एनपिएल : १९ खेलमा १७ खेलाडीले बनाए २१ अर्धशतक

मंगलबार, १६ मंसिर, २०८२
डिजिटल संस्करण
एनपिएल : १९ खेलमा १७ खेलाडीले बनाए २१ अर्धशतक

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा ३२ मध्ये १९ खेल सम्पन्न भएका छन् । गत वर्षको उपविजेता सुदूरपश्चिम रोयल्स लगातार पाँच जितका साथ प्लेअफ पुग्ने पहिलो फ्रेन्चाइज टोली बनेको छ । दोस्रोदेखि चौथो स्थानका लागि बाँकी सात टोलीबिच प्रतिस्पर्धा चलिरहेको छ । एनपिएलमा अहिलेसम्म १७ खेलाडीले २१ अर्धशतकीय इनिङ्स खेलेका छन् । कर्णाली याक्सका मार्क वाटले एक मात्र शतक बनाएका छन् । चितवन राइनोजका रवि बोपाराले सर्वाधिक तीन अर्धशतकीय इनिङ्स खेलेका छन् । पोखरा एभेन्जर्सका कुशल भुर्तेल र कर्णालीका प्रियांक पाञ्चालले समान दुई अर्धशतक बनाएका छन् । प्रतियोगितामा जनकपुर बोल्ट्स र विराटनगर किंग्सका तीन–तीन खेलाडीले अर्धशतक जोडेका छन् । लुम्बिनी लायन्सका कुनै पनि खेलाडीले एउटा पनि अर्धशतक बनाएका छैनन् ।

इशान पाण्डे (सुदूरपश्चिम)
इशानले दोस्रो संस्करण पनि सुदूरपश्चिम रोयल्सबाट खेलिरहेका छन् । उनी जोस ब्राउन, विनोद भण्डारी, हर्मित सिंहसँगै अर्धशतक बनाउने सुदूरपश्चिमका चौथो खेलाडी हुन् । उनले जनकपुर बोल्ट्ससँगको प्रतिस्पर्धामा महत्वपूर्ण ५६ रन जोड्दै सुदूरपश्चिमलाई सानदार जित दिलाए । यस खेलमा उनले ३५ बल सामना गरी आठ चौका र एक छक्का प्रहार गरेका थिए । जनकपुरसँगको प्रतिस्पर्धामा उनले बलिङ पनि गरे ।

विनोद भण्डारी (सुदूरपश्चिम)
सुदूरपश्चिम प्लेअफमा पुग्ने पहिलो टोली बन्दा ओपनर विनोदले पनि ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेका छन् । विनोदले चालू लिगमा एक अर्धशतकीय इनिङ्स खेले । उनले लुम्बिनी लायन्सविरुद्धको प्रतिस्पर्धामा १४४ रनको लक्ष्य पछ्याएको इनिङ्समा सर्वाधिक ६९ रन जोडेका थिए । विनोदले ४९ बलमा पाँच चौका र चार छक्का प्रहार गरेका थिए । यस खेलमा उनी म्यान अफ दी म्याच हुँदा लुम्बिनीका तीन ब्याट्सम्यानका क्याच पनि लिएका थिए ।

जोस ब्राउन (सुदूरपश्चिम)
सुदूरपश्चिमका लागि स्वदेशी तथा विदेशी खेलाडी उत्तिकै चलिरहेका छन् । ब्याटिङ र बलिङमा सुदूरपश्चिमको प्रदर्शन अब्बल छ । अझ ब्याटिङमा विदेशी खेलाडीहरूको प्रभाव धेरै छ । अस्ट्रेलियाका ब्याट्सम्यान ब्राउनले पोखरा एभेन्जर्ससँगको प्रतिस्पर्धामा सर्वाधिक ६८ रनको अर्धशतकीय योगदान दिँदै टोलीको जितमा महत्वपूर्ण योगदान दिए । पोखराविरुद्ध पहिलो ब्याटिङ गरेको सुदूरपश्चिमका लागि ब्राउनले ३५ बलमा ६ चौका र पाँच छक्का प्रहार गरेका थिए ।

हर्मित सिंह (सुदूरपश्चिम)
सुदूरपश्चिममा आबद्ध विदेशीमध्ये अमेरिकाका हर्मित अहिले सबैभन्दा चर्चामा छन् । उनले ब्याटिङ र स्पिन बलिङमा दर्शकलाई मोहित पारेका छन् । उनको स्पिन बलमा विपक्षी धुरन्धर ब्याट्सम्यान सहजै विट हुने गर्छन् । ब्याटिङ क्रममा उनको क्लिन हिट देख्न सकिन्छ । हर्मितले आफ्नो पहिलो खेलमै काठमाडौं गोर्खाजविरुद्ध अर्धशतकीय इनिङ्स खेलेका थिए । काठमाडौंविरुद्ध कमजोर अवस्थामा पुगेको सुदूरपश्चिमका लागि उनले केवल २० बलमा ६ छक्का र दुई चौका प्रहार गरी सर्वाधिक ५३ रनको योगदान दिए ।

