विद्युत् प्राधिकरणको नाफा २५.८% घट्यो

तीन महिनामा ६ अर्ब ७६ करोडमा सीमित

बुधबार, १८ मंसिर, २०८२
डिजिटल संस्करण

शतप्रतिशत सरकारी स्वामित्व रहेको नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष ०८२/८३ को पहिलो त्रैमासमा ६ अर्ब ७६ करोड १६ लाख रुपैयाँ नाफा कमाएको छ । प्राधिकरणको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणले करअघिको नाफा सोबराबरको देखाएको हो । 

समीक्षा अवधिमा प्राधिकरणले ४६ अर्ब एक करोड ६७ लाख रुपैयाँ आम्दानी र ३९ अर्ब २५ करोड ५० लाख रुपैयाँ खर्च देखाएको छ । प्राधिकरणको यो नाफा गत आवको सोही अवधिको तुलनामा २५.८ प्रतिशतले कम हो । गत आवको यसै अवधिमा प्राधिकरणको नाफा नौ अर्ब ११ करोड ३२ लाख रुपैयाँ थियो । गत आवको अन्त्यसम्म आउँदा भने त्यो घटेर नौ अर्ब ६ करोड ७० लाख रुपैयाँमा सीमित भएको थियो । यसको अन्तिम लेखा परीक्षण भने बाँकी छ । 

धेरै नाफा कमाउने सार्वजनिक संस्थानमध्ये प्राधिकरण पनि एक हो । प्राधिकरणले धेरै नाफा कमाउने समय नै यही हो । बर्खाका कारण यो समयमा पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन्छ, जसको खरिद मूल्य पनि सस्तो हुन्छ । साथै, यो वेला भारतमा पनि विद्युत् निर्यात गरिन्छ । त्यसकारण यस समयमा प्राधिकरणले नाफा बढाउन सक्छ । तर, यसपालि घटेको छ । हिउँद लागेसँगै परियोजनाबाट विद्युत् उत्पादन घट्छ । जसको खरिद दर पनि महँगो हुन्छ । यसैगरी आन्तरिक माग धान्न भारतबाट अर्बौं रुपैयाँको विद्युत् आयात गर्नुपर्छ । त्यो हँुदा हिउँदमा प्राधिकरणले नाफा बढाउन सक्दैन । उल्टै आम्दानीभन्दा खर्च बढी हुन्छ । सामान्यत: जेठ–असारदेखि कात्तिकसम्मको नाफाबाट अन्य समयको खर्च धान्नुपर्ने स्थिति हुन्छ ।

बढाउने समयमै नाफा घटेपछि हिउँदको समयमा प्राधिकरणको नाफालाई सन्तुलित राख्न चुनौती हुने देखिन्छ । आगामी जेठबाट भने विद्युत् उत्पादन बढ्छ । पुन: विद्युत् निर्यात सुरु हुन्छ । त्योअनुसार चौथो त्रैमासमा प्राधिकरणले नाफा बढाउने अवसर पाउन सक्छ । प्राधिकरणले खरिद गर्ने विद्युत्को मूल्य पनि बर्खामा प्रतियुनिट ४.८० रुपैयाँ र हिउँदका लागि ८.४० रुपैयाँ तोकिएको छ । हिउँदमा भारतबाट खरिद गरिने विद्युत्को लागत पनि उच्च हुन्छ । तर, बिक्री गरिने दररेट स्थिर नै हुन्छ । त्यसले गर्दा हिउँदमा प्राधिकरणलाई नाफा बढाउन चुनौती नै हुन्छ । 

समीक्षा अवधिमा प्राधिकरणको आम्दानी बढ्दा पनि नाफा घटेको हो । गत आवको यसै अवधिमा प्राधिकरणको आम्दानी ४१ अर्ब ८० करोड ६८ लाख रुपैयाँ थियो । चालू आवको पहिलो त्रैमासमा प्राधिकरणको आम्दानी ४६ अर्ब एक करोड ६७ लाख रुपैयाँ छ । 

समीक्षा अवधिमा आम्दानीसँगै खर्च पनि बढेको छ । गत आवको पहिलो त्रैमासमा प्राधिकरणको खर्च ३२ अर्ब ६९ करोड ३६ लाख रुपैयाँ थियो । चालू आवको पहिलो त्रैमासमा प्राधिकरणको खर्च ३९ अर्ब २५ करोड ५० लाख रुपैयाँ छ ।

किन घट्यो नाफा ? 
समीक्षा अवधिमा विद्युत् खरिदमा प्राधिकरणको खर्च बढेको देखिन्छ । गत आवको पहिलो त्रैमासमा प्राधिकरणले निजी क्षेत्र तथा सहायक कम्पनीका परियोजनाबाट २१ अर्ब नौ करोड १७ लाख रुपैयाँको विद्युत् खरिद गरेको थियो । चालू आवको पहिलो त्रैमासमा भने विद्युत् खरिदमा २५ अर्ब तीन करोड रुपैयाँ खर्च भएको छ । यसरी विद्युत् खरिदमा खर्च बढ्दा नाफा घटेको प्राधिकरणका एक अधिकारीले बताए । 

यद्यपि, समीक्षा अवधिमा विद्युत् बिक्री आम्दानी पनि बढेको छ । गत आवमा प्राधिकरणले विद्युत् बिक्री गरेर २६ अर्ब ७७ करोड ६६ लाख कमाएको थियो । यसपालि भने २९ अर्ब १४ करोड ७८ लाख रुपैयाँ आम्दानी भएको छ । 

यस्तै, समीक्षा अवधिमा कर्मचारी खर्चका लागि प्रोभिजनिङ बढाइएको प्राधिकरणका लेखा विभागका एक अधिकारीले बताए । ‘अडिटरकै सिफारिसअनुसार यो वर्ष कर्मचारी खर्चका लागि प्रोभिजनिङ बढाएका छौँ । त्यसले गर्दा पनि नाफा बढ्न सकेन,’ स्रोतले भन्यो ।
 

सुझावित समाचार