जुम्लाका उदाहरणीय उद्यमी

शनिबार, २१ मंसिर, २०८२
डिजिटल संस्करण

रोजगारका लागि बिदेसिने युवाहरूको लर्को रोकिएको छैन । जिल्ला प्रशासन कार्यालय जुम्लामा राहदानी बनाउन युवाको लाइन तीव्र रूपमा बढिरहेकै छ । चालू आर्थिक वर्ष ०८२/०८३ को मंसिर दोस्रो सातासम्म चार सय ९१ जनाले राहदानी फाराम भरेका छन् । यस्तै आर्थिक वर्ष ०८१/०८२ मा १ हजार ९४ जना र ०८०/८१ मा जुम्लाबाट १ हजार २ सय २५ जनाले राहदानी लिएका छन् । त्रिवर्षीय तथ्यांक हेर्ने हो भने महिलाभन्दा ७५ प्रतिशत पुरुषले बिदेसिनका लागि राहदानी लिने गरेका छन् । 

रोजगारीका लागि बिदेसिने क्रम बढिरहेकै वेला केही जुम्लीहरू भने जन्मथलोमै दसकौँदेखि स्वरोजगार बनिरहेका छन् । बिर्ख नेपाली र गोपाल रोकाया त्यस्ता उदाहरणीय उद्यमीहरू हुन्, जसले जन्मथलोमै लाखौँ कमाइरहेका छन्, उद्यमशीलताको उदाहरण बनिरहेका छन् । 

गुठीचौर गाउँपालिका– ५ देपाल गाउँका ५२ वर्षीय बिर्ख नेपाली एक सफल उद्यमी हुन् । उनले २०५३ सालदेखि उद्यमशीलतामा लागेका हुन् । उनीले जडीबुटी र फलफूलसम्बन्धी उद्योग सञ्चालन गर्दै आएका छन् । उनले जडीबुटी र फलफूल उत्पादन गरी प्रशोधन गरेर बजारमा बिक्री–वितरण गर्ने गरेका छन् । उनले पाँच सय वर्गमिटर क्षेत्रफल जमिनमा १८ प्रकारका जडीबुटीको खेती गरेका छन् । यस्तै, उनले स्याउ ओखर फलफूल उत्पादनदेखि नर्सरीबाट बिरुवा पनि उत्पादन गर्छन् । उनको नर्सरीमा दुई हजार स्याउको बिरुवा र चार सय ओखरको बिरुवा छन् । उनले स्याउ, ओखरको दाना बिरुवा र जडीबुटी बि–क्रीवितरण गरी वार्षिक ६ लाख रुपैयाँ आम्दानी गर्ने गरेका छन् । यसै आम्दानीबाट उनको परिवार चल्छ । 

उनका दुई छोराबुहारी, नानीनातिनासहित ६ जनाको घरपरिवार छ । बालबच्चाको शिक्षा स्वास्थ्यदेखि लुगाफाटो सबै यसै आम्दानीबाट चल्छ । उनले जेठो छोरालाई आफूजस्तै उद्यमी बनाएका छन् । कान्छो छोरा अहिले काठमाडौंमा ब्याचलर पढ्दै छन् । काठमाडौंमा पढिरहेको कान्छो छोरालाई वार्षिक दुई लाख ५० हजार रुपैयाँ खर्च लाग्छ । त्यो खर्च उनले यही उद्यमशीलताबाटै धान्दै आएका छन् । 

मिहिनेत गरेर जोडेको घरमा २०७२ वैशाख २२ गते आगलागी हुँदा ठुलो क्षति व्यहोर्नुपरेको उद्यमी बिर्ख नेपाली बताउँछन् । उनले भने, ‘त्यतिवेला करिब १८ लाखबराबरको सम्पत्ति क्षति भएको थियो । धेरै दु:खकष्टले आर्जेको सम्पत्ति क्षति हुँदा फेरि शून्यमा पुग्नुपर्ने अवस्था आइपुग्यो ।’

हिमा गाउँपालिका– ३ मोफ्ला गाउँका गोपाल रोकाया पनि एक सफल उद्यमी हुन् । द्वन्द्वकालमा उनी माओवादी राजनीतिमा सहभागी थिए । द्वन्द्वकालपछि राजनीतिकभन्दा कृषि र उद्यमशीलतामा उनी सक्रिय भए । त्यही नै उनको परिचय बन्यो । 

उनले २०७४ सालदेखि व्यावसायिक रूपमा स्याउ, ओखरखेती थालेका हुन् । चार वर्षसम्म शिक्षण पेसा अँगालेका रोकाया अहिले पूर्णकालीन रूपमा कृषि पेसामा आबद्ध छन् । उनकै अथक परिश्रम र मिहिनेतले दुर्गम ठाउँको मुहार फेरिएको हो । मोफ्ला गाउँदेखि तीन किलोमिटरको दूरीमा रहेको रुम्तुसम्म ग्रामीण सडक पुगेको छ । उद्यमी रोकायाको परिकल्पना, इच्छाशक्ति र लगनशीलताका कारण सुक्खा रुम्तु उर्वर बनेको छ । एक बिघा क्षेत्रफलमा कृषिकर्म फस्टाएको छ । व्यक्तिगत र बैंकिङ ऋण गरेर कुल एक करोड लगानी गरेका छन् ।