कुशल भुर्तेल (पोखरा)
पोखराले प्लेअफका लागि संघर्ष गरिरहँदा मार्की तथा कप्तान कुशलले पहिलो दुई खेलमा दमदार ब्याटिङ गरेका थिए । लगातार दुई खेलमा अर्धशतक बनाउँदै उनले पोखराको ब्याटिङ बलियो रहेको प्रस्तुत गरेका थिए । तर, त्यसपछिका लगातार दुई खेलमा उनी गोल्डेन डकआउट हुनपुगे । पोखराका २८ वर्षीय ओपनर कुशलले विराटनगरविरुद्ध ५९ र सुदूरपश्चिमविरुद्ध ५३ रन बनाएका थिए । उनले खेलेका अर्धशतकीय इनिङ्समा पोखरा पराजित रहयो । कुशलले बलिङमा दुई विकेट लिएका छन् ।

सुमित बर्मा (पोखरा)
युगान्डाका सुमितको यो पहिलो एनपिएल हो । ३५ वर्षीय ब्याटिङ अलराउन्डर सुमितले पोखराबाट तीन खेल खेल्दा साबिक विजेता जनकपुरविरुद्ध अविजित ५० रन बनाए । यस खेलमा उनले दुई विकेट पनि लिए । जनकपुरसँगको महत्वपूर्ण खेलमा उनले २९ बलमा चार छक्का र दुई चौका प्रहार गरी ५० रन जोडेका थिए । उनी खेलकै म्यान अफ दी म्याच भए । पोखराले जनकपुरमाथि २५ रनको जित निकालेको थियो ।

जिमी निसम (पोखरा)
पहिलोपटक जनकपुरलाई उपाधि जिताएका ३५ वर्षीय न्युजिल्यान्डका निसम दोस्रो संस्करणमा अप्रत्याशित रूपमा पोखरासँग जोडिए । अलराउन्डर निसिमले चार खेल खेलेर फर्किएका छन् । यसबिचमा उनले एक अर्धशतकसहित ९९ रन र पाँच विकेट बटुले । निसमले लुम्बिनीविरुद्ध अविजित ५१ रन तथा सुदूरपश्चिमविरुद्ध ४७ रन बनाएका हुन् । उनले लुम्बिनीसँगको खेलमा ३२ बलमा समान तीन छक्का र चौका प्रहार गरेका थिए ।

एडम रोसिंटन (पोखरा)
इंग्ल्यान्डका दायाँहाते ब्याट्सम्यान तथा विकेटकिपर एडमले पोखरा एभेन्जर्सबाट एनपिएल खेलिरहेका छन् । ३२ वर्षीय एडमले एक अर्धशतकसहित १४५ रनको योगदान गरेका छन् । उनले लुम्बिनीविरुद्ध ८१ रन बनाएका थिए । यस खेलमा उनले ६३ बलमा सात चौका र पाँच छक्का प्रहार गरे । एडमले अर्धशतकीय इनिङ्स खेले पनि पोखरामाथि लुम्बिनीले तीन विकेटको जित निकालेको थियो ।

सञ्जय कृष्णमुर्थी (जनकपुर)
चार खेलसम्म एनपिएलमा जनकपुरको प्रदर्शन खराब प्रदर्शन भए पनि व्यक्तिगत रूपमा बलर र ब्याट्सम्यानले भने आफ्नो गतिलो खेल देखाएका छन् । सुदूरपश्चिम रोयल्ससँगको खेलमा विदेशी खेलाडी सञ्जयले अर्धशतकीय इनिङ्स खेले । अमेरिकाका राष्ट्रिय खेलाडी सञ्जयले केवल ३८ बलमा चार चौका र दुई छक्का प्रहार गरी ५० रनको योगदान दिएका थिए । यस खेलमा सुदूरपश्चिम ६ विकेटले विजयी भएको थियो ।

वायन पार्नेल (जनकपुर)
दक्षिण अफ्रिकाका पार्नेलले जनकपुरका लागि एकपटक अर्धशतकीय इनिङ्स खेलेका छन् । उनले पोखराको कमजोर बलिङको फाइदा लिँदै ५० रनको योगदान दिएका थिए । यस खेलमा उनले ३८ बलमा चार छक्का र दुई चौका प्रहार गरेका थिए । १५६ रनको लक्ष्य पछ्याएको जनकपुरका लागि ३६ वर्षीय बायाँहाते ब्याट्सम्यान पार्नेल खेलमा रिटायर्ड हट भएका थिए । यस खेलमा जनकपुर पोखरासँग २५ रनले पराजित भयो । अहिले जनकपुरको कप्तानी उनले नै गरेका छन् ।

