विराटनगरलाई हराउँदा लुम्बिनीको प्लेअफ सम्भावना अझै बाँकी

बुधबार, १८ मंसिर, २०८२
डिजिटल संस्करण
विराटनगरलाई हराउँदा लुम्बिनीको प्लेअफ सम्भावना अझै बाँकी

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

विराटनगर किंग्सलाई पाँच विकेटले हराउँदै लुम्बिनी लायन्सले दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा प्लेअफ सम्भावना कायमै राखेको छ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर सुरुमा ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४४ रन बनाएको थियो। प्रत्युत्तरमा लुम्बिनीले १७.४ ओभरमा पाँच विकेट गुमाउँदै जित निकालेको हो। यो जितपछि लुम्बिनीको प्लेअफ सम्भावना कायमै छ। विराटनगरले प्लेअफमा स्थान बनाउन अर्को खेल कुर्नुपर्ने भएको छ।

आइपिएल उपाधि जितेका दक्षिण अफ्रिकाका चर्चित फाफ डुप्लेसिस एनपिएलको २२औँ खेलमा कीर्तिपुर मैदानमा देखिए। आइपिएलसँगै विश्व क्रिकेटमा तहल्का मच्चाएका ४१ वर्षीय ब्याटरलाई हेर्न १० हजारभन्दा माथि समर्थक त्रिवि मैदानमा पुगेका थिए। विराटनगरले उनलाई केही खेलको लागि मात्रै टिममा भित्र्याएको हो। तर, उनले दर्शकले आशा गरेजस्तो प्रदर्शन गर्न सकेनन्। जर्ज मुन्सेसँग ओपनिङमा आएका उनी मात्र ९ बलमा १२ रन बनाउन सके। दुई चौका हिर्काएका उनलाई लुम्बिनीका युवा स्पिनर अभिशेष गौतमले विकेटकिपर निरोशान डिकवेलबाट स्टम्पिङ गरे। तर, उनलाई  फिल्डिङमा नेपाली समर्थकले उत्साहपूर्ण साथ दिएका थिए।

प्लेअफमा स्थान बनाउन आज दुबै टोलीलाई जित्नुपर्नै दबाब थियो। लुम्बिनीले तेस्रो जित निकाल्दै प्लेअफ सम्भावना कायम राखेको छ। ६ मध्ये तीन खेल जितेर ६ अंक जोडेको टोली चौथो स्थानमा उक्लियो। पहिलो खेलमा चितवनलाई ६ विकेटले हराएको उसले पाँचौँ खेलमा पोखरालाई ३ विकेटले हराउँदै प्लेअफ सम्भावना कायम राखेको थियो। यसअघि टोली दोस्रो खेलमा कर्णाली याक्ससँग ९ विकेट, काठमाडौंसँग २२ रन तथा सुदूरपश्चिमसँग ७ विकेटले पराजित भएको थियो।

दोस्रो हारपछि पनि विराटनगरको प्लेअफ सम्भावना कायम छ। टोली ६ मध्ये पाँच खेल जित्दै प्लेअफ पक्का गर्ने योजनामा थियो। तर, सफल भएन। विराटनगर पाँचमध्ये चार खेल जितेर ८ अंकसहित तालिकाको तेस्रो स्थानमा यथावत छ। विराटनगरले पहिलो खेलमा पोखरालाई ५३ रन, दोस्रो खेलमा काठमाडौंलाई ५ विकेट, तेस्रो खेलमा जनकपुरलाई ९ रन र पाँचौँ खेलमा कर्णालीलाई ३ विकेटले हराएको थियो। चौथो खेलमा भने चितवनसँग ४८ रनले पराजित भयो।

लुम्बिनीको तेस्रो जितमा डार्सी सर्टले सर्वाधिक ५७ रन बनाए। उनले ४४ बलमा ६ चौका र २ छक्का हिर्काएका थिए। उनलाई कप्तान तथा मार्की सन्दीप लामिछानेले लोकेश बमबाट क्याच आउट गराए। ३५ वर्षीय अस्ट्रेलियन ओपनरको एनपिएलमा पहिलो अर्धशतक हो।

निरोशान डिकवेलले अविजिता २९ रन बनाए। ३२ वर्षीय श्रीलंकन ब्याटर तथा विकेटकिपरले २२ बलमा २ चौका र १ छक्का हिर्काएका हुन्। चौथो विकेटको लागि डार्सी र डिकवेलबिच २४ बलमा ४६ रनको साझेदारी भएको थियो। पहिलो विकेटको लागि डार्स र सुमितबिच २९ रनको साझेदारी भएको हो। 

