एकपटक अमेरिकाका राष्ट्रपति अब्राहम लिंकनले रक्षामन्त्रीमा आफ्ना कट्टर आलोचकलाई रोजे, जो जहिले पनि उनीविरुद्ध केही न केही बोलिरहन्थे । एक दिन राष्ट्रपति लिंकनका एक साथी उनलाई भेट्नका लागि आए र रक्षामन्त्रीको कुरा गर्दै उनले सोधे, ‘तपाईंले जुन मानिसलाई रक्षा मन्त्रालय सुम्पनुभएको छ, उसका बारेमा के तपाईंलाई राम्रोसँग थाहा छ ?’
‘हो थाहा छ, किन ? के भयो र ?’ राष्ट्रपतिले आश्चर्य मान्दै सोधे । तब ती सज्जनले भने, ‘हिजो एउटा सभामा उनले तपाईंमाथि व्यंग्य गर्दै भने, तपाईं हेर्दा दुब्लो–पातलो गुरिल्लाजस्तो देखिनुहुन्छ । हो यो सब मैले आज बिहानको समाचारपत्रमा पढिसकेँ ।’ योभन्दा पहिलाको सभामा उनले तपाईंलाई भाँडको उपाधि दिएका थिए,’
ती सज्जनले लिंकनलाई उकास्ने स्वरमा भने ।
‘हो, यो पनि मलाई थाहा छ,’ राष्ट्रपतिले मुस्कुराउँदै भने । यो सब सुनेपछि ती सज्जनले केही दिक्क मान्दै बोले, ‘उनले अनेकौँपटक यसरी तपाईंको अपमान गरिसकेका छन्, यो सब तपाईंलाई राम्ररी थाहा भएर पनि तपाईंले उनलाई यति महत्वपूर्ण पद सुम्पिनुभएको छ ।’ ‘अरे साथी, महत्वपूर्ण पदमा न बसाएको हो, कुनै गलत स्थानमा त होइन नि,’ राष्ट्रपतिले मुस्कुराउँदै भने ।
तर, ती सज्जन नराम्रोसँग रिसाउँदै बोले, ‘तर तपाईं किन बुझ्नुहुन्न कि यसले तपाईंको प्रतिष्ठा खराब हुन्छ ।’
‘मैले केही बुझ्नुअगाडि तपार्इं यो किन बुझ्नुहुन्न कि उनी एउटा योग्य प्रशासक हुन् । आफ्नो काम पूरा इमानदारी र निष्ठाले गर्छन् । रह्यो मेरो प्रतिष्ठाको कुरा, यो त मेरो देशलाई मेराबारे राम्रोसँग थाहा छ, म के हुँ । अनि म यस्ता सानातिना कुराका कारण देशलाई एउटा कुशल रक्षामन्त्रीको सेवाबाट किन वञ्चित गरौँ । मलाई निजी भक्त होइन, देशभक्तको आवश्यकता छ,’ राष्ट्रपतिले ती सज्जनलाई बुझाउँदै भने । यो सुनेर ती सज्जन त्यहाँबाट चुपचाप हिँडे ।