आसिफ सेख (जनकपुर)
चालू सिजनमा साबिक विजेता जनकपुरले बलिङ र ब्याटिङमा गतिलो प्रदर्शन गर्न सकेन । जनकपुरका ओपनर आसिफले एक खेलमा अर्धशतकीय इनिङ्स खेलेका छन् । उनले काठमाडौं गोर्खाजविरुद्ध महत्वपूर्ण खेलमा ५४ रनको इनिङ्स खेलेका थिए । उनले काठमाडौंविरुद्ध ४१ बलमा ६ चौका र एक छक्का प्रहार गरेका थिए । उनी इनिङ्सको १३.३ ओभरमा विकेटकिपर सिम्पसनबाट स्टम्पिङ भए । काठमाडौंविरुद्ध मध्य योगफल खडा गरेको जनकपुरका लागि आसिफले १३१.७० को स्ट्राइकमा ब्याटिङ गरेका थिए ।

मार्टिन गुप्टिल (विराटनगर)
न्युजिल्यान्डका पूर्वखेलाडी गुप्टिल लगातार दोस्रोपटक एनपिएल खेलिरहेका छन् । विराटनगरका ओपनर गुप्टिलले पोखराविरुद्ध अर्धशतकीय इनिङ्स खेलेका थिए । उनले पोखरासँगको खेलमा ६१ रनको योगदान दिए । यस खेलमा उनले ३५ बलमा पाँच छक्का र तीन चौका प्रहार गरे । खेलमा उनको स्ट्राइक १७४ रहेको थियो । उनले तीन खेलमा ९९ रन बनाएका छन् । त्यसपछिका खेलमा उनको ब्याटिङ चल्न सकेनन् ।

बसिर अहमद (विराटनगर)
एनपिएलअन्तर्गत १६औँ खेल विराटनगर किंग्स र कर्णाली याक्सबिच भएको थियो ।  खेलमा कर्णाली लगभग जितको सँघारमा थियो । १६१ रनको लक्ष्य पछ्याएको विराटनगर एक समय ११.४ ओभरमा ६५–५ को दयनीय अवस्थामा थियो । बसिरले करिअरकै उत्कृष्ट इनिङ्स खेल्दै ४३ बलमा समान तीन छक्का र चौका प्रहार गरी ६२ रनको योगदान दिए ।

लोकेश बम (विराटनगर)
नेपाली खेलाडीमध्ये चलेका ब्याट्सम्यानमा लोकेश पनि हुन् । विराटनगर किंग्समा आबद्ध उनले पोखरा एभेन्जर्ससँगको प्रतिस्पर्धामा ७२ रनको आक्रामक इनिङ्स खेलेका थिए । उनले केवल ४८ बलमा ७२ रनको इनिङ्स खेल्दा विराटनगरले २२० रनको योगफल बनायो । लोकेशले एक चौका र सर्वाधिक सात छक्का प्रहार गरेका थिए ।

प्रियांक पाञ्चाल (कर्णाली)
कर्णालीमा आबद्ध भएका प्रियांकले आफ्नो डेब्यु एनपिएलमै दुई अर्धशतक लगाएका छन् । उनले चितवन राइनोजविरुद्ध ९० रन बटुलेका थिए । उनले चितवनविरुद्ध ४८ बलमा सात चौका र ६ छक्का प्रहार गरेका थिए । उनले कर्णालीको चौथो खेलमा विराटनगरविरुद्ध ६३ रनको योगदान दिए ।

रवि बोपारा (चितवन)
बोपारा लगातार दोस्रोपटक एनपिएल खेलिरहेका छन् । उनी यसपटक पनि टियू मैदानमा छाइरहेका छन् । पोखराले खेलेको चारमध्ये तीन खेलमा बोपाराले अर्धशतकीय इनिङ्स खेले । दोस्रो एनपिएलमा सर्वाधिक रन तथा धेरै अर्धशतक बनाउने खेलाडीमा उनी शीर्ष स्थानमा छन् । उनले विराटनगरविरुद्ध ६५, लुम्बिनीविरुद्ध ६६ र कर्णालीविरुद्ध पहिलो जितमै ५२ रनको योगदान गरेका थिए ।

जोन सिम्पसन (काठमाडौं)
इंग्ल्यान्डका विकेटकिपर जोनले काठमाडौंको दुई खेलमा ब्याटिङमा उत्कृष्ट योगदान थिए । चितवन राइनोजविरुद्ध प्रतिस्पर्धामा उनले ६० रनको आक्रामक इनिङ्स खेले । उनले केवल २९ बलमा पाँच छक्का र तीन चौका प्रहार गरी सर्वाधिक ६० रन बनाएका हुन् । जोनकै उत्कृष्ट ब्याटिङ र फिल्डिङमा काठमाडौंले चितवनलाई ५३ रनले हराएको थियो । 

See More On

सुझावित समाचार