बाढीपहिरोले क्षति पुर्याएको बिपी राजमार्गको पुनर्निर्माण धमाधम भइरहेको छ । अविरल वर्षाका कारण रोशी नदीमा आएको बाढीले राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्डको करिब २८ किलोमिटर खण्ड क्षतिग्रस्त भएको थियो । क्षतिग्रस्त सडकलाई पाँच खण्डमा विभाजन गरी पुनर्निर्माण अगाडि बढाइएको छ ।
त्यसमध्ये चार खण्डमा पर्ने २५ किलोमिटर सडक पुनर्निर्माणका लागि ठेक्का सम्झौता भई काम भइरहेको छ । पुनर्निर्माण दुई वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको छ । बाँकी एक खण्डमा पर्ने तीन किलोमिटर सडक जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को सहायतामा पुनर्निर्माण हुनेछ । यसका लागि डिजाइन स्वीकृत भई ठेक्काको प्रक्रियामा रहेको बताइएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले बिहीबार त्यस क्षेत्रको स्थलगत अनुगमन गर्दै सडक पुनर्निर्माणको विषयमा जानकारी लिएका छन् । अस्थायी रूपमा सवारीसाधनका लागि खोला–किनारबाट डाइभर्सन निर्माण गरिएको र उक्त डाइभर्सनले वर्षायाम सुरु भएसँगै काम नगर्ने उल्लेख गर्दै मन्त्री घिसिङले यसतर्फ विशेष ध्यान दिन आग्रह गरे ।
संघीय राजधानीलाई पूर्वी क्षेत्रसँग जोड्नका लागि महŒवपूर्ण रहेको उक्त बिपी राजमार्ग जापान सरकारको अनुदान सहयोगमा निर्माण सम्पन्न भएको थियो । एक सय ६० किलोमिटर लम्बाइ रहेको बिपी राजमार्ग गत सालको बाढीले ३०.५ किलोमिटर क्षतिग्रस्त भएको थियो । हाल भइरहेको इन्टरमिडियट लेनलाई क्षतिग्रस्त राजमार्गको खण्डमा भने दुई लेनको बनाई पुनर्निर्माण गरिँदै छ ।