पूर्व–पश्चिम राजमार्गको हेटौँडा–चितवनखण्डमा बिग्रिएर रोकेर राखेको कन्टेनर गाडीमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना.५ख ३५८७ नम्बरको कन्टेनर गाडी सडकमै बिग्रिएर रोकिएको अवस्थामा सोही दिशाबाट आउँदै गरेको बा.४९प ६६५८ नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकचालक मकवानपुरगढी गाउँपालिका– २, गैरीभञ्ज्याङका ३० वर्षीय बालकृष्ण अधिकारीको मृत्यु भएको छ। उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, लमजुङको बेँसीसहर– १०, पासाचौरका ४८ वर्षीय भवरजंग गुरुङ घाइते भएका छन्। गुरुङको बायाँ खुट्टा, टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ। उनको अवस्था मध्यम रहेको र चुरेहिल अस्पतालमा उपचार भइरहेको छ।
कन्टेनरचालक पर्सा, धोबिनी– २ का २४ वर्षीय राजवली रामलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाइएको प्रहरीले जनाएको छ ।