संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा २१ देखि २८ मंसिरसम्म सञ्चालन हुने एसियन युथ पारा गेम्समा नेपालकी पारा तेक्वान्दो खेलाडी रेनु तामाङले प्रतिस्पर्धा गर्ने भएकी छिन्। राष्ट्रिय खेलकुद परिषद्बाट सञ्चालित मिसन–०२६ को विशेष प्रशिक्षणमा रहेकी रेनुले के–४४ विधाको ४७ केजीमुनिको तौल समूहमा नेपालको चुनौती प्रस्तुत गर्नेछिन्।
प्रशिक्षकमा अन्तर्राष्ट्रिय लेभल टू प्रशिक्षक कविराज नेगी लामा सहभागी हुनेछन्। उनले २६ मंसिर शुक्रबार प्रतिस्पर्धा गर्नेछिन्।
रेनुले यसअघि मलेसियामा सम्पन्न भएको १०औँ एसियाली पारा तेक्वान्दो प्रतियोगितामा सहभागिता जनाएकी थिइन्। उनले केही समयअघि सम्पन्न १३औँ कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी थिइन्।
पारालिम्पिकको इतिहासमा नेपाललाई ऐतिहासिक पदक दिलाउन सफल प्रशिक्षक नेगीको प्रशिक्षणमा नेपालले ३ स्वर्ण, २ रजत र ७ कांस्यसहित १२ अन्तर्राष्ट्रिय पदक जितेको छ। उनकै प्रशिक्षणमा सन् २०२१ बहराइनमा भएको एसियन युथ पारा गेम्समा पारालिम्पियन पलेशा गोवर्धनले स्वर्ण पदक, सिर्जना घिसिङले रजत र विशाल गर्बुजाले कांस्य पदक जितेका थिए।
एथलेटिक्समा युथ पारा गेम्समा पुरुष खेलाडी मोहन रोका र विजय मुक्तान, टेबुलटेनिसमा महिला खेलाडी निर्मला भण्डारी, पुरुष खेलाडी स्वीकृत न्यौपाने र प्रशिक्षकमा वसन्त भारती रहेका छन् भने पावरलिफ्टिङमा मनीष पुन, यस युवा खेलकुदमा ओमनाथ सिवाकोटी सेभ द मिसनको रूपमा रहेका छन्। टोली मंसिर २१ गते प्रस्थान गरेको छ।