लुम्बिनीको प्लेअफ सम्भावना जीवितै

लगातार दुई जित निकालेको लुम्बिनी ६ अंकका साथ चौथो स्थानमा रहँदा ८ अंक बनाएको विराटनगर तेस्रो स्थानमा कायमै

बिहिबार, १८ मंसिर, २०८२
डिजिटल संस्करण

तेस्रो जित निकालेको लुम्बिनी लायन्सले दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को प्लेअफ सम्भावना जीवितै राखेको छ । लुम्बिनीले बुधबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विराटानगर किंग्समाथि पाँच विकेटको सानदार जित निकाल्यो । पहिलो ब्याटिङ गरेको विराटनगरले २० ओभरमा आठ विकेट गुमाएर १४४ रनको मध्यम योगफल खडा गरेको थियो । प्रत्युत्तरमा लुम्बिनीले १७.४ ओभरमा पाँच विकेटको क्षतिमा १४५ रन जोड्दै विराटनगरमाथि महत्वपूर्ण जित निकाल्यो ।

लुम्बिनीको जितमा अस्ट्रेलियन ओपनर डार्सी सर्टले अर्धशतक तथा बलिङमा शेर मल्लले तीन विकेट लिएका थिए । लुम्बिनीले ६ खेलमा ३ जित निकाल्दै ६ अंक जोडेको छ । लुम्बिनी चौथो स्थानमा उक्लिएको छ । यसअघि लुम्बिनीले चितवनलाई ६ विकेट र पोखरालाई तीन विकेटले हराएको थियो । उसले लगातार सुदूरपश्चिम, काठमाडौं र कर्णालीसँगको खेल गुमाएको थियो । लुम्बिनीले लगातार दुई खेलमा जित निकालेको हो । 

विराटनगरले लगातार तीन खेलमा जित निकाल्दा पोखरा, काठमाडौं र जनकपुरलाई हराएको थियो । पछिल्ला तीनमध्ये दुई खेल गुमाएको छ । विराटनगरले कर्णालीमाथि सनसनी जित हात पार्दा चितवनलाई ४८ रनले खेल सुम्पिएको थियो । लुम्बिनीसँगको हारले पनि विराटनगर ८ अंकका साथ तेस्रो स्थानमै छ । विराटनगरले प्लेअफमा पुग्न अझै एक खेल कुर्नुपर्ने छ । लुम्बिनीले अन्तिम खेल जनकपुर बोल्ट्ससँग खेल्नेछ । विराटनगरले सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ । प्लेअफमा पुग्न लुम्बिनीलाई अन्तिम खेलमा जित निकाल्नुपर्छ । सुदूरपश्चिमलाई हराउँदा विराटनगर प्लेअफमा पुग्नेछ । पराजित हुँदा रनरेटबाट छिनोफानो हुनेछ । 

विराटनगरविरुद्ध डार्सीको अर्धशतक
लुम्बिनीका लागि विराटनगरविरुद्ध खेल ‘गर या मर’को अवस्था थियो । हारले प्लेअफ सम्भावना लगभग समाप्त हुने थियो । जितले सम्भावना जीवित रहन्थ्यो । विराटनगर भने जितले एक खेलअगाडि नै प्लेअफमा सहजै प्रवेश गर्ने थियो । प्रतिस्पर्धामा लुम्बिनी ब्याटिङ र बलिङमा एकनासको प्रदर्शन गरी विराटनगरलाई रोक्न सफल भयो । तर, १४५ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनीको सुरुवात भने खराब रह्यो । 

इनिङ्सको ४.१ ओभरमा सुमित महर्जन तथा इनिङ्सको ४.४ ओभरमा कप्तान रोहित पौडेललाई गुमाउँदा लुम्बिनीले स्कोर बोर्डमा २९ रन मात्र जोडेको थियो । यहाँसम्म लुम्बिनी खेलमा पछाडि तथा विराटनगर हाबी भइसकेको थियो । तर, ओपनर डार्सी सर्ट र सन्दीप जोराले तेस्रो विकेटका लागि २९ रनको साझेदारी गर्दै टोलीलाई ६६–३ को स्थितिमा राखे । जोराले १५ बलमा तीन चौका र एक छक्का प्रहार गरी २४ रन बनाए । जोरा आउट हुँदा लुम्बिनीलाई ७० रन आवश्यक थियो । त्यसपछि डार्सीले निरोसन डिकवेलसँग चौथो विकेटका लागि ४६ रनको आक्रामक साझेदारी गर्दै टोलीलाई १३.२ ओभरमा ११२–४ को बलियो स्थितिमा पुर्‍याए । उनीहरूले २४ बलमा ४६ रनको साझेदारी गरेका हुन् । 