रोकायाले एउटै ठाउँमा धेरै व्यवसाय गरेका छन् । सबैभन्दा धेरै ओेखरको नर्सरी छ । उनको लोकल र फुजी स्याउको बगैँचा नै छ । खरायो र बाख्रासमेत पालन गरेका छन् । त्यहीँ भित्र माछा पोखरीसमेत छ । केसर खेतीसमेत सुरु गरेका छन् । 

यी सबै व्यवसायबाट उनले वार्षिक ६ लाख आम्दानी गर्ने गरेका छन् । उनी भन्छन्,‘फुजी स्याउको बिरुवा १ हजार १ सय ५० छ । स्थानीय स्याउको तीन सय ५० बिरुवा छ ।’ उनी आफैँ नर्सरीमा ग्राफ्टिङ गर्छन् । उनीसँग ओखरको १५ हजार रुडस्टक ग्राफ्टिङ गर्नुपर्ने बिरुवा छ । उनले ओखरका बिरुवा बेचेर मात्रै मनग्ये आम्दानी गरिरहेका छन् । चन्दननाथ नगरपालिकालाई साढे सात लाखको ओखरका बिरुवा उनले बेचेका थिए । सिन्जा गाउँपालिकालाई ११ लाखको बिरुवा बेचेको उनले सुनाए । उनी भन्छन्,‘हिमा गाउँपालिकाले १३ लाखको बिरुवा किन्यो । यस्तै १० लाख मूल्यबराबरको ओखरका बिरुवा सुपरजोन किनेको छ ।’

कृषक रोकायासँग साढे चार सयवटा स्याउका रुखसमेत छन् । स्याउ फल्न थालिसकेको छ । उनले स्याउ र स्याउका चानासमेत बिक्री गरेर आम्दानी गर्दै आएका छन् । वार्षिक २१ लाखको कारोबार गर्ने गरेको उनी सुनाउँछन् । भन्छन्,‘सबै खर्च कटाएर ६ लाख वार्षिक आम्दानी हुन्छ ।’ 

रोकायाको पाँचजनाको परिवार छ । घरखर्चदेखि छोराछोरी पढाउने खर्च सबै यसैबाट जुटाउने गरेको उनको भनाइ छ । उनी भन्छन्,‘जेठी छोरीलाई बुटवलमा आइस्सीएजी पढाएँ । कान्छी छोरी जुम्ला बहुमुखी क्याम्पसमा बिबिएस पढ्दै छे । छोरा बुटवलमा विज्ञान विषय लिएर पढ्दै छ ।’

लामो समयदेखि वनपैदावर जडीबुटीसम्बन्धी काम गर्दै आएका सामुदायिक वन उपभोक्ता महासंघ जुम्ला शाखाका अध्यक्ष गोकर्ण चौलागाईं भन्छन्,‘जिल्लामा सफल उद्यमी थोरै छन् । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लामा जटीबुटीसम्बन्धी करिब तीन हजार उद्योग दर्ता भएका छन् । तर, व्यावसायिक उद्यमी भने जिल्लामा १० जना जति होलान् ।’

उद्यमी हुनु भनेको स्वरोजगार हुनु हो । तर, धेरैजसो नेपाली रोजगारीको खोजीमा बिदेसिने रहेका छन् । आफ्नै माटोमा केही उद्यमशीलता गर्न सके विदेशी माटोमा पसिना बगाउनुपर्ने थिएन । बिर्ख र गोपालजस्तै उद्यमी बन्न सके बिदेसिनु नपर्ने चौलागाईं बताउँछन् । 

लामो समयदेखि नेपालमा हिमाली जडीबुटीहरूको संरक्षण र दिगो व्यापार परियोजना सञ्चालन गर्दै आएको यन्साब नेपालका फिल्ड परियोजना संयोजक चण्डिका उम्गाई भन्छन् ‘वन पैदावरबाट थुप्रै फाइदा लिन सकिन्छ । जडीबुटी तथा वनमा आधारित उद्यमशीलता गर्न सकिने थुप्रै सम्भावना हुँदाहुदै पनि रोजगारीका लागि बिदेसिनेहरूको लर्काे लाग्छ ।’ 

वन पैदावरको उद्यमी वृद्धिका लागि उद्यमशीलता विकास तथा व्यावसायिक योजनासम्बन्धी चार दिवसीय तालिम पनि सञ्चालन गरिएको उम्गाई बताउँछन् । जुम्लामा सञ्चालन गरिएको तालिममा १९ जना सहभागिता थिए । उद्यमी व्यवसायीलाई व्यावसायिक योजना तयारी गर्न सक्षम बनाउने उद्देश्य रहेको यन्साब नेपालका वन अधिकृत प्रवेश कक्षपति बताउँछन् ।

See More On

सुझावित समाचार