सन्दीप जोराले १५ बलमा २४ रनको योगदान गरे। तीन चौका र एक छक्का हिर्काएका उनलाई सन्दीपले एलबिडब्लु धरापमा पारेका थिए। यसअघि कप्तान रोहितकुमार पौडेल तीन बल खेलेर खाता नै नखोली आउट भएका थिए। उनलाई सुवास भण्डारीले फाफ डुप्लेसिसबाट सुन्दर क्याच आउट गराएका थिए। सुमित महर्जनले पनि १० रन बनाएपछि टोली दबाबमा आयो। १२ बलमा १६ रन बनाएका दिलिप नाथलाई बसिर अहमदले साम हेजलेटबाट क्याच गरेका थिए। 

विराटनगरको लागि सुवास भण्डारी र सन्दीप लामिछानेले समान दुई विकेट लिए। बसिर अहमदले एक विकेट लिए। चार ओभर नै बलिङ गरेका मार्चन्ड डी लिग्ने विकेटबिहिन भएका थिए। 

लिगको २२औं खेलको पहिलो इनिङ्समा विराटनगरको लागि लोकेस बमले सर्वाधिक ३५ रन बनाए। सम्हालिएर खेलेका लोकेसले ४२ बलमा समान २ चौका र २ छक्का हिर्काए। उनलाई जेजे स्मिथले आफ्नै बलमा क्याच गराएका थिए। साम हेजलेटले २० बलमा २७ रनको योगदान गरे। ३० वर्षीय अस्ट्रेलियन ब्याटरले एक चौका र २ छक्का प्रहार गर्दा शेर मल्लले दिलिप नाथबाट क्याच आउट गराएका हुन्। 

छैटौं नम्बर क्रिजमा पुगेका बसिर अहमदले २८ रनको योगदान गरे। लगातार उत्कृष्ट प्रदर्शन गर्ने क्रममा उनले १९ बलमा समान एक चौका र एक छक्का हिर्काएका हुन्। रुवेन ट्रप्लमेनको बलमा चौका प्रहार गर्नै क्रममा  उनलाई तिलक भण्डारीले क्याच गराएका थिए। पछिल्लो खेलमा उनले कर्णाली याक्सविरुद्ध अविजित ६२ रन बनाउँदै टोलीलाई जित दिलाएका थिए। 

पहिलो पटक एनपिएल खेलेका फाप डु प्लेसिस डेब्यु खेलमा १२ रन मात्रै बनाउन सके। ९ बलमा दुई चौका हिर्काएका ४१ वर्षीय दक्षिण अफ्रिकाका ब्याटरलाई अभिशेष गौतमले विकेटकिपर निरोशान डिकवेलबाट स्टम्पिङ गरे। ओपनर डुप्लेसिसलाई दोस्रो विकेटको रुपमा गुमाउँदा विराटनगरले २।६ ओभरमा मात्र १५ रन बनाएको थियो। यसपछि लोकेश र हेजलेटले ५२ बलमा सर्वाधिक ५५ रनको साझेदारी गरेका थिए। तेस्रो विकेटको रुपमा लोकेश ११.४ ओभरमा आउट हुँदा विराटनगरले ७० रन बनायो। 

यसअघि ओपनर जर्ज मुन्से दुई बल खेलेर डक आउट भए। नारायण जोशी मात्र ५ रन बनाउदा शेर मल्लबाट एलबिडब्लु धरापमा परेका हुन्। ११ रन बनाएका प्रतिश जिसी  र साहिल पटेल पनि रन आउट हुन पुगे। मार्चन्ट डि लाग्नेले  अविजित १० तथा एक बलमात्रै सामना गरेका सन्दीप लामिछानेले छक्का प्रहार गरेका थिए। 

लुम्बिनीका शेर मल्लले सर्वाधिक ३ विकेट लिएका थिए। उनले ४ ओभरमा मात्र २५ रन खर्चिएका हुन्। उनले पहिलो ओभरमा मुन्से र १४औं ओभरमा जोशी र हेजलेटको महत्वपूर्ण विकेट लिएका थिए। जेजे स्मिथ, अभिषेश गौतम र रुवेन ट्रम्पलमेनले समान एक विकेट लिए। 

४ ओभर नै बलिङ गरेका तिलक भण्डारीले २८ रन खर्चिँदा विकेट बिहिन भएका थिए। 

प्रतियोगिताअन्तर्गत बिहीबार दुई खेल हुनेछन्। पहिलो खेलमा पौने १२ बजे काठमाडौं र पोखरा तथा ४ बजे हुने खेलमा चितवन र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुनेछ।

सुझावित समाचार