एमाले महाधिवेशन प्रतिनिधि छनोटमा नातावाद र कृपावाद हाबी, कार्यकर्ताहरूबाट तीव्र आलोचना

सोमबार, १६ मंसिर, २०८२
डिजिटल संस्करण

नेकपा एमालेको मंसिर २७, २८ र २९ मा हुन लागेको ११औँ केन्द्रीय महाधिवेशनका लागि जिल्लामा भइरहेको प्रतिनिधि छनोटमा नातावाद र कृपावाद हाबी भएको भन्दै तीव्र आलोचना भइरहेको पाइएको छ।

नेकपा एमाले पर्साले महाधिवेशनका लागि गत मंसिर ११ मा प्रतिनिधि छनोटका लागि मनोनयन दर्ता गरेर अहिले नातावाद र कृपावादमार्फत प्रतिनिधि चयन गरेको भन्दै आलोचना भइरहेकाे हो।

पार्टीका केन्द्रीय सदस्य राजकुमार गुप्ताले आफ्ना छोरा रवि गुप्तालाई र जिल्ला इन्चार्ज प्रभु हजाराले आफ्ना छोरा अनिल कुमार हजारालाई महाधिवेशन प्रतिनिधि छनोट गरेको भन्दै कार्यकर्ताहरू सामाजिक सञ्जालमा तीव्र रूपमा आलोचना गरिरहेका छन्।

नेकपा एमाले पर्साका सचिव महेश दासले अहिलेको विषम परिस्थिति र प्रतिनिधि सभा निर्वाचन घोषणा भइसकेको अवस्थालाई उल्लेख गर्दै, एमालेको महाधिवेशनका लागि सदस्यहरूलाई विभाजन हुनेगरी निर्वाचन गरेर पर्सा जिल्लामा प्रतिनिधि छानिनु नहुने आफ्नो स्पष्ट भनाइ भएको बताए।

उनले प्रतिनिधिको चयन सहमतिमै गर्नुपर्ने राय रहेको भन्दै, सहमति जे भयो त्यसलाई स्वीकार गरेको बताए। यस्तै पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नु आजको आवश्यकता रहेको र आफू नीति तथा नेतृत्वमा स्पष्ट रहेको उल्लेख गरे।

नेकपा एमाले पर्सा प्रचार विभाग प्रमुख सुन्दर कुर्मीले पनि आन्दोलनबाट उत्पन्न विषम परिस्थितिमा प्रतिनिधिसभा निर्वाचन घोषणा भइसकेको अवस्थामा ११औं महाधिवेशनका लागि प्रतिनिधि चयन सहमतिमै गर्नुपर्ने र सो राय लिखित रूपमा दिएको बताए।

यस्तै, सहमतिको नाममा परिवारवाद र नातावाद हाबी भएको कुराले आम कार्यकर्तामा परेको प्रभावप्रति जिम्मेवार कमरेडहरूलाई सचेत गराउँदै, पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न नेता–कार्यकर्तालाई संयमता अपनाउन अनुरोध गरे।

सचिवालय सदस्य बाबुराम खनालले पनि ११औं केन्द्रीय महाधिवेशनका लागि भइरहेको जिल्लाको प्रतिनिधि छनोटमा नातावाद र कृपावादले पार्टी उभो होइन, उधो लाग्ने चेतावनी सामाजिक सञ्जालमा लेखेका छन्। उनले अब पनि पार्टी नेतृत्वले बेलैमा नसुने ‘जय सिया राम’ हुने निश्चित रहेको आरोप लगाएका छन्।

युवा नेता विक्की सिंहले पनि नेकपा एमाले पर्सामा नेताहरूबीच अंश र वंशजस्तै भागबन्डा भएको, कार्यकर्ताहरू भने हेरेको हेरेयै रहेको भन्दै व्यंग्य गरेका छन्।

को–को छन् प्रतिनिधि ?

पर्सा क्षेत्र नं. १ बाट ९ जना, क्षेत्र नं. २ बाट ७ जना, क्षेत्र नं. ३ बाट ८ जना र क्षेत्र नं. ४ बाट गरी ३१ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत रूपमा चयन गरिएको प्रमुख निर्वाचन अधिकृत विनोद गिरीले जानकारी दिए। प्रतिनिधि टुंगिएका चारवटै क्षेत्रमा संस्थापन पक्ष हाबी देखिएको छ।

क्षेत्र नं. १ :
विजयकुमार सरावगी, विश्वम्भर शर्मा, राजेन्द्र यादव, बसरुद्दिन अन्सारी, नवराज शर्मा, सबिता गिरी, मुना दाहाल, रञ्जु फुयाँल र मोहम्मद निजाम।

क्षेत्र नं. २ :
लियाकत अली, उस्मान अन्सारी, मनोज कुशवाहा, जयनारायण सिंह, सीता लामा, रमिला खातुन र सन्तोष पासवान।

क्षेत्र नं. ३ :
प्रह्लाद गिरी, प्रमोद जैसवाल, प्रधुमन चौहान, शिव पटेल, रुबी ठाकुर, उर्मिला देवी, सबिना खातुन र रवि गुप्ता।

क्षेत्र नं. ४ :
जालिम मियाँ मन्सुरी, मनोज गुप्ता, लालबहादुर श्रेष्ठ, वीरेन्द्र यादव, सुवास साह कानु, गोकुली रेग्मी र अंशु आनन्द।

एमालेको आसन्न ११औँ केन्द्रीय महाधिवेशनका लागि पर्सा जिल्लाका ४ वटै निर्वाचन क्षेत्रबाट गरी कूल ३५ जना महाधिवेशन प्रतिनिधि चयनमा ९३ जनाको उम्मेदवारी परेको भए पनि, नेताहरूले सहमतिमै प्रतिनिधि छनोट गरेको निर्वाचन समितिले जनाएको छ। दलित कोटाबाट मेघराज हजरा ,सुरेश हजारा पासवान , अनिल कुमार हाजरा र परमशिला देवी सर्वसम्मत चुनिएका छन ।

सुझावित समाचार