मोरङमा १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या आरोपमा छिमेकी ५९ वर्षीय व्यक्ति पक्राउ परेका छन्। मोरङको लेटाङ नगरपालिका– २ बुधबारेकी अंशु गौतमको बलात्कारपछि हत्या गरेको आरोपमा मोरङ प्रहरीले छिमेकी पदमबहादुर अधिकारीलाई पक्राउ गरेको हो।
अधिकारीले २१ असोजमा साथीसँग खेल्न जान्छु भनेर घरबाट निस्किएकी अंशुलाई फकाएर जंगलमा लगेर बलात्कार गरी हँसियाले घाँटी रेटेर हत्या गरेको आरोप छ। घरबाट हराएको १८ दिनपछि ७ कात्तिकमा अंशुको शव सडिसकेको अवस्थामा घरबाट साढे चार किलोमिटर टाढाको जंगलमा क्षतविक्षत फेला परेको थियो।
घटनाको रहस्य पत्ता लगाउन संघीय प्रहरीको सिआइबी, कोशी प्रदेश प्रहरीको अनुसन्धान ब्युरो र मोरङ प्रहरीको डिएसपीको कमान्डमा विशेष टोलीसहित १६ जना प्रहरी डेढ महिनादेखी खटिएका थिए। प्रहरीको अनुसन्धान टोलीले करिब दुई सयजनासँग सोधपुछ गरेको थियो। अंशुका आफन्तसहित दुईजना स्थानीय शंकास्पद व्यक्तिको पोलिग्राफ पनि टेस्ट गराएको थियो।
अधिकारीले स्थानीय विद्यालयमा कक्षा पाँचमा पढ्दै गरेकी बालिका अंशुलाई उनको साथीलाई पाँच रुपैयाँ दिएर बोलाउन लगाएका थिए। यनले साइकलमा राखेर घरदेखि चार किलाेमिटर उत्तरको जंगलमा लगेर बलात्कार गरी घाँस काट्ने हँसियाले घाँटी रेटेर हत्या गरेका बताइएको छ। हत्याको नाै दिनपछि अधिकारी अचानक भारतको आसाम काम गर्न जान्छु भनेर हराएका थिए। उनको घरपरिवार र जनप्रतिनिधिको सहयोगमा फकाएर १८ मंसिरमा घर बोलाएपछि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो।
मोरङका एसपी कवित कटुवालले आरोपी छिमेकी पदमबहादुरले बालिका अंशुको बलात्कारपछि हत्या गरेको स्विकार गरिसकेका छन्। उनलाई प्रहरीले जबर्जस्ती करणी र कर्तव्य ज्यान कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान थालेको छ।
न्याय नपाएसम्म शव नबुझ्ने आाफन्तले अडानपछि प्रहरीले अंशुको शव सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिरहेको थियो।