त्र समूह पूरै नामेट भइसकेको छैन । विषम परिस्थितिमा उनीहरू भूमिगत रहेका छन् । त्यस्तै, अतिवादी ‘इस्लामिक स्टेट(आइएस)’ले पनि कमजोर सुरक्षा अवस्थाको फाइदा उठाउँदै पुनरुत्थानको प्रयास बढाएको छ । युरोपेली संघअन्तर्गतको शरणार्थीसम्बन्धी निकाय इयू एजेन्सी फर असाइलमको हालैको रिपोर्टले सिरियामा अझै ‘कानुनहीनता, आपराधिक घटना र प्रतिशोधात्मक हिंसाका घटना देखिएको’ उल्लेख छ ।
संक्रमणकालीन न्यायमा सरकारको बेवास्ता
पछिल्लो समय हुने गरेको हिंसाका घटनामा मुख्यत: असद शासनमा काम गरेका परिवार सदस्यप्रति लक्षित देखिन्छन् । यस्तो हिंसा घटाउन असदको शासनकालमा भएका अपराध पहिचान गरेर दण्डित गर्ने संक्रमणकालीन न्याय अघि बढाइहाल्नुपर्ने आवश्यक छ ।
मे महिनामा सिरिया सरकारले दुई स्वतन्त्र आयोग बनाएको थियो । तीमध्ये एउटा युद्धमा बेपत्ता भएका हजारौँ सिरियालीलाई फेला पार्नमा केन्द्रित छ । अर्को आयोगलाई असद शासनकालमा सरकारले गरेका अपराधको छानबिन गर्ने जिम्मेवारी दिइएको छ । वासिंटन डिसीस्थिति सिरिया जस्टिस एन्ड एकाउन्टाबिलिटी सेन्टर (एसजेएसी)को रिपोर्टअनुसार दुईमध्ये पहिलो सक्रिय छ भने दोस्रोले खासै काम गरेको छैन । विशेषत: केन्द्रीय सरकारबाट न्यून समर्थन रहेकाले सो समूह न्यून सक्रिय हुन सक्ने एसजेएसीले औँल्याएको छ ।
ह्युमन राइट्स वाचजस्ता समूहले सिरियाको राष्ट्रिय संक्रमणकालीन न्याय आयोग असदको सरकारले गरेका अपराधको अनुसन्धानमा मात्र केन्द्रित भएको भनेर आलोचना गरेका छन् । विशेषत: एचटिएस र यसका सहयोगीले गरेका अपराध बेवास्तामा परेकोतर्फ तिनले औँल्याएका छन् ।
संसदीय प्रतिनिधिका लागि निर्वाचन
सिरियाले यसै वर्षको सुरुमा संसदीय प्रतिनिधिका लागि निर्वाचन गर्यो । तुलनात्मक रूपमा स्वतन्त्र मानिएको चुनाव प्रत्यक्ष रूपमा उम्मेदवार चुन्न नभएर अमेरिकी राष्ट्रपति चुनावमा जस्तो निर्वाचन कलेज (इलेक्टर कलेज) चुन्न भएको थियो ।
उता, नयाँ संविधान नबनेसम्म अल–सारा अन्तरिम राष्ट्रपति रहने भनिएको छ । अहिले नयाँ संविधानको मस्यौदा बनाउने काम चलिरहेको छ । यस विषयमा परामर्शका लागि ‘राष्ट्रिय संवाद’समेत आयोजना भइरहेको छ । देशको भावी शासन पद्धतिलाई लिएर अन्तरिम सरकार र देशका विभिन्न समुदायबिच गम्भीर मतभेद देखिएको छ । अन्तरिम राष्ट्रपति रहेका अल–साराले आफूवरपर शक्ति केन्द्रीकृत गरेको र बिस्तारै निरंकुशजस्तै व्यवहार गर्न थालेका अलोचकले आरोप लगाएका छन् । तथापि, अहिलेका लागि विश्लेषकहरूले ‘पर्ख र हेर’ मनोवृत्ति कायम राखिरहेका छन् ।
‘सिरियामा अहिले नै लोकतन्त्रको कुरा गर्न धेरै चाँडो हुनेछ । तथापि, पछिल्लो समय बनेका नयाँ संस्थाले चुनावी राजनीतितर्फको पुन: प्रवेशको प्रतिनिधित्व गर्छन्,’ अरब सेन्टर वासिंटनकी फेलो प्याट्रिसिया करमले भनिन्, ‘यी विकासक्रमले सिरियालाई एक महत्वपूर्ण मोडमा उभ्याएको छ, देश वास्तविक सहभागितामूलक शासनतर्फ अघि बढ्ने वा पुन: अधिनायकवादमा प्रवेश गर्ने दुवै सम्भावनामा खडा छ ।’
विदेश नीति : बढ्दो परराष्ट्र संलग्नता
सिरियाले एक वर्षको अवधिमा सबैभन्दा ठुलो परिवर्तन देखेको क्षेत्र सम्भवत: विदेश नीति होला । विगतमा बन्द भएका विदेशी दूतावास धमाधम खुलेका छन् । विगतमा सिरियाली राष्ट्रपति असद विश्वबाट एक्लिएका थिए । तर, सिरियाली राष्ट्रपति अल–साराले यस अवधिमा कैयौँ देशको भ्रमण गरिसके ।
