सिन्धुली र रामेछापको सीमा रहेको सुनकोशी नदीको खैरेनीघाटमा बेलिब्रिज जडान कार्य सुरु भएको छ। गत वर्ष असोजको भारी वर्षाका कारण रोशीखोला र सुनकोशी नदीमा आएको बाढीले नेपालथोकनजिक खैरेनीघाटको पक्की पुललाई क्षति पुर्याएपछि उक्त स्थानमा बेलिब्रिज जडान गर्न लागिएको हो।
उक्त स्थानमा ७० मिटर लम्बाइ भएको बेलिब्रिज जडान हुनेछ। सिंगल लेन पुलको भारवहन क्षमता २० टन रहेको छ। विपतबाट क्षति पुगेका सडक सञ्जाललाई नियमित रूपमा सञ्चालनका लागि नेपाल सरकारको अनुरोधमा भारतले उक्त बेलिब्रिज अनुदानमा उपलब्ध गराएको हो। भारतले अनुदानमा उपलब्ध गराएका १० वटा बेलिब्रिजमध्ये एउटा खैरेनीघाटमा जडान गर्न लागिएको हो।
बेलिब्रिज खैरेनीघाटसम्म ढुवानी भइसकेको छ। जडानका लागि प्राविधिकहरू भारतबाट निर्माणस्थलमा पुगिसेकका छन्। बाढीले पुलसम्म पुग्ने सडक क्षति पुर्याएको थियो। उक्त स्थलसम्म पुग्ने सडकको ट्रयाक खोलिसकिएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले बिहीबार खैरेनीघाट क्षेत्रको स्थलगत निरीक्षण गरी बेलिब्रिज जडानबारे जानकारी लिएका छन्। मन्त्री घिसिङले विपतका कारण पुलमा क्षति पुग्दा रामेछापका सुनापति, खाँडादेवी, दोरम्बा, काभ्रेपलाञ्चोकको चौँरीदेउरालीलगायतका क्षेत्रको तराई र काठमाडौंसँगको सडक सम्पर्क टुटेको र आवातजावतमा कठिनाइ भएकाले बेलिब्रिज जडान जतिसक्दो छिटो सम्पन्न गर्न निर्देशन दिए।