संखुवासभाको खाँदबारी नगरपालिका–४, पांमास्थित भगीवन्त रंगशालामा नवौँ पांमा कप फुटबल प्रतियोगिता सुरु भएको छ। सोमबार समारोहबिच नगर प्रमुख महेश थपलियाले प्रतियोगिताको उद्घाटन गरेका हुन्।
व्यावसायिक खेलकुदको विकासका लागि आगामी दिनमा अझै ठुलो प्रतियोगिता गर्न नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाउँदै थपलियाले किराँतहरूको पर्व उधौली धान्यपूर्णिमाको शुभकामना दिए।
प्रतियोगिता उद्घाटनको पहिलो खेलमा आयोजक लोहोरुङ क्लबमाथि मकालु फ्रेन्ड्स क्लबले २–१ को जित निकालेको छ। खेलको सुरुमै लोहोरुङ क्लबका सौर्य राउतले टोलीलाई अग्रता दिलाएका थिए। मकालु फ्रेन्ड्सका लागि पहिलो हाफमा अनिश परियारले तथा दोस्रो हाफमा युवराज ढकालले एक–एक गोल गर्दै टोलीलाई जित दिलाएका हुन्।
आजै भएको दोस्रो खेलमा सभापोखरी क्लबले तीनपोखरी क्लबलाई २–० ले हरायो।
आठवटा क्लबको सहभागिता रहेको प्रतियोगिताका विजेताले २ लाख ५० हजार, उपविजेताले १ लाख तथा दुई टोलीलाई सान्त्वना पुरस्कार २५/२५ हजार रुपैयाँ प्रदान गरिने प्रतियोगिताका संयोजक ध्यानसिंह राईले जानकारी दिए।