कुनै समय अलकायदासँग आबद्ध वर्तमान राष्ट्रपति अल–साराको नाम पश्चिमी देशको प्रतिबन्ध सूचीमा समावेश थियो । उनको टाउकोको मूल्य एक करोड डलर तोकिएको थियो । तर, सेप्टेम्बरमा उनै अल–सारा संयुक्त राष्ट्र सघंको महासभालाई सम्बोधन गर्न न्युयोर्क गए । नोभेम्बरमा उनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट गरे । यो भेट् सन् १९४६ पछि सिरियाली राष्ट्रपति पहिलो ह्वाइट हाउस भ्रमण थियो ।
सिरियाली अधिकारीले रुस र चीनसहित संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्का सबै पाँच स्थायी सदस्यसँग सम्पर्क कायम गरेका छन् । यसलाई सिरियाको विदेश नीति उलेख्य रूपमा व्यावहारिक बनेको संकेतको रूपमा हेरिएको छ । जस्तो– अक्टोबरमा अल–साराले असद शासनलाई शरण दिइरहेको रुसको भ्रमण गरेका थिए ।
हाल, सिरियाको सबैभन्दा ठुलो विदेश नीति समस्या छिमेकी इजरायलसँग देखिएको छ । इजरायलले केही सिरियाली भूभाग कब्जा गरेर बसेको छ । ‘इजरायली सैन्य कारबाहीको जोखिम बढेको छ । यसले नागरिकको जीवन खतरामा पार्छ, क्षेत्रीय तनाव बढाउँछ र कमजोर सुरक्षा वातावरणलाई थप कमजोर बनाउँछ । तिनले अन्तत: सिरियाको राजनीतिक संक्रमणलाई खतरामा पार्छ,’ सिरियाका लागि संयुक्त राष्ट्र संघका उपविशेष दूत नजत रोचदीले नोभेम्बरमा भने ।
विस्थापित फर्किंदै छन् भग्नावशेषयुक्त घरमा
युद्धको समयमा देश छाडेर भागेका धेरै सिरियाली पछिल्लो एक वर्षमा घर फर्किन थालेका छन् । पछिल्लो तथ्यांकका अनुसार झन्डै २९ लाख सिरियाली तिनका घर फर्किएका छन् । यसमा आन्तरिक रूपमा विस्थापितको संख्या १९ लाख छ भने विदेशबाट फर्केका दश लाखभन्दा बढी छन् । यसरी घर फर्किएकाहरूले विभिन्न समस्याहरूको सामना गर्नुपरेको छ । नर्वेजियन शरणार्थी परिषद्को तथ्यांकअनुसार ‘घर फर्किएका अधिकांशले पहिले घर भएको स्थानमा भग्नावशेषबाहेक केही भेटिँदैनन् । कतिपय ठाउँमा भग्नावशेषको थुप्रोमा मानिसलाई कसको घरजग्गा कुन हो भन्ने नछुट्टिँदा विवाद देखिएको छ ।’
नोभेम्बरमा अन्तर्राष्ट्रिय उद्धार समितिको एक रिपोर्टले देशभर ‘पानी आपूर्ति सञ्जालको आधाभन्दा बढी र पाँचमध्ये चार बिजुली ग्रिड या त नष्ट या काम नगर्ने अवस्थामा रहेको’ बताएको थियो । सिरियामा पुनर्निर्माणका लागि २५० अर्ब डलरदेखि ४०० अर्ब डलरसम्म लाग्ने अनुमान छ । अमेरिकास्थित सहायता संस्था, मर्सी कोप्र्सले बिजुली उत्पादनमा सुधार भएको पाएको छ । गत महिना सिरियाको आधिकारिक समाचार एजेन्सी क्सानाले देशभरका ८२३ विद्यालयको पुनर्निर्माण पूरा भएको अन्य ८३८ मा काम जारी रहेको बताएको थियो ।
अर्थतन्त्र : भौतिक सुधार ‘अझै महसुस हुन सकेको छैन’
युद्धमा विस्थापित भएर हाल घर फर्कनेमध्ये धेरैले रोजगारी भेट्टाउन संघर्ष गर्नुपरेको छ । लामो गृहयुद्धले देशकाको अर्थतन्त्र तहसनहस भएको छ । आज सिरियाका झन्डै एकचौथाइ जनता चरम गरिबीमा बाँचिरहेका छन् । यद्यपि, केही सुधार पनि देखिएको छ । यसै वर्ष जुलाईमा प्रकाशित विश्व बैंकको प्रतिवेदनले यो वर्ष सिरियाली अर्थतन्त्र एक प्रतिशतले बढ्ने अनुमान गरेको छ । अंकमा थोरै भए पनि लामो समय संकुचनमा गएको अर्थतन्त्रको लागि यो सुखद समाचार हो ।
पश्चिमले असदकालमा सिरियामाथि लगाएका अधिकांश प्रतिबन्धहरू स्थायी वा अस्थायी रूपमा हटाइएका छन् । यसले देशको थप आर्थिक पुनरुत्थानमा सहयोग पुर्याउन सक्छ । त्यसबाहेक, साउदी अरब र कतार अरब देशहरूले दिनसक्ने अर्बौं डलरको लगानीले आर्थिक सहयोग पुर्याउन सक्छ । तथापि, तहरिर इन्स्टिच्युट फर मिडल इस्ट पोलिसीले भने युद्ध सकिएको एक वर्षमा सरियालीले आफ्नो जीवनमा भौतिक प्रभाव महसुस गर्न नसकेको औँल्याएको छ ।
डिब्लुबाट