सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आयोजनामा चलचित्र सेन्सर बोर्डको कार्यविधि, समस्या र समाधानका उपायहरू विषयक एक महत्त्वपूर्ण छलफल कार्यक्रम आइतबार सञ्चार मन्त्रालयमा सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रममा माननीय सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, सचिव राधिका अर्याल तथा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको विशेष उपस्थिति रहेको थियो।
छलफल कार्यक्रममा चलचित्र क्षेत्रका विविध विधा प्रतिनिधित्व गर्ने चलचित्रकर्मीहरूको उल्लेखनीय सहभागिता रह्यो। कार्यक्रममा दीपकराज गिरी लेखक, प्रकाश सुवेदी पत्रकार, सुवास काफ्ले व्यवस्थापक, कृषा चौलागाईं निर्देशक र निर्माता, सरोज न्यौपाने निर्माता, विकास सुवेदी लेखक, करण श्रेष्ठ वितरक र निर्माता, दीपकप्रसाद आचार्य निर्देशक, क्षितिज सुवेदी व्यवस्थापक र निर्माता, रत्न श्रेष्ठ वितरक, राजबहादुर साने निर्देशक र निर्माता, पुरुषोत्तम प्रधान निर्माता र प्राविधिक, सागर लामिछाने निर्देशक, राज श्रेष्ठ विदेशी चलचित्र वितरक, शिवम अधिकारी लेखक, जनक खड्का निर्देशकलगायत सहभागी भएका थिए ।
यसैगरी, चलचित्र सेन्सर बोर्डका प्रमुख उदय रानामगर, चलचित्र विकास बोर्डका सदस्यसचिव राजेशकुमार थापा, तथा बोर्ड सदस्यहरू लोकनाथ सुवेदी र ममता बाँस्तोलाको पनि सहभागिता रहेको थियो।
छलफलका क्रममा चलचित्र सेन्सर प्रक्रियामा देखिएका व्यावहारिक चुनौतीहरू, स्पष्ट र पारदर्शी कार्यविधिको आवश्यकता, साथै चलचित्रमैत्री समाधानका उपायहरूबारे गहन र रचनात्मक विचार–विमर्श गरिएको थियो।
कार्यक्रमबाट प्राप्त भएका सुझावहरूलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत नीतिगत सुधारका लागि अध्ययन गरी आवश्यक कार्यविधि संशोधन गर्ने तथा ऐनमा समावेश गर्नुपर्ने विषयहरूलाई राष्ट्रिय सभामा सुझावका रूपमा प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
यस पहलले चलचित्र सेन्सर प्रणालीलाई समयानुकूल, सहज र चलचित्रमैत्री बनाउँदै नेपाली चलचित्र उद्योगको दिगो विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।