ध्रुवीकरणको दौडमा मधेशी दल, सके एकता नभए चुनावी मोर्चा

आइतबार, २१ मंसिर, २०८२
डिजिटल संस्करण
  • गत २१ चैतमा जसपा नेपाल, नागरिक उन्मुक्ति, राष्ट्रिय मुक्ति, लोसपा, जनमत, जनता प्रगतिशील र तमलोपा सम्मिलित मोर्चा घोषणा भएको थियो । तर, दलहरू छुट्टाछुट्टै क्रियाशील छन् ।

मधेशमा जेन–जी आन्दोलनपछिको राजनीतिक प्रभाव र आगामी २१ फागुनको निर्वाचन लक्षित गर्दै मधेशकेन्द्रित दलहरू पनि एकता र ध्रुवीकरणको तयारीमा लागेका छन् । सकेसम्म पार्टी एकता गर्ने र सम्भव नभए निर्वाचनमुखी गठबन्धन बनाउने उद्देश्यसहित दलहरूबिच छलफल चलेको छ । 

संघीय लोकतान्त्रिक मोर्चा (मधेशी मोर्चा)भित्र आबद्ध जसपा नेपाल, लोसपा, जनता प्रगतिशील र तमलोपाका नेताहरूबिच एकता, तालमेल र गठबन्धनका विषयमा छलफल भइरहेको छ । गत २१ चैतमा जसपा नेपाल, नागरिक उन्मुक्ति, राष्ट्रिय मुक्ति, लोसपा, जनमत, जनता प्रगतिशील र तमलोपा सम्मिलित मोर्चा घोषणा भएको थियो । तर, दलहरू छुट्टाछुट्टै क्रियाशील छन् ।

६ मंसिरको बैठकबाट मोर्चाले स्वच्छ, भयरहित र शान्तिपूर्ण निर्वाचनको वातावरण सुनिश्चित गर्न सरकारलाई आग्रह गर्दै घटक दल मिलेर अगाडि बढ्ने निर्णय गरेको थियो । बैठकपछि अध्यक्ष महन्थ ठाकुरले जारी गरेको विज्ञप्तिमा एउटै चुनाव चिह्न लिएर चुनाव लड्ने विषयसम्म छलफल पुगेको बताएका थिए ।

मोर्चाका एक नेताका अनुसार पुराना दलसँग प्रतिस्पर्धा गर्न ‘संयुक्त शक्ति’ आवश्यक हुँदै गएको छ । ‘बदलिँदो राष्ट्रिय राजनीतिमा सांगठनिक रूपमा पनि पुराना दलसँग प्रतिस्पर्धा चुनौतीपूर्ण छ । एक भएर जाँदा मात्र बलियो शक्ति बन्न सकिन्छ भन्ने सबैलाई लागेको छ । त्यसैअनुसार प्रयत्न भइरहेको छ,’ ती नेताले भने । 

मोर्चाभित्र उपेन्द्र यादव (जसपा नेपाल), महन्थ ठाकुर (लोसपा), हृदयेश त्रिपाठी (जनता प्रगतिशील) र वृशेषचन्द्र लाल (तमलोपा)बिच मधेशको एजेन्डालाई केन्द्रमा राखेर एकता–गठबन्धनबारे निरन्त छलफल छ । ‘मधेश आन्दोलनको एजेन्डा बोकेका दलबिच तालमेल निश्चित छ । सकेसम्म एकीकरण गर्छौँ, नभए तालमेल अवश्य हुन्छ,’ लोसपा नेता डा. सुरेन्द्र झाले नयाँ पत्रिकासँग भने । 

नागरिक उन्मुक्ति र राष्ट्रिय मुक्ति पार्टी जसपासँग एकल चुनाव चिह्नमा जाने सहमतिमा पुगेका छन् । जसपा अध्यक्ष अशोक राई, राष्ट्रिय मुक्ति अध्यक्ष राजेन्द्र महतो र नागरिक उन्मुक्ति संरक्षक रेशम चौधरीबिच ‘जाँतो’ चुनाव चिह्नमा लड्ने सहमति भइसकेको छ । यी तीन दलले विचार मिल्ने अन्य पार्टीलाई पनि एकल चुनाव चिह्नमा आउन आह्वान गरेका छन् ।

राष्ट्रिय मुक्ति पार्टीका महासचिव केशव झाले कुलमान घिसिङको उज्यालो नेपालसँग पनि तालमेलको संवाद अघि बढेको बताए । ‘तीन पार्टीको चुनाव चिह्न जाँतो हुन्छ । मोर्चासँग सिट बाँडफाँटबारे छलफल भइरहेको छ । उज्यालो नेपाल पार्टीसँग पनि तालमेलको कुरा भइरहेको छ,’ झाले भने । 

सबै क्षेत्रमा नभए निश्चित क्षेत्रमा तालमेल गरेर जान सकिने बताएको जसपाले तालमेल–एकताका छलफलसँगै प्रत्यक्ष र समानुपातिक दुवैतर्फका उम्मेदवार सिफारिस प्रक्रिया सुरु गरिसकेको छ । महासचिव लालबाबु राउतका अनुसार जिल्ला, प्रदेश हुँदै केन्द्रमा नाम सिफारिस गर्ने परिपत्र पठाइसकिएको छ । ‘हामीले तीन–तीन नाम सिफारिस गर्ने व्यवस्था गरेका छौँ । एकता र तालमेलको संवाद पनि अगाडि बढिरहेको छ,’ उनले भने । 

गत निर्वाचनबाट उदाएको सिके राउत नेतृत्वको जनमत पार्टी पनि गठबन्धनबारे छलफलमा छ । तर, आफ्नो ‘हर्न’ चुनाव चिह्नमा अन्य दल सहमत नभए उसले एक्लै लड्ने संकेत गरेको छ । ‘छलफल तै भइरहेको छ, तर गठबन्धन हुने–नहुने टुंगो छैन । पार्टी चुनावी तयारीमै केन्द्रित छ,’ महासचिव चन्दन सिंहले भने । जेन–जी आन्दोलनअघि रुपन्देही उपनिर्वाचनमा तालमेलका विषयमा छलफल हुँदा अध्यक्ष राउत बैठकबाट बाहिरिएका थिए ।
 

सुझावित समाचार