नेपाल मामिला हेर्ने भारतीय अतिरिक्त सचिव लुम्बिनीमा

सोमबार, २२ मंसिर, २०८२
डिजिटल संस्करण

नेपाल र भुटानसँगको द्विपक्षीय मामिला हेर्ने भारतीय विदेश मन्त्रालयमा अतिरिक्त सचिव मनु महावर लुम्बिनी पुगेका छन्। आइतबार अपराह्न नेपाल आएका उनी सोमबार लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयका कार्यक्रममा सहभागी भएका हुन्। उनले मंगलबार काठमाडौंमा उच्च सरकारी अधिकारी तथा परराष्ट्र मन्त्रालयका अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। 

महावरले मंगलबार नै प्रधानमन्त्री सुशीला कार्की, सरकारमा मन्त्रीहरू, परराष्ट्रसचिव अमृतबहादुर राईलगायतसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ। उनी बुधबार स्वदेश फर्किनेछन्। 
महावर भारतीय राजदूतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा लुम्बिनीमा आयोजना गरेको भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करणमा सोमबार सहभागी भए। कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले गरेका थिए। 

कार्यक्रममा महावरसँगै  लुम्बिनी विकास कोषका उपाध्यक्ष  डा. ल्हारक्याल लामा, भारतीय राजदूतावासका नियोग उप–प्रमुख डा. राकेश पाण्डे, नागरिक समाजका सदस्यहरू, शिक्षाविद्हरू, वरिष्ठ भिक्षुहरूका साथै लुम्बिनी विकास कोषका सदस्यहरू सहभागी थिए। 

महोत्सवको एक भागको रूपमा सोमबार बिहान लुम्बिनी बौद्ध विश्वविद्यालयमा ‘इन्डिया–नेपाल बुद्धिस्ट हेरिटेजः अ कमन लिगेसी’ शीर्षकको शैक्षिक गोष्ठी आयोजना भएको थियो। गोष्ठीमा  भारत र नेपालका प्रख्यात विद्वानहरू सहभागी थिए।

सुझावित समाचार