‘महिला हिंसाविरुद्धको १६ दिने अभियान’का क्रममा सार्वजनिक तथ्यांकले महिलाविरुद्ध सबैभन्दा धेरै हिंसा परिवारभित्रै बाट हुने देखियो । यस्तो किन हुन्छ होला ?
हाम्रो समाज अझै पनि पुरुषप्रधान समाज हो । जति नै पढेलेखेको भए पनि यस्तो समाजलाई महिला स्वतन्त्रता स्विकार्न समय लाग्छ । यही परिवर्तन स्विकार्न नसक्ने वर्ग हिंसामा उत्रिएको छ ।
आधुनिकता बढ्दै जाँदा महिला स्वतन्त्रताप्रति झन् सहिष्णु हुनुपर्ने होइन र ?
परिवर्तन पनि भएको छ । आफूवरपर हेर्नुभयो भने महिलाहरू घरबाट निस्केर काम गर्ने प्रवृत्ति बढेको छ । समाजका सबै क्षेत्रमा महिलाको सहभागिता बढिरहेको छ ।
पुरुषहरू श्रीमतीसँग सम्बन्धविच्छेदको अवस्था आउँदा हत्यामा उत्रिएको समेत देखिएको छ नि ?
नेपालमा मात्र होइन, यो विदेशमा पनि देखिन्छ । धेरै मानिस पुरानो कुरा बिर्सिदै अघि बढ्छन्, तर केही मानिस भने पुरानो कुरालाई दिमागबाट हटाउन सक्दैनन् । त्यस्ता व्यक्तिले सधैँ एउटै व्यवहारको अपेक्षा गर्छन् । अब त्यस्ताबाट महिलालाई सुरक्षित गर्न परिवार, छरछिमेकी(समाज) र राज्य सक्रिय हुनुपर्छ । राज्यले महिलाहरूलाई आफ्ना समस्या सहज रूपमा प्रहरीमा गएर उजुरी गर्ने वातावरण बनाउनुपर्छ । न्यायिक क्षेत्रमा पनि पीडित महिलाप्रति संवेदनशील हुनुपर्छ । यसतर्फ प्रहरी महिला सेल गठनजस्ता केही काम भएका छन् । थप काम पनि आवश्यक छ ।