दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत शनिबार दुई खेल हुँदै छन् । पहिलो खेल बिहान ११:१५ बजेबाट सुरु हुँदै छ । जसमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स भिड्दै छन् ।
यसैगरी दोस्रो खेल दिउँसो ३:३० बजेबाट सुरु हुँदै छ । जसमा चितवन राइनोज र पोखरा एभेन्जर्सबिच प्रतिस्पर्धा हुने छ ।
प्लेयर्स टु वाच
सन्दीप लामिछाने (विराटनगर)
विराटनगर किंग्स पहिलोपटक प्लेअफ स्थानमा पुग्दा कप्तान सन्दीपले बलिङमा एकनासको प्रदर्शन गरेका छन् । ६ खेलमा उनले सर्वाधिक १२ विकेट लिएका छन् । एनपिएलमा चार खेलाडीले समान १२ विकेट हात पारेका छन् । इकोनोमी रनरेटमा सन्दीप शीर्ष स्थानमा छन् । सुदूरपश्चिमविरुद्ध घातक बलिङ गर्दै उनी आफ्नो विकेट संख्या बढाउन चाहन्छन् । विराटनगरका विकेटटेकर बलर सन्दीप अवस्थाअनुसार बलिङ गर्छन् । विकेट नआइरहेको अवस्थामा उनी आफ्नो स्पेल पूरा गर्न अग्रसर हुन्छन् । पछिल्ला केही खेलमा सन्दीप विराटनगरका लागि ब्रेक दिलाउने बलरका रूपमा रहेका छन् । सुदूरपश्चिमले विश्वस्तरीय बलरलाई आफूमाथि हाबी हुन दियो भने खेलमा पछाडि पर्न सक्छ ।
हर्मित सिंह (सुदूरपश्चिम)
अमेरिकाका हर्मितले काठमाडौं गोर्खाजविरुद्धको पहिलो खेलदेखि नै उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । चालू एनपिएलमा उनी अलराउन्डर खेलाडीका रूपमा देखिएका छन् । उनी सर्वाधिक विकेट लिने सूचीको पाँचौँ स्थानमा छन् । उनको स्पिन बलमा सेट ब्याट्सम्यान सहजै विट भइरहेका छन् । सुदूरपश्चिम लगातार ६ खेलसम्म अपराजित रहनुको पछाडि हर्मितको प्रदर्शन पनि मुख्य मानिन्छ । ब्याटिङमा समेत योगदान दिइरहेका उनले काठमाडौंसँगको खेलमा केवल १८ बलमै अर्धशतकीय इनिङ्स खेलेका थिए । फास्ट बलर र स्पिनरका कमजोर बलमा उनी सहजै छक्का प्रहार गर्न सक्छन् । टोलीलाई विकेट दिलाउने र रनरेट बढाउन हर्मितले मिहिनेत गरिरहेका छन् । विराटनगरले उनलाई रोक्नुपर्ने हुन्छ ।
अर्जुन साउद (चितवन)
नेपाली क्रिकेटकै युवा प्रतिभाशाली खेलाडी अर्जुनले चालू एनपिएलमा चारपटक ब्याटिङको अवसर पाएका छन् । उनले एकपटक मात्र अर्धशतकीय इनिङ्स खेले । जनकपुरसँगको महत्वपूर्ण खेलमा उनले ३९ बलमा ५२ रनको योगदान दिए । यस खेलपछि उनी फर्ममा आएका छन् । सुदूरपश्चिमसँगको खेलमा १६ रन जोडेका अर्र्जुनले पोखरा एभेन्जर्सविरुद्ध स्ट्राइक रेट बढाउनुपर्छ । चितवनले पावर प्लेमा बलियो अवस्थामा राख्न ओपनिङ जोडी क्रिजमा टिक्नुपर्छ । यसमा पनि अनुभवी खेलाडी अर्जुनको विशेष भूमिका रहनेछन् । भारतमा क्रिकेट सिकेका अर्जुनले प्राप्त अवसर मिस गर्दैनन् । विराटनगर किंग्ससँगको खेलमा उनले एक क्याच लिएका थिए । विकेटकिपिङसमेत गर्न सक्ने भएकाले उनी चितवनका प्रभाव पार्न सक्ने खेलाडीमा पर्छन् ।
एडम रोसिंटन (पोखरा)
इंग्ल्यान्डका विकेटकिपर ब्याट्सम्यान एडमले कर्णाली याक्सविरुद्ध एक सय आठ रनको शतकीय इनिङ्स खेल्दै चर्चा बुटलेका थिए । कर्णालीबाहेक अन्य खेलमा पनि उनले पोखरालाई ओपनिङमा गतिलो योगदान दिएका थिए । लुम्बिनीविरुद्ध ८१ रनको महत्वपूर्ण इनिङ्स खेलेका उनी पछिल्लो खेलमा चुकेका थिए । शतक बनाएको अर्को खेलमै उनी स्ट्रोक लगाउने धुनमा आउट हुन पुगे । यद्यपि, एडमले मौका पाउँदा विपक्षी बलरको टाउको दुखाइ हुने गर्छ । लामो इनिङ्स खेल्न सक्ने क्षमता भएका एडम सेट हुँदा चितवन बलियो स्थितिमा रहने गरेको उदाहरण छ । चितवनसँगको खेलमा पोखराले उनीबाट यस्तै आशा गरेको छ ।