एनपिएल : धेरै डकआउट हुने ब्याट्सम्यान

शनिबार, २१ मंसिर, २०८२
डिजिटल संस्करण

जोस ब्राउन (सुदूरपश्चिम)
खेल : ५, इनिङ्स : ५, रन : ७७, शून्य रन : ३

अस्ट्रेलियाका दायाँहाते ब्याट्सम्यानले चालू एनपिएलमा खराब रेकर्ड आफ्नो नाममा राखेका छन् । दोस्रो एनपिएलमा धेरैपटक डकआउट हुुने खेलाडीमा उनी शीर्ष स्थानमा छन् । ब्राउन तीन खेलमा शून्य रनमै आउट भएका थिए । सुदूरपश्चिमले काठमाडौंविरुद्ध जित निकाले पनि ब्राउन शून्य रनमै आउट भएका थिए । कर्णाली र जनकपुर बोल्ट्ससँगको प्रतिस्पर्धामा पनि उनले रन नै बनाएनन् । 

सुमित महर्जन (लुम्बिनी)
खेल : ६, इनिङ्स : ६, रन : ३२, शून्य रन : ३

घरेलु खेलाडी सुमितले ब्याटिङमा लुम्बिनीबाट राम्रो गर्न सकेनन् । जनकपुर बोल्ट्सविरुद्ध शुक्रबार उनी पहिलो बलमै गोल्डेन डकआउट भए । कोरोयको फुललेन्थ बलमा सुमित सीधै बोल्ड भए । यससँगै उनी पनि एनपिएलमा धेरैपटक डकआउट हुने खेलाडी बने । यसअघि सुमित पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाजसँगको खेलमा शून्य रनमै पेभेलियन फर्केका थिए ।  

प्रियांक पञ्चाल (कर्णाली)
खेल : ६, इनिङ्स : ६, रन : १८१, शून्य रन : २

भारतको रणजी ट्रफीका अनुभवी ब्याट्सम्यान प्रियांकले सुरुवातमा धमाकेदार प्रदर्शन गरेका थिए । विराटनगर किंग्ससँगको खेलमा उनले ६३ रन बनाएका थिए । उनी दुई खेलमा डकआउट भएका थिए । काठमाडौं गोर्खाज र सुदूरपश्चिमसँगको महत्वपूर्ण खेलमा उनी रन नै नबनाएर क्रिजबाट हटे ।  

आसिफ शेख (जनकपुर)
खेल : ६, इनिङ्स : ६, रन : १०५, शून्य रन : २

गत वर्ष जनकपुरले उपाधि जित्दा आसिफबाट राम्रो साथ पाएको थियो । यसपटक भने आसिफ खासै चल्न सकेनन् । उनी लगातार दुई खेलमा डकआउट भएका थिए । त्यो पनि दुई प्रमुख खेलमा उनी डकआउट हुन पुगे । सुदूरपश्चिम र पोखराविरुद्ध उनले रन बनाउन सकेनन् । यद्यपि, कर्णालीविरुद्ध ५४ रन जोड्दै उनले जनकपुरलाई आशा दिलाएका थिए ।  

कुशल भुर्तेल (पोखरा)
खेल : ६, इनिङ्स : ६, रन : १५२, शून्य रन : २

एनपिएलमा पोखराले कमजोर सुरुवात गरेको थियो । पहिलो दुई खेल गुमाएको खेलमा भने कप्तान कुशलले अर्धशतकीय इनिङ्स खेलेका थिए । उनले विराटनगरसँग ५९ रन तथा सुदूरपश्चिमविरुद्ध ५३ रन जोडेका थिए । ब्याटिङमा दमदार सुरुवात गरेका कुशल भने लगातार खेलहरूमा जनकपुर र लुम्बिनीसँग डकआउट हुन पुगे ।

जर्ज मुन्सी (विराटनगर)
खेल : ६, इनिङ्स : ६, रन : ६०, शून्य रन : २

स्कटल्यान्डका मुन्सी असाध्यै राम्रा ब्याट्सम्यान हुन् । एसोसिएट क्रिकेटमा मुन्सीको ब्याटिङ जबर्जस्त मानिन्छ । तर, दोस्रो संस्करणको एनपिएलमा भने उनी आउट अफ फर्ममा छन् । यसमा पनि उनी दुई खेलमा डकआउट भए । लुम्बिनी र कर्णालीविरुद्धको खेलमा मुन्सी शून्य रनमै पेभेलियन फर्केका थिए । 

See More On

सुझावित समाचार