प्रहरीकै सुरक्षामा हत्या मुद्दाका फरार अभियुक्त राजगढ गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डल सार्वजनिक समारोहमा सहभागी भएका छन् । बुधबार राजगढ गाउँपालिकाले आयोजना गरेको अध्यक्ष कप क्रिकेट प्रतियोगतामा उनी सहभागी भएका हुन् । अध्यक्ष कप क्रिकेट प्रतियोगताको फाइनल खेलमा पालिका अध्यक्ष मण्डल, उपाध्यक्ष रेणुदेवी मण्डल र वडाध्यक्षहरू सहभागी भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोजकुमार झाले बताए । अध्यक्ष मण्डलले पुरस्कार पनि वितरण गरेको उनले बताए ।
पालिका अध्यक्ष मण्डल, उनका बुबा गंगाराम (बेल्हीचपेना गाविसका तत्कालीन अध्यक्ष) तथा अन्य आरोपीहरू रामनारायण मण्डल, रामदेव सदा मुसहर, मनिक शर्मा, बच्चा यादव र भोलिछन सदा मुसहरविरुद्ध २२ असार ०७५ मा चलेको मुद्दा जिल्ला अदालत सप्तरीले मुल्तबीमा राखेको छ । पक्राउ पुर्जी जारी हुँदा पनि प्रहरीले पक्राउ गर्न चासो दिएको छैन ।
अदालतबाट जारी म्यादमा हाजिर हुन नआएको र प्रहरीले पक्राउसमेत नगरेकाले ‘पक्राउ परेपछि मुद्दाको बाँकी कारबाही गर्ने गरी’ जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले १४ फागुन ०७९ मा मुल्तबीमा राखेको थियो । तर, त्यसको साढे नौ महिनाअघि नै ३० वैशाख ०७९ मा स्थानीय तह निर्वाचनमा उनी गाउँपालिका अध्यक्षमा निर्वाचित भए । मण्डलसहित सातजनाविरुद्ध सप्तरी जिल्ला अदालतबाट १५ वैशाख ०७८ मा पक्राउ पुर्जी जारी भएको थियो । मण्डल गाउँपालिका अध्यक्षमा निर्वाचित भइसकेपछि प्रहरीले अनुसन्धान प्रक्रिया नै रोकेको छ । अन्य अभियुक्त पनि गाउँमै छन् ।
नागरिक अभियन्ता अमर यादव पक्राउ पुर्जी जारी भएको व्यक्तिलाई तत्कालै पक्राउ गर्नुपर्ने बताउँछन् । अभियुक्तलाई प्रहरीले पक्राउ नगरेर उल्टै सुरक्षा दिएको भन्दै उनले प्रहरीको नियतमै शंका देखिएको बताए । यस विषयमा प्रहरी प्रधान कार्यालय गम्भीर बन्नुपर्ने उनको भनाइ छ । सप्तरी प्रहरी प्रवक्ता प्रहरी निरीक्षक विजय कार्कीले भने यस विषयमा अनभिज्ञता प्रकट गरे ।
प्रहरीमाथि ‘चयनात्मक न्याय’को आरोप
सप्तरी प्रहरीले दुई फरक–फरक घटनामा तीनजना फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा उपस्थित गराएको छ । चोरी मुद्दामा सजाय तोकिएका एकजनासहित नकबजनी तथा चोरी मुद्दामा कैद र जरिवाना भोग्न बाँकी रहेका दुई फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । यो सक्रियता राजनीतिक पहुँच भएका अभियुक्तसम्म पुग्न नसक्दा भने प्रहरीमाथि ‘चयनात्मक न्याय’को आरोप लागेको छ । प्रहरीले १५ मंसिरमा चोरी मुद्दामा १६ दिन कैद र दुई हजार रुपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादी अशोकलाल मण्डललाई राजगढ गाउँपालिका– ३ बाट पक्राउ गरेको थियो । अदालतको फैसला कार्यान्वयनका क्रममा निरन्तर खोजतलास गर्दा उनी लुकेर बसेको ठाउँ पत्ता लागेर सोही दिन अदालतमा बुझाइएको प्रहरीले जनाएको छ । यसअघि ११ मंसिरमा जिल्ला प्रहरी कार्यालय सप्तरी र इलाका प्रहरी कार्यालय बोदेबर्साइनको संयुक्त टोलीले नकबजनी तथा चोरी मुद्दामा कैद र पाँच हजार रुपैयाँ जरिवाना तोकिएका दुई फरार प्रतिवादीहरू शीतल मण्डल र राजनकुमार साहलाई पक्राउ गरी अदालतमा पेस गरेको थियो । दुवैजना लामो समयदेखि गाउँमा खुलेआम हिँडडुल गरे पनि प्रहरीले पक्राउ गर्न सकेको थिएन ।