वीरगन्जको सामुदायिक रेडियो नारायणी एफएमले आयोजना गरेको समाचारवाचन प्रतियोगितामा माधव तिमिल्सिना पहिलो भएका छन्। रेडियोको २०औँ वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको प्रतियोगितामा लक्ष्मी खरेल दोस्रो र सूर्यनारायण विक तेस्रो भएका छन्।
त्यसैगरी सुरेश बिडारी, बिमला गुप्ता र आर्जु देवकोटाले सान्त्वना स्थान हासिल गरेको रेडियो नारायणी एफएमका प्रबन्ध निर्देशक शिवनाथ यादवले जानकारी दिए। पहिलो भएका तिमिल्सिनाले २० हजार, दोस्रो भएकी खरेलले १५ हजार, तेस्रो भएका विकले १० हजार तथा सान्त्वना स्थान हासिल गरेका बिडारी, देवकोटा र गुप्ताले जनही पाँच–पाँच हजा रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेका छन्।
यस्तै, प्रतियोगितामा सहभागी वीरगन्ज पब्लिक कलेजका अमरप्रित कौर, वीरगन्ज कलेजकी फारिदा खातुन र ज्ञानदा एकेडेमीकी प्रार्थना अधिकारीलाई प्रोत्साहनस्वरूप जनही १५ सय रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको छ। प्रतियोगितामा २८ जना विद्यार्थीसहित १४ जना क्रियाशील पत्रकार सहभागी भएको आयोजक नारायणी एफएमले जनाएको छ।
प्रतियोगिताको मूल्यांकन लक्ष्मण कार्की, प्रतिमा चौधरी र सन्तोष देउजाले गरेका थिए। यस प्रधारका प्रतिस्पर्धाले नयाँ पुस्तालाई आकर्षण गराउनुका साथै बढाउनुका साथै कार्यरतलाई थप हौसला बढाउने निर्णायक कार्की बताउँछन्।
रेडियोप्रति नयाँ पुस्ताको आकर्षण बढाउन तथा समाचारवाचनमा संलग्न रेडियो पत्रकारलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको रेडियो नारायणी एफएमका अध्यक्ष गोविन्द देवकोटाले जानकारी दिए।
रेडियो नारायणी एफएमले सुरु गरेको यो प्रतियोगितालाई आगामी वर्ष अझ व्यवस्थित र देशैभरिबाट सहभागिता जनाउन मिल्ने गरी विस्तार गर्ने योजना रहेको सो रेडियोका कार्यकारी निर्देशक शिवनाथ यादवले बताए।