३१.८ ग्राम लागुऔषध ब्राउन सुगरसहित प्रहरीले पोखराबाट पाँचजनालाई पक्राउ गरेको जनाएको छ। जिल्लाका विभिन्न स्थानमा लागुऔषध बिक्री भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी कार्यालय कास्की, इलाका प्रहरी कार्यालय सिसुवा, कास्की र लागुऔषध नियन्त्रण ब्युरो पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले पोखराका तीन स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक गणेश पाण्डेका अनुसार पोखरा–३१, बेगनास बस्ने ३० वर्षका मिलन क्षेत्री र २१ वर्षका अतीत थापालाई १.८ ग्राम ब्राउनसुगर र मोबाइलसहित प्रहरी पक्राउ गरेको हो।
यस्तै, पोखरा–२७, रिठेपानी घर भई पोखरा–३० सिसुवा बस्ने २३ वर्षका हसन भण्डारीको घरमा लुकाइछिपाई राखेको ब्राउनसुगर ११ ग्राम बरामद गरेपछि अनुसन्धानका क्रममा भण्डारीसँगै संलग्न कास्की मादी गाउँपालिका–३ घर भई पोखरा–२७ सिसुवा बस्ने ३९ वर्षका उदिप गुरुङलाई पक्राउ गरेको पाण्डेले जानकारी दिए ।
पोखरा–२६ जलधारे बस्ने ४३ वर्षका बिक्की परियारलाई १९ ग्राम ब्राउनसुगर, डिजिटल मेसिन एक थान र मोबाइल एक थानसहित प्रहरीले पक्राउ गरेको जनाएको छ। पक्राउ परेका तीन टोलीबाट बरामद ब्राउनसुगर तौल गर्दा ३१.८ ग्राम हुन आएको पाण्डेले जानकारी दिए ।
पक्राउ पछि हाल प्रहरी नियन्त्रणमा रहेका उनीहरूलाई कास्की जिल्ला अदालतबाट लागुऔषधसम्बन्धी कसुरमा पाँच दिन म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।