डार्सीलाई मध्यक्रमले राम्रो साथ दिएको थियो । प्रतिस्पर्धामा डार्सीले मात्र नभएर जोरा र निरोसनले पनि आवश्यक रनरेटअनुसारै ब्याटिङ गरेका थिए । जसकारण डार्सी दबाबमा आएनन् । ओनपर डार्सीले आफ्नो विकेट १३.२ ओभरमा गुमाएका थिए । यद्यपि, उनले लुम्बिनीको जितको आधार बनाइसकेका थिए । उनले ४४ बलमा ५७ रन बनाउने क्रममा ६ चौका र दुई छक्का प्रहार गरेका थिए । निरोसनले २२ बलमा २९ रन बनाए । बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछाने र सुभाष भण्डारीले समान दुई विकेट हात पारे । 

डेब्युमा चलेनन् डु प्लेसिस 
दोस्रो संस्करणको एनपिएलमा ठुला स्टारका रूपमा दक्षिण अफ्रिकी पूर्वकप्तान फाफ डु प्लेसिस रहेका छन् । विराटनगरले उनलाई अनुबन्ध गर्दै एनपिएलमा सनसनी मचाएको हो । क्रिकेटको तीनवटै फम्र्याटमा गरी २३ अन्तर्राष्ट्रिय शतक लगाएका डु प्लेसिसले आफ्नो पहिलो एनपिएलको डेब्यु उत्कृष्ट बनाउन सकेनन् । विराटनगरले पहिलो ब्याटिङ गर्दा जर्ज मुन्सी र उनलाई ओपनिङमा पठाइएको थियो । त्रिवि मैदानमा डु प्लेसिसको खेल हेर्न आएका दर्शक निराश बनेका छन् । 

इनिङ्सको २.६ ओभरमै उनले आफ्नो विकेट स्टम्पिङका रूपमा गुमाउन पुगे । स्पिनर अभिषेक गौतमले पिचभन्दा हल्का बाहिर फ्याँकेको बललाई छक्का लगाउने चक्करमा डु प्लेसिस विकेटपछाडि डिकवेलबाट स्टम्पिङ भए । उनले नौ बलमा दुई चौकाको सहयोगमा १२ रन जोडे । फिल्डिङका क्रममा उनले लुम्बिनीका कप्तान पौडेलको उत्कृष्ट क्याच लिए । उनले रोहितको रनिङ क्याच लिएका हुन् । यो खेलकै उत्कृष्ट क्याचमध्ये एक रह्यो । 

शेरको कसिलो बलिङ
विराटनगरको बलियो ब्याटिङ कमजोर हुनुका पछाडि अफब्रेक बलर शेर मल्लको घातक बलिङ नै प्रमुख रह्यो । उनले चार ओभरमा २५ रन खर्चेर तीन विकेट हात पारे । शेरले इनिङ्सको पहिलो बलमै विराटनगरका जर्ज मुन्सीलाई एलबिडब्लू धरापमा राखे । १३.१ ओभरमा उनले नारायण जोशी तथा सोही ओभरको तेस्रो बलमा हेजालेटको विकेट लिँदै विराटनगरलाई ८३–५ को कमजोर अवस्थामा राखे । शेरको बलिङमा मध्यक्रम कमजोर बनेको विराटनगरको ब्याटिङमा लोकेश बमले ४२ बलमा समान दुई चौका र छक्का प्रहार गरी सर्वाधिक ३५ रनको योगदान दिए । यसैगरी साम हेजलेटले २० बलमा दुई छक्का र एक चौका प्रहार गरी २७ रन बनाए । बसिर अहमदले १९ बलमा २८ रन जोडे । विराटनगरको ब्याटिङमा गतिलो साझेदारी नहुँदा ठुलो योगफल नबनेको हो ।

खेलपछिका भनाइ
पावर प्लेमा कसिलो बलिङ भयो : शेर मल्ल, म्यान अफ दी म्याच, लुम्बिनी

प्लेअफको आशा जीवितै राख्न विराटनगरसँगको खेल महत्वपूर्ण थियो । जितको लक्ष्यसाथ मैदान प्रवेश गरेका थियौँ । लुम्बिनीलाई जिताउन बलिङमा योगदान दिन पाउँदा ज्यादै खुसी छु । पहिलोभन्दा दोस्रो इनिङ्स ब्याटिङ गर्न सहज देखिएको थियो । लक्ष्य पछ्याएको इनिङ्समा यसैअनुरूप खेल्यौँ । बलिङका क्रममा पावर प्लेमा उत्कृष्ट गर्‍यौँ ।

लेअफको आशा बलियो भयो : रोहित पौडेल, कप्तान, लुम्बिनी
यस जितले प्लेअफ आशा थप मजबुत बनेको छ । यद्यपि, हामीले सुरुदेखि नै शीर्ष चारमा रहने योजना बनाएका थियौँ । हामी लक्ष्यनजिक छौँ । ब्याटिङमा म असफल भए पनि टिमवर्क भावनामा खेल्दा जित निस्कियो । बलिङ र ब्याटिङमा लुम्बिनी एक कदम अगाडि नै रह्यो । अहिले लुम्बिनीमा सबै खेलाडी फर्ममा छन् । 

See More On

सुझावित समाचार