सप्तरीको कञ्चनरूप नगरपालिकामा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको ज्यान गएको छ। मृत्यु हुनेमा कञ्चनरूप नगरपालिका– ५, पिप्रा पूर्वनिवासी ६५ वर्षीय नारायण खङ रहेका छन्। इलाका प्रहरी कार्यालय कञ्चनरूपका प्रमुख डिएसपी माधवप्रसाद काफ्लेका अनुसार मृतक खङ घरबाट करिब दुई किलोमिटर टाढा रहेको आफ्नै खेतमा काटेर राखिएको धान कुर्न गएका थिए।
खेतमा सुकाइराखिएको धान जोगाउन उनी त्यहीँ सुतिरहेका थिए। सोही क्रममा कोशी टप्पु वन्यजन्तु आरक्षतर्फबाट आएको जंगली हात्तीले सुतिरहेकै अवस्थामा उनलाई अचानक आक्रमण गरी कुल्चिएको प्रहरीले जनाएको छ। हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका खङलाई स्थानीयवासीले उद्धारको प्रयास गरे पनि बचाउन सकेनन्। उनको घटनास्थलमै ज्यान गएको बताइएको छ।