अर्थमन्त्री रामेश्वर खनालले जनताले तिरेको करको दुरुपयोग गर्न नहुने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २९औँ वार्षिकोत्सव तथा अवार्ड वितरण समारोहमा बोल्दै अर्थमन्त्री खनालले करदाताले तिरेको पैसाको दुरुपयोग रोक्न नै सरकारी पदाधिकारीलाई स्वकीय राख्न रोकेको बताए ।
कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले आउने दिनहरूमा आर्थिक सबलीकरण, आन्तरिक उत्पादन वृद्धि, उत्पादकत्व विस्तार तथा रोजगारी सिर्जना सरकारका प्रमुख लक्ष्य हुने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमबाट फैलिएको गलत सूचनाले नेपालमा लगानी वातावरण र निजी क्षेत्रको मनोबलमा प्रतिकूल असर परेको बताए ।
नयाँ पत्रिकाकर्मी तिमिल्सिना पुरस्कृत
नयाँ पत्रिकाकर्मी पवन तिमिल्सिनाले यस वर्षको उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार प्राप्त गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले प्रदान गर्ने एक लाख रुपैयाँ राशिको सेजन अवार्ड तिमिल्सिना र अनलाइनखबर डटकमकर्मी भुवन पौडेलले प्राप्त गरेका हुन् ।
तिमल्सिनालाई ‘पूर्वविशिष्टहरूको सेवा बढाएर तयार गरिएको विधेयक’ र त्यसको फलोअप समाचारलाई अवार्ड प्रदान गरियो । त्यस्तै, कान्तिपुर दैनिकका विमल खतिवडा, बिजमाण्डू डटकमका सुनील कुँवर, अन्नपूर्ण डटकमका सुनीता कार्की र नेपालन्यूज डटकमका उद्धव थापाले पनि अवार्ड प्राप्त गरे । एक लाख रुपैयाँ राशिको स्व. सञ्जय न्यौपाने लेखनवृत्ति, २०८२ गोरखापत्र दैनिकका भेषराज बेल्वासेले प्राप्त गरे ।